काठमाडौं । घरको सबैभन्दा महत्वपूर्ण स्थानमध्ये भान्साकोठा पनि हो । घरका सदस्यको बस्ने, सुत्ने, अध्ययन गर्ने प्रयोजनका लागि गच्छेअनुसार अलग–अलग व्यवस्था गरिएको हुन्छ । यद्यपि नयाँ घर निर्माण गर्दा भान्साकोठाको क्षेत्रफल, डिजाइन र आवश्यक अन्य कुराबारे इन्जिनियर वा ठेकेदारसँग विमर्श गर्ने चलन कम छ ।
भान्साकोठाका लागि ठाउँ छुट्याइने चलन छ । कोठा तयार भएपछि ठेकेदारले चल्तीअनुसारको चुल्हो राख्ने स्ल्याब र केही थान घर्रासहितको दराज राखेर भान्साकोठा तयार भएको जनाउ दिन्छन् । । पछिल्लो समय घर बनाउनेले निर्माणका विभिन्न पक्षमा ध्यान दिने क्रम बढ्दै गए पनि भान्साकोठामा हुनैपर्ने सरसामान र खाद्य सामग्री भण्डारण गर्ने ठाउँ अर्थात् प्यान्ट्रीबारे कमै चर्चा गरिएको पाइन्छ ।
नेपाली परम्परामा भण्डार र भकारी चल्तीका शब्द हुन् र यसमा नेपालीको सांस्कृतिक विशिष्टता पनि लुकेको हुन्छ । भण्डार र भकारीले पूर्ण घरमै लक्ष्मीले बास गर्छिन् भन्ने विश्वास पनि छ । परम्परागत घरमा भण्डार र भकारी हुने भए पनि सहरका आधुनिक घरमा ती कुरा दुर्लभ नै देखिन्छन् । तर, सहरका घरमा पनि भान्सामा हरपल प्रयोग हुने सरसामान र खाद्य भण्डार हुनु जरुरी छ ।
त्यसका लागि हाल चल्तीमा रहेको मार्बलको स्ल्याब, त्यसमुनि बनाइने किचेन ¥याक र थप दराजसहितलाई भण्डार खण्ड (प्यान्ट्री) को रूपमा डिजाइन गरिए बुद्धिमानी हुन्छ ।
घरको आन्तरिक सजावट विज्ञ (इन्टेरियर डिजाइनर) को भनाइमा आधुनिक घरको भान्साकोठामा तीन मुख्य बिन्दु चुल्हो, भाँडा माझ्ने सिंक र फ्रिज राखिने ठाउँ हुन् । यी तीन स्थान एकअर्काबाट धेरै टाढा हुनुहुँदैन ताकि भान्सामा काम गर्ने व्यक्तिको यी सबैमा सहज पहुँच होस् । यी तीन स्थानका साथै भान्सामा काम गर्ने व्यक्तिको सजिलै पहुँच हुने गरी प्यान्ट्री अर्थात् भण्डार कक्ष पनि हुनुपर्दछ । जहाँ भान्सामा काम गर्दा चाहिएको समय सबै सामान सहजै प्राप्त होउन् ।
भान्सामा प्रयोग भइरहने भाँडावर्तनका साथै खाद्य सामग्री राख्न सहज किसिमको प्यान्ट्री बनाइनु बुद्धिमानी हुन्छ । नेपाली भान्सामा सबैभन्दा धेरै पाक्ने चामल, दाल, तरकारी र अन्य आवश्यक वस्तु जस्तै, तेल, विभिन्न थरी मसला आदिका लागि उपयुक्त ठाउँ बनाइनु राम्रो हुन्छ ।
अझ सहरमा इन्धनका लागि ग्यास बढी प्रयोग हुने र घरि–घरि अभाव भोग्नु पनि अनौठो नभएकाले भान्सामा तत्काल उपयोग गरिने र जगेडासहित कम्तीमा दुई वटा ग्यास सिलिन्डर भण्डार गर्न मिल्ने ठाउँ हुनु उपयुक्त हुन्छ । ग्यास सिलिन्डरको तौल गह्रौं हुने र भान्सामा काम गर्ने सबैका लागि परिवर्तन गर्न सहज नहुने हुँदा जगेडा सिलिन्डर सहज ठाउँमा भण्डार गर्नु उपयुक्त हुन्छ ।
त्यसैगरी घरमा पाहुना आउँदा वा चाडवाडमा मात्र उपयोग हुने अतिरिक्त भाँडावर्तन राख्न प्यान्ट्रीमा ठाउँ छुट्याउन सकिन्छ । त्यस्ता भाँडा औसतभन्दा ठूला आकारका हुने भएकाले प्यान्ट्री डिजाइनको समय विशेष ध्यान दिनु जरुरी हुन्छ । भाँडावर्तनका साथै अतिरिक्त खाद्यान्नका लागि पनि पर्याप्त ठाउँ छुट्याउनु राम्रो हुन्छ । कतिपयको आफ्नै खेतबारीको उत्पादन घरको भान्सामा उपयोग गर्ने योजना हुने हँुदा अतिरिक्त खाद्यान्न भण्डारणका लागि उपयुक्त ठाउँ हुनु जरुरी छ ।
भान्साकोठामा भण्डारणको पर्याप्त ठाउँ भएकाले अतिरिक्त सामान खरिद गरी सहजै भण्डारण गर्न सक्छन् । अन्यथा त्यसरी खरिद गरेका सामान यत्रतत्र वा अरू नै प्रयोजनका लागि छुट्याइएको ठाउँमा राख्नुपर्ने हुन्छ । त्यस्तो ठाउँ भान्साकोठाभन्दा टाढा छ भने आवश्यक परेको समय ती सामान ल्याउन÷ पु¥याउन सहज नहुन सक्छ ।
भान्सा नजिकै हुनुपर्ने सामान अन्यत्र हुँदा कुन सामान कहाँ छ भन्ने यकिन नहुन सक्छ । सही ठाउँमा सामान नराखिँदा हराउने, सड्ने, नासिने डर पनि त्यत्तिकै हुन्छ ।
अहिलेको महामारीका बेला लामो समयका लागि दैनिक उपभाग्य सामान खरिद गरी राख्नुपर्ने परिस्थिति छ । विषम परिस्थिति होस् वा चाडवाडको जगेडाका लागि । खरिद गरिएका खाद्यान्न यदि हाम्रो भान्सासँगै पर्याप्त भण्डारण गर्न मिल्ने प्यान्ट्रीको व्यवस्था छ भने त्यस्ता अतिरिक्त सामग्री कहाँ भण्डारण गर्ने भन्ने चिन्ताबाट सहजै मुक्त भइन्छ ।
नियमित प्रयोग हुने सरसामान र खाद्यान्न भान्साकोठामै रहेको प्यान्ट्रीमा उपलब्ध छ भने पाहुना वा चाडपर्व आदिको समय हुने जमघटमा पनि सहज तरिकाले काम सम्पन्न गर्न सकिन्छ । त्यसैले घर निर्माण गर्दा जब भान्साकोठाको कुरा आउँछ, त्यसबखत भान्सामा चाहिने सामग्री र खाद्यान्नका लागि भण्डार कक्ष वा प्यान्ट्रीको डिजाइनमा पनि चनाखो हुनु जरुरी छ ।