काठमाडौं । घरलाई आकर्षक र सुन्दर बनाउन नापनक्साका साथै डिजाइन बनाउँदा नै विशेष ख्याल गर्नुपर्छ । घरको भित्री र बाहिरी आवरण सुन्दर बनाउन वालपेपरदेखि विभिन्न खाले रंगको प्रयोग गरिन्छ ।
सहरी क्षेत्रमा बन्ने र बनेका घरलाई सजाउन विभिन्न पद्धतिको प्रयोग गर्ने गरिन्छ । घरको कौसी, बरन्डालगायतका स्थानमा मौसमअनुसारका फूल तथा लहरे फूल राख्ने गरिएको पाइन्छ । इन्डोर प्लान्ट घरभित्रका बैठक रुमलगायत स्थानमा राख्ने प्रचलन बढ्दो छ ।
घर बाहिरका कौसी तथा बरन्डा, भर्याङमुनि, घरको कौसी तथा छतमुनि ड्रिलिङ गरेर अहिले ह्यांगिङ प्लान्ट लगाउने प्रचलन बढेको देखिन्छ । ह्यांगिङ प्लान्ट खासगरी लहरे प्लान्ट हुन्, जसलाई डोरी वा फलामे तारका सहायताले बास्केट अर्थात् गमलामा माटो राखेर प्लान्ट रोपी झुन्ड्याउने गरिन्छ । मनी प्लान्ट, डंकी टेलजस्ता प्लान्ट ह्यांगिङ प्लान्टको रूपमा लगाउन सकिन्छ ।
ह्यांगिङ प्लान्ट लहरा खाले प्लान्ट हुन् । प्लान्ट पाराडाइज कम्पनीकी प्रोप्राइटर सृष्टि न्यौपाने घर बाहिर राखिने र पानी पर्दा नबिग्रने प्लान्ट यसरी लगाउन सकिने बताउँछिन् । लामो लहरा जाने प्लान्ट खासगरी फुल्नेभन्दा नफुल्ने खाले प्लान्ट यसमा पर्ने गर्छन् । सयपत्री फूल पनि लगाउन सकिन्छ । लहरा जाने प्लान्टलाई ह्यांगिङ प्लान्टको रूपमा प्रयोग गर्न सकिन्छ ।
यस्ता खाले प्लान्ट लगाउँदा उक्त स्थानमा बलियोसँग ड्रिल गर्नुपर्छ । यसका साथथै सुरक्षालाई पनि ध्यान दिनुपर्ने उनको सुझाव छ । यसका लागि बलियो खाले फलामको नेटल चेन तथा प्लास्टिकको डोरी पाइने गर्छ भने कतिपयले जुटको डोरी पनि प्रयोग गरेको देखिन्छ ।
तर, जुटको डोरी पानीबाट भिजेर गल्ने हुँदा छिट्टै चुँडिन सक्ने भएकाले यसले केही क्षति पुर्याउन सक्ने हुँदा विकल्प अरू रोज्न उनको सुझाव छ ।
ड्रिल गरी झुन्ड्याएर राखिने भएकाले सुरक्षालाई ध्यान दिनुपर्ने उनको सुझाव छ । यसरी झुन्ड्याउने प्लान्टको गमला तथा बास्केटको मुनिपट्टि प्वाल पार्नुपर्छ । यसले गर्दा त्यसमुनि हुने अरू प्लान्ट तथा घरका मानिसलाई डिस्टर्ब गर्न नहुने उनी बताउँछिन् । घरभित्रबाट बाहिरपट्टि निस्कने रेलिङ, कौसी र जहाँ–जहाँ ड्रिल गरेर झुन्ड्याउन मिल्छ, त्यहाँ जता पनि यस्ता प्लान्ट राख्न सकिने उनको भनाइ छ । कौसीमा जाने फलामको भर्याङमा पनि यस्ता प्लान्ट राख्न सकिन्छ ।
घरभित्रभन्दा घरबाहिरकै लागि यस्ता प्लान्ट राख्ने गरिन्छ । ड्रली गर्नेदेखि बास्केट, गमला प्लान्ट खरिद गर्दासम्म प्रतिपिस १ हजार २०० देखि १ हजार ५०० सम्म खर्च हुने उनी बताउँछिन् । घरमै प्लान्ट भए योभन्दा पनि कम खर्च हुन्छ । ग्राहकको रुचिअनुसार यसरी ह्यांगिङ प्लान्ट राख्न सकिने भए पनि बच्चाबाट, घरमा पालिने कुकुर, बिरालोबाट प्लान्टलाई जोगाउन भने सक्नुपर्छ ।
ह्यांगिङ प्लान्टको रूपमा लगाउन मिल्नेमा मनी प्लान्ट, वान्डरिङ–ज्यू, इंग्लिस आइभीवाई, वक्स आइभीवाई, डंकी टेल, बनाना अक्सिस्ट्रिमजस्ता प्लान्ट लगाउन सकिन्छ ।