ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लाडिओलस फूलमा रोग किराको व्यवस्थापन विधि

२०७८ भदौ, ४  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । ग्लाडिओलस फूल खेतीबाट चाहेअनुरूप आम्दानी लिन विभिन्न प्रकारका रोग तथा किराको प्रकोपबाट बिरुवालाई जोगाउनैपर्छ । त्यसका लागि त्यसमा लाग्ने रोग तथा किराबारे आवश्यक जानकारी राख्न जरुरी छ ।

नेपालको माटोमा बढी अम्लीयपन भएकाले ढुसीजन्य रोगको प्रकोप बढी छ । फ्युजारियम, ब्रोटाइटिस, रस्ट, रुटरट रोगलगायत बोरर र थ्रिप्सजस्ता किराले यसलाई आक्रमण गरी हानि पुर्‍याउँछन् । पुष्पविज्ञ लोकनाथ गैरेका अनुसार यसमा लाग्ने प्रमुख रोग तथा किरा नियन्त्रणका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ :

फ्युजारियम :
यो ग्लाडिओलसको बल्व अर्थात् गानोमा लाग्ने रोग हो । फ्युजारियमले असर भएको बल्व रोपिसकेपछि क्रमशः अरू बल्वमा फैलिँदै जान्छ । यसबाट अति प्रभावित बल्व रोपिसकेपछि उम्रिन सक्दैन भने कम प्रभावित बल्व उम्रिसकेपछि कमजोर देखिन्छ । यस्तो कमजोर बल्वबाट फूल आउन सक्दैन । बोट विस्तारै पहेँलिँदै जान्छ र अन्त्यमा मर्छ । बल्व खैरो हुँदै जान्छ र अन्त्यमा कुहिएको अवस्थामा पाउन सकिन्छ । यसले असर पारिसकेपछि बल्वको कुनै पनि उपचार विधि छैन । यद्यपि अन्य बोटमा फैलिन नदिन प्रत्येक वर्ष बाली चक्रको नियमानुसार एकै जमिनमा यसको खेती नगर्ने, एक पटक यो रोग देखिएको जमिनमा यसको पुनः खेती नगर्ने, बढी असर गरेको स्थानमा फंगिसाइड स्प्रे र डे«न्चिङ गर्ने र जमिनलाई स्टेरलाइजेसन गर्नेलगायत विधि अपनाउन सकिन्छ ।

ब्रोटाइटिस :
यो ग्लाडिओलस फूलका लागि डरलाग्दो रोग हो । यसको प्रकोपले केही घन्टामै सम्पूर्ण बालीलाई प्रभावित गर्न सक्छ र एक पटकको प्रकोपले  फूललाई पूर्णतया क्षति गर्न सक्छ । बढी आद्रता र ठण्डी मौसममा यसको प्रकोप बढी हुन्छ । रातो र खैरो सानो स्पोर पातमा बनिसकेपछि हावाको माध्यमबाट फैलिएर टाढा–टाढासम्म पुग्न सक्ने क्षमता यसले राख्छ ।

यसको नियन्त्रण गर्न प्रत्येक वर्ष नयाँ जमिनमा खेती गर्ने, खुला हावा चल्न सक्ने गरी पातलो रोप्ने, खेती गरिएको स्थान वरपर सफा राख्ने, खेती गर्दा नाइट्रोजनको मात्रा घटाउने, बल्वलाई रोप्नुअघि प्रतिलिटर २÷३ ग्राम वेभिस्टिन पानीले उपचार गर्नेजस्ता विधि अपनाउन सकिन्छ ।

रस्ट :
पातको दुवै साइडमा पहेंलो थोपा देखा परेर विस्तारै बढ्दै गई पूरै पात पहेंलो भए यो रोग लागेको थाहा पाउनुपर्दछ । यो रोग लागे बिरुवाको खाना बनाउने प्रक्रियामा असर पर्दछ र बोट विस्तारै कमजोर बनेर मर्ने गर्दछ । यो फंगसको कारणबाट हुने हुनाले रोगको प्रकोप हुन सक्ने अवस्थाअगावै फंगिसाइड दिनु रोकथामको उपाय हो । यसका साथै रोगको संकेत देखिनासाथ फंगिसाइड १ सय मिटर स्क्वायरमा ५ ग्रामका दरले अक्सी कार्बोसिम स्प्रे गर्न सकिन्छ ।

रुटरट :
बिरुवा रोपिसकेपछि जरामा संक्रमण भई बिरुवा कमजोर हुने वा कहिलेकाहीँ बोटसमेत मर्ने रोगलाई रुटरट भनिन्छ । बाहिरबाट जरा देख्न नसकिने भएकाले यो रोग लागे÷ नलागेको यकिन गर्न गाह्रो हुन्छ । यद्यपि जराले काम गर्न छाडेपछि विस्तारै बिरुवा मर्न थाल्दछ ।

यसको नियन्त्रणका लागि बाली लगाउनुअघि पर्याप्त खनजोत, अनावश्यक झारपातको व्यवस्थापन गर्नुका साथै माटोमा लामो समयसम्म चिस्यान रहन दिनुहुँदैन । फंगिसाइडको स्प्रे नियमित गर्नुपर्दछ ।

बोरर :
ग्लाडिओलसलाई सबैभन्दा बढी असर गर्ने किरामध्ये बोरर पनि एक हो । यो किराको प्रकोपको प्रमुख स्रोत पुतली हो । पुतलीले बर्डको भित्री भागमा फूल पारिसकेपछि लार्भाको रूपमा विकास हुन्छ र उक्त लार्भाले फूलको महत्वपूर्ण भाग नष्ट गर्दछ । वसन्त तथा शरद ऋतुमा बोररको समस्या बढी देखिने गर्दछ । यसको रोकथाम तथा नियन्त्रणका लागि पुतलीको पुतलीको अण्डालाई नष्ट गर्न एगिसाइड स्प्रे गर्नुपर्दछ ।

थ्रिप्स :
थ्रिप्स धेरै सानो र आँखाले झट्ट पत्ता लगाउन गाह्रो हुने खाले किरा भएकाले बालीमा यसले असर गरिसकेपछि मात्र थाहा हुन्छ । यसको असरले पातमा साना, मसिना थोपा देखिन्छन् र विस्तारै खैरो रंगमा परिणत हुँदै जान्छ । यसको रोकथामका लागि बालीको वरिपरि अनावश्यक झारपात तथा झाडी सफा गर्ने, सिस्टमिक किटनाशक विषादी स्प्रे गर्ने, सुक्खा तथा गर्मी समय थ्रिप्सको प्रकोप बढी हुने हुनाले विशेष सतर्क रहनुपर्दछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)