ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शुद्ध हावाका लागि नासाबाट सिफारिस इन्डोर वनस्पति

२०७८ भदौ, १८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बिहानको हिँडाइ (मर्निङ वाक) मा जाँदा, बाहिर घुम्दा वा कार्यालय आउजाउ गर्दा नै किन नहोस् । तपाईं–हामी स्वच्छ हावाको कुरा गर्न छुटाउन्नौं  । बढ्दो जनघनत्वसँगै बढेको सहरीकरणले धुवाँधुलो बढ्दो छ भने प्राकृतिक शुद्ध हावाको उपलब्धतामा प्रश्न उठ्ने गरेको छ ।

शुद्ध हावा घुमफिर गर्दा मात्र नभई हरहमेसा चाहिने तत्व हो । अझ हामीले जीवनको सबैभन्दा बढी समय बिताउने ठाउँ आफ्नै घरमा स्वस्थ हावा हुनु झन् जरुरी भइहाल्यो । सहरीकरण वा अन्य भौतिक विकासका कारण सिर्जित वायु प्रदूषणबाट हाम्रो घरलाई जोगाउन केही उपाय अवलम्बन गर्न सकिन्छ । त्यसको सहायक हुन सक्छ, घरभित्रै हुर्काउन सकिने इन्डोर वनस्पति ।

शुद्ध अक्सिजनका लागि हरियाली हुनुपर्छ भन्ने आम तथ्यका बीच पनि प्रदूषित हावालाई समेत शुद्ध गर्ने (यअर प्युरिफायर) बिरुवाको पहिचान विज्ञहरूले गरेका छन् ।  यसै अभियानमा सन् १९८९ मै प्रख्यात अन्तरिक्ष अध्ययन संस्था नासाले स्वस्थ वायु अध्ययन (क्लिन एयर स्टडिज) नामक एक अध्ययन गरी स्वस्थ हावाप्रदायक डेढ दर्जनभन्दा बढी शुद्ध हावा दिने वनस्पतिको सिफारिस गरेको पाइएको छ । खुसीको कुरा के भने यी अधिकांश वनस्पति कम प्रकाश हुने अर्थात् घरभित्रै पनि लगाउन सकिने खाले हुन् । नासाको तालिकामा उल्लेख गरिएमध्ये हाम्रै नजिकका व्यावसायिक नर्सरीमा पाइने पाँच प्रमुख वनस्पतिलाई यहाँ उल्लेख गरिएको छ ।  यिनीहरूलाई कम प्रकाश पुग्ने ठाउँ अर्थात् घरको भर्‍याङ, बरन्डा, अफिस कोठा, अध्ययन वा शयन कक्ष आदिमै गमलामा हुर्काएर प्रदूषित वातावरणसँग केही हदसम्म भए पनि जुध्न सकिन्छ ।  

घिउकुमारी (अलोभेरा)
हामी सबैमाझ परिचित परापूर्वकालदेखि औषधीय प्रयोजनका लागि प्रयोग हुँदै आएको अझ छालाजन्य रोगका निम्ति सबैभन्दा बढी गुणकारी वनस्पति अलोभेरा हो ।  छालालाई नरम बनाउन, घाम तथा अन्य मौसमी कारणबाट हुने क्षतिबाट बचाउने क्रिममा अलोभेरा अत्यावश्यक तत्वको रूपमा उपयोग गरिएको पाइन्छ । घरमा काम गर्दा हुन सक्ने सानातिना घाउ तथा चोटपटकको प्राथमिक उपचारकका रूपमा पनि अलोभेरा उपयोग हुँदै आएको छ ।  अलोभेराका अनेक गुणमध्ये यसले प्रदान गर्ने शुद्ध अक्सिजन पनि हो । अलोभेरालाई बगंैचाका साथै इन्डोर बिरुवाको रूपमा घरको उपयुक्त स्थानमा लगाउन सकिन्छ ।  

सन्सेभेरिया (स्नेक प्लान्ट)
नामजस्तै सर्पझैं छिर्केमिर्के देखिने स्नेकप्लान्ट इन्डोर वनस्पतिमध्ये पनि सबैभन्दा बढी वायू प्रशोधन गर्ने क्षमता भएको मानिन्छ ।  स्नेक प्लान्टमा अन्य इन्डोर बिरुवामा भन्दा बढी  हावामा रहेका किटाणु नष्ट गर्ने क्षमता हुन्छ भनिएको छ ।  यसर्थ, घर वा कार्यालयको उपयुक्त स्थानमा इन्डोर वनस्पतिको रूपमा स्नेक प्लान्ट लगाउनले इन्डोर वनस्पतिले कोठा सजाउने सोख पूरा गर्नुका साथै स्वस्थ वायुको स्रोतको रूपमा पनि काम गर्ने देखिन्छ ।

मनी प्लान्ट (पोथस)
इन्डोर बिरुवामध्ये सबैभन्दा आम रूपमा देख्न पाइने, हेर्दा आकर्षक लहरे वनस्पति मनी प्लान्ट अर्को शुद्ध  वायुप्रदायक हो भन्दा विश्वास नलाग्न सक्छ । तर, विज्ञहरू यसमा विश्वास गर्छन् र नासाको अनुसन्धानले समेत त्यसलाई स्वीकारेको पाइएको छ ।  अरू वनस्पतिलाई झैं बढी स्याहर नचाहिने र असली गमलाबेगरै रिसाइकल गरिएको जुनसुकै साइजको प्लास्टिकका भाँडोमै हुर्काउन सकिने यो बिरुवा वनस्पति हुर्काउने सोख राख्ने जिज्ञासु र सिकारका लागि परीक्षणको रूपमा पनि लगाउन सकिन्छ । लामो लहरा जाने भएकाले यसले दिने हरियाली आकर्षक हुने गर्दछ ।

बोस्टन फर्न
अत्यन्त आकर्षक देखिने बोस्टन फर्न पनि शुद्ध हावाप्रदायक मानिएको छ ।  बोस्टनफर्नले ब्याक्टेरिया तथा हावामा रहने किटाणुलाई नष्ट गर्ने क्षमता राख्ने विज्ञहरूले उल्लेख गरेका छन् ।  यसलाई पनि इन्डोर बिरुवाको रूपमा घर वा कार्यालयको उपयुक्त स्थानमा लगाएर सजावट गर्नुका साथै स्वस्थ हावाको पनि थोरबहुत व्यवस्था गर्न सकिन्छ ।
 
पिस लिली (शान्त लिली)
हाम्रो वातवारणको अशुद्ध वायुलाई शुद्धीकरण गर्ने बिरुवामाझ पिस लिलीलाई पनि अब्बल मानिएको छ । कोही–कोही पिस लिलीलाई सौभाग्यको प्रतीक पनि मान्छन् ।  पिस लिलीले हावामा रहने विभिन्न थरी जीवाणुलाई नष्ट गरी शुद्ध हावा प्रदान गर्ने फिल्टरजस्तै काम गर्छ भनिन्छ ।  हरियालीका साथै पिस लिलीको आकर्षक फूल पनि फुल्दछ ।  

घर तथा कार्यस्थलमा हरियालीले सजाउने प्रचलन बढ्दै गएको पछिल्लो समय थप ध्यान दिई यी र यस्तै स्वास्थ्यमा पनि सहयोग पुग्ने वनस्पति लगाउनाले हरियालीको आकर्षण बढाउने काम तथा फूल बगैंचा लगाउने सौखलाई थप अर्थपूर्ण बनाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)