काठमाडौं (अस) । सामान्य अवस्थाको समयभन्दा तिहारका बेला सबैलाई आ–आफ्नो घर सजाएर चिटिक्क पार्ने रहर हुन्छ । तिहारलाई फूल, झिलीमिली बत्ती र सप्तरंगी रंगको पर्वका रूपमा चिनिने भएकाले पनि यतिबेला सबैलाई आफ्नो घरआँगन सजाएर आकर्षक बनाउने रहर हुन्छ । तिहारमा घर सजाउँदा केही महत्वपूर्ण पक्षबारे जानकारी राख्नैपर्दछ ।
घरको बनावटअनुसार खर्च कम गर्दै घर सजाउन आकर्षक झिलीमिली बत्तीसहित भित्तामा रंगको समायोजन, माला र झल्लर प्रयोग गर्न सकिन्छ भने भित्री भागलाई आकर्षक बनाउन कोठामा भएका फर्निचर सफाइ गर्न सकिन्छ । झिलीमिली बत्तीको प्रयोगले घरलाई दिउँसोमा भन्दा रातको समय आकर्षक देखाउन सहयोग गर्दछ । त्यसैले अधिकांश मानिसले तिहारमा घर सजाउन यस्तो बत्ती प्रयोग गर्दछन् ।
आफ्नो इच्छाअनुसार फरक–फरक तरिकाले बाल्न मिल्ने गरी विभिन्न डिजाइनसहित रातो, हरियो, पहेंलो आदि रंगमा झिलीमिली बत्ती बजारमा उपलब्ध छन् । यसको डिजाइनअनुसार यसको मूल्य निर्धारण गरिएको हुन्छ । पछिल्लो समय नेपालमा यसको प्रयोग बढ्दो मात्रामा भइरहेको देख्न सकिन्छ ।
विद्युतीय व्यापार संघका अनुसार हरेक वर्षको तिहारमा नेपालमा १८ देखि २० करोड रुपैयाँ बराबरको झिलीमिली बत्ती आयात हुने गर्दछ ।
पक्की घरको भित्री भागलाई आकर्षक र चिटिक्क पार्न कोठाका भित्तामा फरक फरक रङको प्रयोग गर्न सकिन्छ । यसरी कोठा सजाउँदा चारैतिरको भित्तामा फरक रंगको प्रयोग गर्नुपर्दछ । रङको समायोजन गर्दा एकातिरको भित्तामा केही चम्किलो र अर्कोतिर हलुका सादा रङको प्रयोग गर्न सकिन्छ । यसो गर्दा कोठाको आकर्षण बढ्छ ।
गाउँघरतिर माटोबाट बनेका घरको भित्ता सजाउन रातो माटो, कमेरो प्रयोग गर्न सकिन्छ भने भित्तामा विभिन्न खाले माटोका डिजाइन र धार्मिक चित्र बनाउन सकिन्छ । यसो गर्नाले घरको आकर्षण थप बढ्छ ।
तिहारको समय मखमली, सयपत्री, गोदावरीलगायत फूल र झल्लरको प्रयोगबाट पनि घरको आकर्षण थप राम्रो बनाउन सकिन्छ । फूल र झल्लरका डोरी घरको झ्याल, ढोकामा सजाउन सकिन्छ ।
त्यसैगरी घरमा भएका फर्निचर सरफाइ गरेर भुइँमा ओच्छ्याइएका कार्पेट परिवर्तन गर्दा कोठाको आकर्षण थप बढ्ने गर्दछ ।