कम्पनीले गत आवको चौथो त्रैमाससम्म रु. २ अर्ब १ करोड १६ लाख नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ६८ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो आवमा कम्पनीले रु. १ अर्ब १९ करोड ४२ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा बढेको हो ।
नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवमा प्रतिशेयर आम्दानी रु. ११ दशमलव ५८ रहेकोमा वृद्धि भएर रु. १७ दशमलव ७३ पुगेको हो ।
त्यसैगरी गत आवमा कम्पनीको वितरणयोग्य नाफा रु. १ अर्ब ४८ करोड २४ लाख रहेको छ । यस आधारमा कम्पनीको लाभांश क्षमता १३ प्रतिशत रहेको छ । एनएफआर प्रणालीअनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो ।
गत बिहीवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ४६७ दशमलव १० रहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयर मूल्य ६ रुपैयाँ ४० पैसाले कमी आएको हो ।
निष्कर्ष
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी र छोटो पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । हेर्दा इन्भर्टेड ह्याम्मरजस्तो देखिने यो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ ।
यद्यपि कारोबार भोल्युमलाई आधार मान्दा लामो समयदेखि ओरालो लागेको बजारमा केही सुधार आउन सक्ने देखिन्छ । आरएसआई न्युट्रल जोन ४१ दशमलव ५१ बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७ दशमलव ५५ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा काटिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा मुनि छ ।
बिहीवारको शेयर मूल्य रु. ४६७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४५७ मा टेवा पाउने र महँगिए रु. ४८५ मा प्रतिरोध पाउने देखिन्छ ।