काठमाडौं । अपवादबाहेक घर भन्नाले इट्टा, ढुंगा, बालुवा सिमेन्टको प्लास्टरसहितको कंक्रिट निर्मित आवासलाई बुझाउँछ । ढुंगा वा इँटको गारो वा काठको बारमा माटोले पोतिएका परम्परागत घर अहिले दुर्गम क्षेत्रका गाउँमा सीमित हुन पुगेका छन् । घर घरिघरि नबनाइने हुँदा सकेसम्म बलियो निर्माण जरुरी भइहाल्यो ।
त्यसका लागि प्रचलित कंक्रिटको घर बनाउनु सामान्य प्रक्रिया हो । यद्यपि त्यस्ता कंक्रिट निर्मित घरको कोठा कत्तिको मौसममैत्री हुन्छन् वा त्यस्ता कोठाले स्वास्थ्यमा के–कस्तो असर पार्न सक्छन् भन्नेतर्फ हामी कमै ध्यान दिन्छौं । हामीलाई अत्यावश्यक गास, बास, कपासका साथै हाम्रो स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण भएकाले बास अर्थात् घर स्वास्थ्यमैत्री हुनु जरुरी छ । त्यसका लागि घरको कोठामा काठ वा पार्केटको प्रयोगले धेरै सहयोग गर्न सक्छ ।
परम्परागत सिमेन्टरहित (ढुंगा माटोयुक्त) र सिमेन्टयुक्त कंक्रिटका घरका बीच स्वास्थ्यलाई ध्यानमा राखेर कुन उपयुक्त हो भन्ने तुलनात्मक अध्ययन भएको पाइँदैन । तर, चिसोमा धेरै चिसो नहुने र गर्मीयाममा पनि अधिक गर्मी नहुने आवासीय वातावरण स्वास्थ्यका लागि सहज हुन्छ । यस्तो वातावरणका लागि परम्परागत ढुंगा, माटो र काठ प्रयोग गरी बनाइएको घर बढी उपयुक्त हुन्छन् । परम्परागत घरमा सामान्यतः भित्तामा माटो पोतिएको हुन्छ । माटोमा तापमान सोस्ने प्राकृतिक प्रक्रिया ढिला हुने भएकाले जाडोमा न्यानो र गर्मीमा शितल रहने गुण हुन्छ । यसको विपरीत कंक्रिटमा तापमान सोस्ने प्रक्रिया छिटो हुने हुँदा जाडोमा अत्यधिक चिसो हुने र गर्मीमा अधिक तातो हुने गर्दछ । यसबाट माटोको भित्ता भएको घर प्राकृतिक वातावरणीय दृष्टिले बढी उपयुक्त देखिन्छ र यसको सीधा फाइदा स्वास्थ्यमा पनि पर्छ । तर निर्माण सामग्रीको उपलब्धता, भूकम्प तथा अन्य प्रकोपबाट सुरक्षा र आम प्रचलन आदिका कारण त्यस्तो घर बनाउन भने कठिन छ ।
परम्परागत माटोले पोतेको घर बनाउन कठिन भए पनि कंक्रिटकै घर वा कोठालाई प्राकृतिक वातावरणमैत्री बनाउने उपायको रूपमा पार्केट वा काठ प्रयोग गर्न सकिन्छ । माटोमा जस्तै काठमा पनि चिसो मौसममा न्यानो रहने, र तातो समय अत्यधिक तातो नहुने गुण विद्यमान रहन्छ । सहर बजारका घना बस्तीमा घामको न्यानो हरेक कोठामा पुग्न नसक्ने हुँदा विशेष गरी चिसो मौसममा घर अत्यधिक चिसो हुन सक्छ । त्यसले रोगी मानिसको स्वास्थ्यमा थप जटिलता ल्याउन सक्छ भने स्वस्थ मानिस पनि सर्दीका कारण रोगबाट प्रभावित बन्न सक्छन् । अस्पतालमा डाक्टरले विभिन्न रोगमा चिसोबाट बच्नू भन्ने सल्लाह बिरामीलाई दिएको जोकसैले सुनेकै हो । कस्तो रोगका लागि चिसो वातावरण खतरा हो भन्ने जिज्ञासामा धुलिखेल हस्पिटलका चिकित्सक (हाल शुझोउ मेडिकल हस्पिटल, चीन) डा. दिलबहादुर थोकर भन्छन्, ‘विशेषगरी नशासम्बन्धी रोग जस्तै बाथ, दम, मुटु रोग, जोर्नीसम्बन्धी समस्या आदिमा चिकित्सकले चिसोबाट बच्न सुझाव दिन्छन् । किनकि जाडोयाम वा चिसो वातावरणमा नशा, रक्तनली तथा जोर्नी साँघुरिने गर्छन् र त्यसको दबाबका कारण रोगले बढी असर गर्ने अवस्था सिर्जित हुन्छ ।’ औषधीमूलोको साथमा त्यस्ता रोगीले आफूलाई चिसो र सर्दीबाट बचाउनु पनि उत्तिकै जरुरी हुने उनको सुझाव छ ।
यसबाट कोठा न्यानो राख्न कति महत्वपूर्ण छ भन्ने सहज अनुमान लगाउन सकिन्छ । घर निर्माणपछि कोठा तयार गर्ने क्रममा त्यसको सतहमा कार्पेट, टाट वा पार्केटले ढाक्ने विकल्प हामीमाझ हुन्छन् । कार्पेट वा टाटभन्दा काठ वा पार्केट महँगो पर्न जान्छ । तर, पछिल्लो समय काठकै धुलोबाट रिसाइकल गरी बनाइएका पार्केट केही सस्तोमा पाइने गरेका छन् । काठको पार्केट अन्यभन्दा महँगो भए पनि वर्षौं टिकाउ हुने, एक पटक राखेपछि घरिघरि मर्मत–सम्भार गर्नु नपर्ने र सरसफाइका लागि सजिलो हुने हँुदा तत्काल केही महँगो भए पनि कालान्तरमा यसमा लगानी गर्नु सही निर्णय हुन सक्छ । काठबाट सिमेन्टको सर्दी प्रवाह नहुने भएको हुँदा यसले कोठा न्यानो राख्न मद्दत पुग्छ र स्वास्थ्यका लागि सहयोगी हुन सक्छ । काठको चिसोमा अत्यधिक चिसो नहुने, गर्मीमा अत्यधिक गर्मी नहुने गुणका कारण कोठालाई केही हदसम्म भए पनि प्राकृतिक रूपमा वातानुकूलित अवस्थामा राख्न मद्दत पुग्ने हुँदा काठको पार्केटले कोठाको सतह तथा भित्ताको पूरै वा निश्चित उचाइसम्मको भाग ढाक्नु (प्mलोरिङ गर्नु) बुद्धिमानी हुन्छ । यसो गर्दा स्वस्थ रहन सहयोग पुग्नुका साथै घरको आन्तरिक शोभा पनि बढाउँछ ।