काठमाडौं । घरको बाहिरी बनावटलाई आकर्षक बनाउन जसरी रङको भूमिका महत्वपूर्ण मानिन्छ, भित्री बनावटको शोभाका लागि पर्दा र कार्पेट उत्तिकै महत्वको हुने गर्छ । घरलाई रङले चिटिक्कै पारेपछि कोठा सजावटमा पर्दा र कार्पेटको सही छनोट गर्न सकिए यसको सौन्दर्य झनै बढ्न सक्छ ।
कोठाको भुइँमा आम्दानीअनुसार कार्पेट प्रयोग गर्न नसकिए पनि झ्यालमा पर्दा हुनु अनिवार्य मानिन्छ । यसले कोठाको शोभामा मात्र फरक पार्दैन, यसको प्रयोगले व्यक्तिगत गोपनीयताको रक्षा पनि गर्छ । यसले घरबाहिरको हल्लालाई कोठाभित्र आउनसमेत रोक्न सक्छ । पर्दा झ्यालमा मात्र नभएर ढोका, शौचालय, बाथरुम, थियटर, पार्टी प्यालेस, स्टेज, विवाहमण्डप विविध क्षेत्रमा प्रयोग गरिन्छ । यसले कोठामा धुवाँ, धुलो र सूर्यको सीधा प्रकाशलाई रोक्ने कार्य गर्दछ ।
पर्दाको प्रयोगका फाइदा विविध भए पनि यसको मुख्य कार्य कोठाको सजावट नै हो ।
पर्दा विभिन्न सामग्री, आकार, रंग, ढाँचामा बजारमा खरिद गर्न सकिन्छ । नेपालको सन्दर्भमा पर्दालाई यताउता सार्न हात र डोरीको प्रयोग गर्न हुन्छ । थियटरमा भने रिमोटद्वारा सञ्चालन हुने पर्दाको प्रयोग हुन्छ । झ्यालको साइजअनुसार पर्दाको आकार, साइज, प्रकार र वजनअनुसुार फरक–फरक हुन्छन् । विजया फर्निसर्सका प्रोप्राइटर नारायणप्रसाद कायस्थका अनुसार पर्दा कार्यालय प्रयोग र घरायसी प्रयोग गरी दुई किसिमका हुन्छन् ।
कार्यालय तथा कर्पोरेट भवनमा प्रयोग गरिने पर्दा
प्रयोगको हिसाबले अफिस तथा कार्यालयमा प्रयोग हुने कार्पेट विभिन्न ब्रान्ड र प्रकारमा बजारमा उपलब्ध छन् । जस्तै, भर्टिकल ब्लाइन्ड, भेनेसियन ब्लाइन्ड, रोलर ब्लाइन्ड, बम्बो ब्लाइन्ड र फ्लेस ब्लाइन्ड आदि । यी पर्दा विभिन्न आकर्षक डिजाइन र विभिन्न सामग्रीमा उपलब्ध छन् ।
घरायसी प्रयोग हुने पर्दा विशेषगरी कपडा नै हुन । नेपालमा उपलब्ध हुने कपडा धेरैजसो चिनियाँ नै मुख्य हुन् । चिनियाँ कपडा बढी चम्किलो र देख्दा आकर्षक हुने भएकाले पनि पर्दा राख्नेहरूको रोजाइमा परेको देखिन्छ । चिनियाँ कपडाको चौडाइ फराकिलो हुने हुँदा कम लागत पर्छ ।
त्यसैगरी बजारमा भारतीय र नेपाली कपडा पनि उपलब्ध छन् । नेपालमा चिनियाँपछि भारतीय कपडाको प्रयोग बढी हुन्छ । बजारमा नेपाली कपडाका पर्दा पनि उपलब्ध छन् । नेपाली कपडामा विशेषगरी सुती र कटन मुख्य हुन् । अन्य कपडामा सिलिकन, पोलिस्टर, साटन, नेट (जाली भएको) आदि प्रमुख हुन् । हाल बजारमा रोलवाथान कपडाको चलनचल्तीभन्दा बढी तयारी (रेडिमेड) पर्दाको प्रयोगमा वृद्धि भएको छ । तयारी पर्दामा प्रायः चिनियाँ मुख्य छन् । यी पर्दा ४, ५, ६ ७, ८, ९ र १० फिट गुणा उचाइँ ७ फिटमा बजारमा उपलब्ध छन् । अहिले झ्यालका साइजअनुसार पर्दा किन्न सकिने विजया फर्निसर्सका प्रोप्राइटर नारायणप्रसाद कायस्थ बताउँछन् ।
झ्यालमा प्रयोग गरिने उपकरण
पर्दा झुन्ड्याउन रिङ, रड, स्प्रिङ तार, पाइप प्रयोग गरिन्छ । पर्दा यताउता सार्न रिङको प्रयोग गरिन्छ । रिङ विभिन्न डिजाइन र बनावटमा खरिद गर्ने सुविधा ग्राहकलाई छ । झ्यालको साइजअनुसार तयारी पाइप पाइन्छन् । बजारमा उपलब्ध हुने पाइपमा पीभीसी पाइप, आल्मुनियम पाइप, फेन्सी पाइप, काठको पाइप र स्टिलका पाइप प्रमुख हुन् । नेपालमा बढी प्रयोग हुने पाइप विशेषगरी पीभीसी र आल्मुनियम हुन् । कोठा भाडामा बस्ने र पर्दा झिकेर अन्यत्र सार्नुपर्ने अवस्थामा स्प्रिङ तार उपयुक्त हुन्छ ।
कोठा सजावटमा कार्पेटको प्रयोग
कोठा सफा, सुग्घर र चिसोबाट बचाउन कार्पेट प्रयोग गरिन्छ । उभन, निडल फेल्ट, नोटेड, टफटेड, नाइलन, पोलिप्रोपाइलिन, ऊन र ऊन ब्लेन्डस्, पोलिस्टर, एक्रिलिकजस्ता कार्पेट विश्वभर नै प्रचलनमा रहेका छन् । नेपालमा भने उपलब्ध कार्पेट विशेषगरी पीभीसी (टाट), नाइनल र टफटेड आदि प्रमुख छन् । पीभीसी कार्पेटको मोटाइ ३ मिमिदेखि ६ मिमिसम्मको हुन्छ । चौडाइ भने प्रायः सबै कार्पेटको २ मिटर हुन्छ । पीभिसी कार्पेट मूल्यमा सस्तो, वाटर प्रुफ, सफा गर्न सजिलो हुन्छ । नेपालमा बढी प्रयोग हुने कार्पेट नाइनल हो । यसको मोटाइ ४ मिमिदेखि ५ मिमिसम्मको हुने भएकाले यसलाई साधारण कार्पेट भनिन्छ । यसको प्रतिमिटर मूल्य करिब ५ सय रुपैयाँसम्म पर्छ ।
सबैले किन्न सक्ने साधारण मूल्य भएका कारण सर्वसाधारणले यही कार्पेट प्रयोग गर्छन् । महँगो भएका कारण सर्वसाधारणको पहुँचभन्दा बाहिर छ, टफटेड कार्पेट । यसको बजार मूल्य प्रतिमिटरको २ हजारदेखि ५ हजारसम्म पर्छ । यसको मोटाइ ८ मिमिदेखि १२ मिमिसम्म हुन्छ । यसैले यस कार्पेटको प्रयोगकर्ता सर्वसाधरणभन्दा भीआईपी, कार्यालय, होटल आदि प्रमुख हुन् ।