कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी रु. ४३ करोड ५० लाख ७१ हजार रहेको छ । २० प्रतिशत बोनस शेयर वितरणपछि पुँजी रु. ५२ करोड २० लाख ८५ हजार पुग्नेछ । यस कम्पनीले आव ०७६/७७ र ०७७/७८ मा दुई कम्पनीलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको हुँदा आयकर ऐनबमोजिम शेयरधनीलाई बोनस शेयर वितरण गर्दा कर नलाग्ने जानकारी गराएको छ ।
कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई ९ दशमलव १९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी लामो पुच्छरसहितको कालो मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको कारोबार हालकै प्रवृत्तिमै निरन्तर रहने संकेत गर्छ । आरएसआई ओभरसोल्ड जोन २५ दशमलव ५६ बिन्दुमा छ । यसले शेयर बिक्री चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४७ दशमलव ९६ बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ ।
यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।
बिहीबारको शेयर मूल्य रु. १ हजार ५५७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिए रु. १ हजार ७३५ मा प्रतिरोध पाउने देखिन्छ । कम्पनीको सो दिनको मूल्य ६१ कारोबार दिनयताकै न्यून रहेको छ ।