ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूर्वका उद्योगीको दशैं स्वदेशमै : आन्तरिक पर्यटकीय क्षेत्रमा घुमघाम र परिवारसँग जमघट

२०७८ असोज, २२  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

कोभिड–१९ महामारी हुनु पहिलेका वर्षमा दशैं छुट्टी मनाउन सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरू यतिबेला विदेशतिर उडिसकेका हुन्थे । दशैंअघि नै आफूले घुम्ने देशको तालिका तयार गरेर दशैंको छुट्टी शुरू हुनासाथ यात्रामा निस्कन्थे । तर, कोभिडका कारण यो पटकको दशैंमा भने उद्योगीले विदेश यात्रा नगर्ने भएका छन् ।

स्वदेशमै परिवारसँग बसेर मीठो परिकार खाने र आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि मुलुकभित्रकै पर्यटकीय स्थल पुगेर रमाउने योजना बनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष राजेन्द्र राउत घरपरिवारसँग बसेर रमाइलो गरेरै दशैं मनाउने योजनामा छन् । उनले अघिल्ला वर्षमा बाबुआमासँग आशीर्वाद लिएर मनाउने गरे पनि बाबुआमा स्वर्ग भएपछि छोराबुहारी र परिवारका अन्य सदस्यसँग दशैं मनाउने अनि मुलुकभित्रकै पर्यटकीय क्षेत्रमा घुमघाम गर्ने योजना बनाएका छन् ।

घरमा घटस्थापना गरेर बडादशैंमा दुर्गा माताको उपासना गर्न परम्परालाई निरन्तरता दिन पनि वैदेशिक भ्रमणमा कहिल्यै नजाने गरेको उनले सुनाए । स्वदेशमै बसेर चाडवाड मनाउने गरेको उनको धारणा छ ।

उद्योग परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरे यो पटक परिवारसहित सुनसरीको चक्रघट्टीमा रहेको आफ्नो घर गएर पुराना साथीभाइ भेटघाट गरी दशैं मनाउने योजनामा छन् । अघिल्ला वर्षमा उनी अमेरिकालगायत मुलुक घुमेर दशैं बिदाको सदुपयोग गर्थे । यसपटक भने आन्तरिक पर्यटनको विकासका लागि घुमघाम गर्ने योजना बुनेका छन् । फुर्सदमा भान्सामा पसेर मीठो परिकार पकाउने शौखका उनी यो पटक घरपरिवारलाई नयाँ–नयाँ परिकार बनाएर खुवाउने योजनामा छन् ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा यसअघि दशैंको लामो छुट्टीमा विदेशतिर घुमघाममा रमाउँथे । तर, यसपालि कोरोना कहरका कारण उनले नेपालमै विराटनगर र काठमाडौंमा परिवारसँग बसेर दशैं मनाउने योजना बनाएका छन् । नवरात्रिको शुरुआतमा घरमा घटस्थापना गरेर परिवारसहित दैनिक माता दुर्गाको उपासना गर्ने र दशमीको दिन दुर्गा विसर्जन गरी परिवारका साथ रमाइलो गर्ने योजना उनको छ । यस पटक परिवारका साथ ताप्लेजुङमा रहेको पाथीभरा माताको मन्दिरमा दर्शन गर्न जाने योजना रहेको मुन्दडा बताउँछन् ।

त्यस्तै, उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले यसपटकको आफ्नो दशैं छुट्टीलाई पोखरा, घान्द्रुकलगायत पर्यटकीय क्षेत्रमा गएर पैदल यात्रा गर्ने योजना बनाएका छन् । उनले बाहिरबाट आफ्नो माइलो भाइ शिरज प्याकुरेलसमेत दशैैं मनाउन आउने भएकाले परिवारका अन्य सदस्यसहित नेपालभित्रकै पर्यटकीय क्षेत्र घुम्ने र अवलोकन गर्ने योजना बनाएका छन् । आफ्ना नानीबाबुसमेतलाई पर्यटकीय क्षेत्र, ग्रामीण परिवेशबारे जानकारी गराउने उद्देश्य उनले राखेका छन । उनी भन्छन्, ‘कोभिडको कहर सकिएको छैन । पर्यटकीय क्षेत्र थला परेको अवस्थामा कम्तीमा आन्तरिक रूपमा गरिने घुमघामले पर्यटन क्षेत्रलाई थोरै भए पनि राहत हुन्छ । त्यसैले सबैले यो दशैंमा परिवारसहित आन्तरिक पर्यटन गरौं ।’ विराट व्यापार संघ अध्यक्ष सुजन थापा भर्खरै भारत भ्रमण सकेर आएका हुन् । उनी पनि यो पटक आफ्नै घरपरिवारसँग दशैं मनाउने योजनामा छन् । परिवारसँग रमाइलो गर्ने र घरपरिवारसँग यो पटकको दशैं मनाउने योजना रहेको उनले सुनाए ।

कोरोनाका कारण सबैमा एक किसिमको त्रास व्याप्त रहेको र केही समयदेखि नेपालमा महामारीको प्रभाव घटिरहेकाले सजग हुँदै दशैं मनाउने उनले सबैलाई आग्रह गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)