कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि असार ४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले १ बराबर १ को अनुपातमा रु. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्रीका लागि बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले ०७७ माघ १६ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले १०० प्रतिशत मात्र हकप्रद निष्कासन गर्न कम्पनीलाई स्वीकृति दिएको हो ।
यसअघि कम्पनीले ०७७ साल माघ १३ देखि फागुन ३ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनी रु. ५२ लाख ५४ हजार खुद नोक्सानीमा रहेको छ ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नोक्सानी रकम बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनी रु. १० लाख ९९ हजार खुद नोक्सानीमा रहेको थियो । कम्पनीको जगेडा कोष रकम रु. १२ करोड ६० लाख रहेको छ ।
यस अवधिसम्म कम्पनीको रिटर्न अर्निङ भने रु. २१ करोड २७ लाख ५८ हजार ऋणात्मक रहेको छ । बिहीवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ६ ले बढेर अन्तिम मूल्य रु. ६५४ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा ड्रागनफ्लाई डोजी बनेको छ । हेर्दा ह्याम्मरजस्तो देखिने यो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्तिबाट सम्भावित रिभर्सलको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ६५ बिन्दुमा छ ।
यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ९ दशमलव ३४ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।
बिहीवारको शेयर मूल्य रु. ६५४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ६३० मा टेवा पाउने र महँगिए रु. ७१० मा प्रतिरोध पाउने देखिन्छ ।