काठमाडौं । गोदावरी फूलबाट चाहेअनुरूप आम्दानी लिन विभिन्न प्रकारका रोग तथा किराको प्रकोपबाट बिरुवालाई जोगाउनैपर्छ । त्यसैले त्यसमा लाग्ने रोग तथा किराबारे आवश्यक जानकारी राख्न जरुरी छ ।
गोदावरी फूलमा लाग्ने मुख्य किरा थ्रिप्स, लाही र लिफ माइनर हुन् भने ढुसीजन्य रोग सेतो रस्ट, पातथोप्ले, पाउडरी मिल्ड्यु र फ्युजारीएम मुख्य रोग हुन् । वरिष्ठ बागवानी विकास अधिकृत अनिलकुमार आचार्यका अनुसार नेपाली बजारमा उपलब्ध विषादी र विज्ञहरूको सुझावका आधारमा गोदावरी फूलमा आइपर्ने यस्ता समस्या समाधान गर्न सकिन्छ ।
थ्रिप्स
यस किराको समस्याले फूलका गुच्छामा सेतो दाग वा धर्सा पारिदिने, फूललाई सेतो बनाइदिने, पातमा खैरो थोप्ला पर्नेजस्ता लक्षण देखा पर्छन् । यसलाई नियन्त्रण गर्न प्राइड शून्य दशमलव ४ लिटर पानीमा वा रोगर २ एमएल प्रतिलिटका दरले पानीमा मिसाई प्रयोग गर्न सकिन्छ ।
लाही
यसले विशेषगरी बिरुवाको कोपिला, नयाँ पालुवा र पातमा आक्रमण गर्दछ । ती स्थानमा यो किराले एक किसिमको चोप उत्पादन गर्दछ । यसले गर्दा ढुसीका जीवाणुको समेत प्रकोप बढ्न जान्छ । यसको व्यवस्थापन किटनाशक विषादीबाट सहजै गर्न सकिन्छ ।
लिफ माइनर
यस किराको लार्भा माटोमा बसेर पातमा सेता सुरुङ पारिदिन्छ, जसले गर्दा पातमा सेता दाग देखिन्छन् । १ एमएल क्लोरोफाइरिस प्रतिलिटरका दरले पानीमा मिश्रण बनाई माटोमा छर्ने र सम्पर्क किटनाशक विषादी बोटमा स्प्रे गर्दा यो समस्यालाई व्यवस्थापन गर्न सकिन्छ ।
फ्युजेरियम
गोदावरीको पातको डाँठ काटेर हेर्दा भित्री भाग कालो देखियो भने यो रोग लागेको थाहा पाउनुपर्दछ । यस रोगलाई व्यवस्थापन गर्न ट्राइकोडमा ३ देखि ५ ग्राम प्रतिलिटर पानीमा मिसाई प्रतिबोट ३० देखि ४० एमएल पर्ने गरी ड्रेन्चिङ गर्नुपर्दछ ।
पाउडरी मिल्ड्यु
ढुसीबाट लाग्ने यो रोगले नेपाली फूल किसानलाई सबैभन्दा बढी सताएको हुन्छ । नयाँ पात, कोपिला र डाँठको सतहमा खरानीजस्तो सेतो धुलो देखापरे यो रोग लागेको थाहा पाउनुपर्दछ । यससँगै पात झर्ने र कोपिला फक्रन नसक्ने हुन्छ । वर्षैभरि जुनसुकै समय पनि यस रोगले आक्रमण गर्दछ ।
यो रोगबाट फूललाई छुटकारा दिन ग्रीनहाउसमा दिनको समय आद्रता बढी राख्ने र रातीको समय कम राख्नुपर्दछ । रोग लागेका डाँठ र पात नष्ट गर्न सरसफाइका विधि अपनाउनुपर्दछ । धुलेढुसी नियन्त्रण गर्न उपयुक्त हुने ढुसी नाशक विषादी प्रयोग गर्न सकिन्छ । यद्यपि सुरक्षाका लागि रासायनिक उपचारलाई अन्तिम अस्त्रको रूपमा प्रयोग गर्नुपर्ने विज्ञहरू सुझाउँछन् ।
सेतोरस्ट
पातको दुवै साइडमा सेतो थोपा देखा परेर विस्तारै बढ्दै गए यो रोग लागेको थाहा पाउनुपर्दछ । यो रोग लागे बिरुवाको खाना बनाउने प्रक्रियामा असर पर्दछ र बोट विस्तारै कमजोर बन्दै मर्ने गर्दछ । यो रोग फंगसको कारणबाट हुने हुँदा रोगको प्रकोप हुन सक्ने अवस्थाअगावै फंगिसाइड दिनु रोकथामको उपाय हो । साथै, रोगको संकेत देखिनासाथ फंगिसाइड १ सय मिटर स्क्वायर क्षेत्रमा ५ ग्रामका दरले अक्सी कार्बोसिम स्प्रे गर्न सकिन्छ ।
पात थोप्ले
वसन्त ऋतु तथा गर्मीयाममा यो रोगले बिरुवालाई आक्रमण गर्दछ । पहेंलोले घेरिएका गोलो कालो थोप्ला भएको लक्षण पातमा देखिएर बिरुवाको बढ्ने क्रम रोकिनुका साथै न्यून गुणस्तरको फूल फुल्दछ । यो रोगबाट फूललाई जोगाउन रोग लागेका डाँठ हटाउने र नष्ट गर्नुपर्दछ भने दिनको उत्तरार्द्धमा पातलाई सुक्खा राख्नुपर्दछ ।