काठमाडौं । आफ्नै बनिबुतोले घर बनाउन सजिलो पक्कै हुँदैन । घर बनाउँदा रकम बन्दोबस्तीदेखि निर्माण सामग्री र कामदार जुटाउन एक्लो प्रयासले मात्र सम्भव हुँदैन । यसमा सबै पक्ष जोडिएका हुन्छन् । यसका लागि आर्थिक स्रोत मात्र होइन, अनुभव, मिहिनेत, लगन, समय तथा धैर्यको पनि उत्तिकै जरुरी पर्छ ।
हामी घरिघरि घर बनाउन सक्दैनौं । त्यसो गर्नु सम्भव पनि छैन । घर बनाउँदा आफ्नो क्षमताले भ्याएसम्म सबैतिर ध्यान पुर्याउनैपर्छ । घर बनाउँदा विशेष ध्यान दिनुपर्ने विभिन्न पक्षमध्ये घर निर्माण गर्ने व्यक्ति (ठेकेदार) वा निर्माण कम्पनीको छनोट र उनीहरूसँग गरिनुपर्ने लिखित सम्झौता पनि एउटा मुख्य पक्ष हो ।
कुनै घर÷भवन बनाउन लगाउने र बनाउने दुवै पक्ष वा तीमध्ये कुनै एक पक्ष सरकारी निकाय, संगठित संस्था वा कम्पनी हो भने विधिवत टेन्डर एवं करार गरेर मात्र निर्माण प्रक्रिया अगाडि बढाउने कानुनी व्यवस्था नै छ । यहाँ उल्लेख गर्न खोजिएकोे विषयवस्तु भने हामीले आफ्नो निजी प्रयोजनका लागि घर बनाउँदासमेत त्यसका लागि चुनेको ठेकेदार वा घर निर्माणकर्तासँग लिखित सम्झौता किन गर्नुपर्छ र त्यसो गर्दा के–के फाइदा हुन्छ भन्ने हो ।
घर बनाउने जमिन, आर्थिक स्रोत, घरको नापीनक्सा आदि तयार भएपछि आप्mना सर्तअनुसार काम गर्न सहमत ठेकेदारलाई काम जिम्मा दिन्छौं । घरको नापीनक्सा कानुनी रूपमै बनाउनुपर्ने भए पनि ठेकेदारसँग प्रायः मौखिक समझदारी गर्ने चलन छ । तर, घर बनाउँदा अर्को पक्षलाई जिम्मा दिँदा विभिन्न जोखिम भने हुन सक्छ । मूलतः आफूले भनेको समय काम सम्पन्न हुन नहुन सक्छ । एउटै ठेकेदारले एकभन्दा बढी ठाउँमा काम जिम्मा लिने र उही कामदार अन्यत्र पनि प्रयोग गर्ने चलन छ ।
कामको सिलसिलामा मौसम, बन्द–हडताल, स्वास्थ्य वा कुनै अन्य कारण देखाइ ढिलाइ हुन सक्छ । प्रायः काम सुरु हुनुपूर्व नै पेस्की रकम लगिसकेको अवस्था हुने र एक जनालाई जिम्मा दिएको काम कारणवश अर्कोलाई दिनुपर्ने अवस्था आउन पनि सक्छ । समयावधिको अलावा विभिन्न निर्माण सामग्रीको जिम्मा लिने सहमति भएको छ भने आफूले चाहेअनुसारको गुणस्तर र परिणाममा सामग्री उपयोग नगरिने सम्भावना पनि रहन्छ ।
ठेकेदारले निर्माण कार्यमा संलग्न कामदारकै अनुभव, सीप र क्षमतामा फरक पर्न सक्ने गरी काम लगाउने जोखिम पनि उत्तिकै हुन सक्छ । यस्ता जोखिम न्यूनीकरण गर्न सकिने सबैभन्दा उत्तम र सहज उपाय भनेकै घर बनाउन तय भएपछि निर्माणका लागि चुनिएका ठेकेदारसँग लिखित सम्झौता गर्नु हो । लिखित सम्झौता गर्दा दुवैतर्फको सहमतिमा कानुन व्यवसायीलाई त्यस्तो सम्झौता लेख्न लगाउनुपर्छ । त्यसरी सम्झौता गर्दा घर निर्माणकर्ताले आफनो आवश्यक्ता र सर्त के–के हुन भन्ने कुरा बुँदागत रूपमा सावधानीपूर्वक तय गर्नुपर्दछ । यसो गर्दा नक्सा बनाउने इन्जिनियर, आफ्ना परिवार सदस्य, अनुभवी छिमेकी वा साथीहरू र अनलाइन स्रोतको पनि सहयोग लिनु बुद्धिमानी हुन्छ । आफ्ना आवश्यक्ता र सर्तको टुंगो लागेपछि त्यसलाई ठेकेदारको सहमति भए÷नभएको यकिन गराउनुपर्छ । त्यसपछि सोहीअनुसार सम्झौताको कागजात लेखाउनुपर्दछ ।
यसरी सम्झौता गर्दा दुवै पक्षको सहमतिमा थुप्रै विषय समेट्न सकिने भए पनि मूलतः लागत र आर्थिक कारोबारको प्रक्रिया, निर्माण अवधि, निर्माणमा उपयोग हुने सामग्री खरिद, ब्रान्ड, साइज, गुणस्तर, परिणाम आदि नै मुख्य विषय हुन् । आफूलाई स्वीकार्य सर्तको अधीनमा रही घर निर्माण गराउँदा दुवै पक्षले आ–आफ्नो जिम्मेवारीलाई गम्भीर ढंगले मनन गर्ने गर्छन् । यसले दुवै पक्षलाई ढुक्क र निश्चिन्त बनाउँछ ।
घर निर्माण गराउने र गर्ने दुवैबीच लिखित सम्झौता भएको छ भने निर्माण क्रममा कुनै किसिमको बाधा अड्चन आए त्यसलाई समाधान गर्न धेरै हदसम्म सहयोग पुग्न गई अदृश्य चिन्ताबाट धेरै हदसम्म मुक्त बनाउँछ । त्यसैले घर निर्माण गर्दा व्यक्तिगत प्रयोजनकै घर भए पनि अर्को पक्षलाई ठेकेदारको रूपमा प्रयोग गरी निर्माण गर्ने हो भने लिखित सम्झौता गर्नु बुद्धिमानी ठहर्छ ।