ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इँटाको विकल्प एएसी ब्लक

२०७८ भदौ, ११  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पछिल्लो समय सहरबजार वा घरगाउँमा घर बनाउँदा इँटा प्रयोग गर्ने क्रम बाक्लिँदो छ ।  तर, इँटा उपलब्ध नहुने दुर्गम गाउँबस्तीमा अझै पनि पक्की घरका लागि ढुंगाको गारो लगाइन्छ ।

सहरबजार वा आधुनिक बस्तीका  छिमेकको घरमा मात्र भएर जुनसुकै ठाउँमा इँटाको गारोमा अडिएको देख्न सकिन्छ । प्राचीन समयदेखि नै काँचो वा पाकेको इँटाले घर भवन, दरबार र मन्दिर निर्माण गरिएको आधारमा पनि इँटा निर्माणका लागि नभइनहुने वस्तु हो भन्ने प्रमाणित गरेको छ ।

यद्यपि सहरबजारमा घर बनाउँदा परम्परागत निर्माण सामग्रीको सस्तो, राम्रो र मनपर्दो विकल्प छ भने त्यतातिर ध्यान दिनु उचित हुन्छ । इँटाको हकमा त्यस्तो विकल्प हुन सक्छ, एएसी ब्लक ।

एएसी अटोक्लेभ्ड एरेटेड कंक्रिट ब्लक हो । यो एक किसिमको इँटा हो । अटोक्लेभ भनिने विशेष खालको मेसिनमा यसलाई पकाइन्छ । एएसीका इँटा मात्र होइन, पार्टेसन गर्ने, भुइँमा ओछ्याउने र छाना लगाउने तयारी बोर्ड पनि उत्पादन हुने गर्छन्  । यसलाई एसीसी वा एएलसी पनि भनिन्छ ।

सिमेन्ट, बालुवा, चुनाको धुलो र आल्मुनियमको धुलोको मिश्रण गरी निर्माण हुने एएसी ब्लक सुरुमा युरोप र पश्चिमा विश्वमा रुचाइएको पाइन्छ । विश्वव्यापी हुँदै गएको यो निर्माण सामग्री केही वर्षदेखि  नेपालमा पनि उत्पादन सुरु हुन थालेको छ । यसले विस्तारै परम्परागत इँटाको विकल्प वा प्रतिस्पर्धीको रूपमा स्थापित हुने जमर्को गरेको देखिन्छ ।

एएसी ब्लक उद्योगमध्येको एएसी इँटा उद्योग प्रालिका सञ्चालक महेन्द्र गुरुङका अनुसार नेपालमा अहिले ५ वटा चालू एएसी ब्लक उद्योग छन् भने केही निकट भविष्यमै स्थापना हुने क्रममा छन् ।  उनका अनुसार हाल उत्पादन दिइरहेका उद्योगका अलावा भारतबाट समेत एएसी ब्लक आयात गर्ने गरिएको छ । यसको लोकप्रियता दिनहुँजसो बढिरहेको गुरुङ बताउँछन् ।

एएसी ब्लकका विभिन्न गुणमध्ये यो परम्परागत इँटाको तुलनामा एक तिहाइ हलुका हुन्छ । हलुका हुनु भनेको निर्माणमा संलग्न जनशक्तिका लागि सहज, छिटोछरितो मात्र नभई भूकम्पीय सुरक्षाको दृष्टिले पनि प्रभावकारी हुन्छ । एएसी ब्लक उत्पादन गर्दा परम्परागत इँटाभट्टामा जसरी दाउरा, कोइला, पराल, आगो, उपयोग गरिँदैन । यसका लागि उपयुक्त आवश्यक ल्याबसहितको व्यवस्थित प्mयाक्ट्री भवन उपयोग गरिन्छ ।

यसबाट एएसी ब्लक उत्पादन गर्दा इँटाभट्टाको धुवाँले झैं बाहिरी वातावरणमा असर गर्दैन । घरभित्रको वातावरण सन्तुलित राख्न पनि एएसी ब्लक इँटाभन्दा राम्रो मानिएको छ । सिमेन्ट, आल्मुनियमको धुलो, चुनाको धुलो आदिलाई विशेष प्रविधिबाट प्रोसेसिङ गर्दा एएसी ब्लकमा तातो वा जाडोले कम गतिमा असर गर्ने गुण (इन्सुलेसन पावर) को विकास हुन्छ ।  यसबाट घर वा कोठा इँटा र सिमेन्टले जस्तै जाडोमा वास्तविकभन्दा बढी जाडो र गर्मीमा पनि अधिक गर्मी हुने अवस्थालाई न्यून गराउन सहयोग गर्छ ।

आर्थिक अभियान घर संसारको पछिल्लो परिशिष्टांकमा घरको कोठा प्राकृतिक रूपमै कसरी वातानुकूलित वा न्यानो  बनाउन सकिन्छ र त्यसले खासखास रोगका असरलाई कम गराई पुनः स्वस्थ हुन कसरी मद्दत गर्दछ भन्नेबारे चर्चा गरिएको प्रसंग यहाँ स्मरणीय छ । घर निर्माण गर्दा प्रयोग भएको निर्माण सामग्रीले स्वास्थ्यमा थोरै भए पनि सकारात्मक प्रभाव पार्छ भने त्यो लामो समयका लागि महत्वपूर्ण हुन सक्छ ।

एएसी ब्लकका माथि उल्लिखित विभिन्न विशेषताका अलावा धेरै चासोको विषय यसबाट घर निर्माण गर्दा लाग्ने लागत र समयको बचत पनि हो ।  व्यवसायी महेन्द्र गुरुङका अनुसार एएसी ब्लकका नेपालमा उत्पादन हुने तीन थरी साइज ४, ६ र ८ इञ्च लम्बाइका ब्लकमध्ये ४ इन्चको ब्लक र प्रचलित इँटाको लागतमा कम्तीमा १५प्रतिशत सस्तो पर्न जान्छ ।

यसबाट औसत परिवारले बनाउने प्रचलित साढे दुईतले घर बनाउन लाग्ने करोडभन्दा बढी लागतका आधारमा तुलना गर्ने हो भने एउटा घर निर्माण गरिँदा एएसी ब्लक प्रयोग गर्दा उल्लेख्य रकम बचत हुने दखिन्छ । बाह्रै महिना उत्पादन हुने हुँदा एएसी ब्लकको मूल्यमा इँटामा जस्तै पानी पर्नेबित्तिकै मूल्य बढ्ने सम्भावना देखिँदैन । त्यसो हुँदा निर्माणकर्तालाई खर्च कम गराउन मात्र नभई लागतको सही निक्र्योल गर्न सहज हुन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)