काठमाडौं । नेपालमा ०७२ को भूकम्पले पु¥याएको मानवीय क्षति र भौतिक संरचनाको आँकडाले अहिलेसम्म जोकसैलाई झस्काउने गरेको छ । भूकम्प आउनुअघि विज्ञहरूको चेतावनीलाई गहन रूपमा लिएर सुरक्षित आवास निर्माणमा ध्यान दिन सकेको भए यति धेरै क्षति बेहोर्नुपर्ने थिएन ।
भूकम्पीय क्षतिपछि पुनर्निर्माणसँगै भूकम्पीय प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी विस्तृत अध्ययन सुरु भए ।
विभिन्न विज्ञहरूको खोज अनुसन्धानबाट प्रथमतः ढुंगा र माटोबाट भूकम्पीय प्रतिरोधात्मक भवन निर्माण विधि बन्यो र सोहीअनुसार भवन निर्माण भए, गरिँदै छन् । त्यसका अलावा विभिन्न स्वतन्त्र अध्ययनबाट एएसी ब्लक, इन्टरलक इँटा, फेब्रिकेटेडलगायतबाट सुरक्षित भवन निर्माण गर्न सकिने प्रविधि र सामग्री उपलब्ध हुन थालिसकेका छन् । भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि इन्टरलक इँटाको महत्वबारे जानी राखौं ।
सस्तो, टिकाउ, सुलभ, बलियो र छोटो समयमै भूकम्प प्रतिरोधात्मक भवन निर्माण सबैको चाहना हुने गर्छ । यसलाई केही हदसम्म पूरा गरिदिएको छ, विल्ड अप नेपालले । रातो इँटा उपलब्ध नहुने स्थानमा समेत इन्टरलक इँटा उत्पादन गर्न सकिन्छ । उद्योग सञ्चालन गर्न चाहनेलाई चार दिने तालिम र मेसिन उपलब्ध गराएर उद्यमी बन्न सहयोग पु¥याएको छ । सामान्य इँटाजस्तोे पोल्न नपर्ने भएकाले यसलाई वातावरणमैत्री मानिन्छ । यो माटो, बालुवा र सिमेन्टको प्रयोग गरेर निर्माण गरिन्छ, जसले इन्सुलेसनको कार्य गर्दछ । माटोमा तातो र चिसो सोस्ने गुण हुने भएकाले गर्मी र चिसोबाट सुरक्षित राख्न सहयोग पु¥याउँछ । सरकारले तोकेको इँटाको मापदण्ड ३.५ एमपिए (मेगापासकल) हो जबकि यसको मापदण्ड १५ एमपिएसम्म छ । यो इँटाको प्रमुख विशेषता भनेकै कम खर्चमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण हो । अन्य इँटाभन्दा यो इँटाबाट २५ प्रतिशत कम खर्चमा भवन निर्माण गर्न सकिन्छ । सिमेन्ट र बालुवाको मात्रा प्रयोग कम हुनु र इँटाको फिनिसिङ राम्रो भएका कारण प्लास्टर गर्नुपर्ने झन्झट पनि हुँदैन ।
यस्तो इँटा साइज ९ इन्च र ६ इन्चको साइजमा उपलब्ध हुने गरेको छ । साइज ठूलो र वाल निर्माण गर्न सजिलो भएका कारण अन्य इँटामा भन्दा कम मजदुरको प्रयोगबाट भवन निर्माण गर्न सकिन्छ । यस इँटाबाट कम खर्चमा भवन निर्माण हुनुमा सिमेन्टको कम प्रयोग, प्लास्टर गर्नु नपर्ने र कम कामदारको प्रयोग गरे हुनु रहेको छ ।
इन्टरलक इँटा भूकम्प प्रतिरोधात्मक हुनुको प्रमुख कारणमा पहिलो, यसको बनाबट नै दुई वटा इँटा एकापसमा जोड्न मिल्ने गरी बनाइएको हुन्छ । दोस्रो, इँटाको बीचमा दुई वटा प्वाल राखिएको हुन्छ, जसको प्वालमा डण्डी राखिन्छ । सो प्वालमा सिमेन्टको घोल राखिन्छ, जसले गर्दा इँटालाई बाँधेर राख्ने काम गर्दछ र वाल बलियो बनाउँछ । यसले गर्दा वाल हल्लिन पाउँदैन र भूकम्पले क्षति पुर्याउन सक्दैन ।
के हो इन्टरलक इँटा ?
इन्टरलक इँटा दुई किसिमले उत्पादन हुने गरेको छ । पहिलो, माटो, सिमेन्ट र बालुवाको मिक्सबाट बनाउने गरिन्छ । अर्को, धुलो र सिमेन्टको मिक्सबाट बनाउने गरिन्छ । यो धुलो गिटी बनाउने क्रसर उद्योगबाट आउने धुलो प्रयोग गरिन्छ । तर, नेपालमा विशेषगरी माटो, सिमेन्ट र बालुवाको प्रयोगबाटै इँटा बनाउने गरिएको छ । यो रातो इँटाजस्तो पोल्नुपर्दैन । बालुवा, सिमेन्ट र माटोको मिश्रणलाई मेसिनमा राखिन्छ र बिजुलीको करेन्ट हिटिङमार्फत पकाउने कार्य हुन्छ । सो इँटालाई प्रेस गरेर मेसिनबाट बाहिर निकालिन्छ । बाहिर निकालेको २४ दिनसम्म छायामा राखिन्छ र २१ दिनसम्म क्युरिङ गरिन्छ । त्यसपछि मात्र प्रयोग गर्न उपयुक्त मानिन्छ । यसको विशेषता भनेको स्थानीय क्षेत्रमै उत्पादन गर्न सकिन्छ । बिल्ड अप नेपालका अधिकारी इन्द्रका अनुसार बालुवायुक्त खस्रो माटोमा यो इँटा बनाउन सकिन्छ । चिम्टाइलो र बढी लेसिलोयुक्त माटोमा बनाउन मिल्दैन । त्यसैले खस्रो माटो भएको स्थानमा जहाँ पनि उत्पादन गर्न सकिने भएकाले स्थानीय रूपमा समेत उत्पादन गर्न सकिन्छ । त्यसकारण पनि यो इँटा नेपालको धेरै जिल्लामा उत्पादन भइरहेको छ । यसको उद्योग सञ्चालन गर्न अन्य उद्योगजस्तो ठूलो क्षेत्र नचाहिने, एक–दुई जनाले नै मेसिन सञ्चालन गरेर उत्पादन गर्न सकिने भएकाले पनि यसको उत्पादन लागत अन्य इँटाको तुलनामा कम हुन्छ ।
दुर्गम क्षेत्रमा समेत उत्पादन गर्न सकिने र भूकम्प प्रतिरोधात्मक भएकाले नेपालका लागि यो इँटाको प्रयोग गरेर भवन निर्माण गर्नु बुद्धिमानी हुन्छ ।