ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आधुनिक भवन निर्माणका मापदण्ड

२०७८ कार्तिक, १२  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आधुनिक भवन निर्माणमा आर्किटेक्चर विधाका मुख्य तीन विषय महत्वपूर्ण मानिन्छन् । यिनै मुख्य कुराको आधारमा भवन निर्माणको नक्सांकन गरिन्छ । यसो गरिए भवनलाई आरामदायी, बलियो र सुन्दर बनाउन सहयोग गर्छ । यी विषयबारे ज्ञान हुँदा भविष्यमा निर्माण गरिने भवनबाट जीवनभर ढुक्क हुन सकिन्छ ।

प्रयोग गर्न सजिलो
भवन प्रयोगको हिसाबले सजिलो हुनुपर्दछ । एक पटक भवन निर्माण गरेपछि पटक–पटक बनाउन र परिवर्तन गर्न सकिँदैन । अन्य प्रयोगका वस्तु बदल्न सकिन्छ तर भवन हत्तपत्त बदल्न सकिँदैन । त्यसैले भवन प्रयोगको हिसाबले सजिलो र आरामदायी हुनुपर्दछ । आयु लामो बनाउने क्रममा भवनलाई प्रयोग गर्न कठिन हुने गरी बनाइनुहँुदैन । भवन सबै सदस्यका लागि एकदमै सजिलो र आनन्दायक हुनुपर्दछ । बस्न, खान, सुत्न, भेटघाट गर्न सबै हिसाबले एकदमै मिलेको सेवादायक हुनु आवश्यक छ । एउटा सुविधायुक्त भवनमा खबर तथा सूचना प्राप्त गर्न टिभी च्यानल प्रयोग गर्न सकिने व्यवस्था हुनु आवश्यक छ ।

भान्सा कोठा खाना खाने कोठासँगै जोडिएको हुनुपर्छ । डाइनिङसँगै बैठक कोठा जोडिएको अति उत्तम मानिन्छ । पाहुना तथा घरका सदस्य भान्सामा जान सजिलो हुनुपर्दछ । झ्यालमा प्रकाश पुग्ने गरी राखिनुपर्दछ । आकाशबाट सीधै सूर्यको प्रकाश पस्ने गरी छानाको व्यवस्था हुनु आवश्यक छ । लुगा–कपडा राख्न आवश्यक व्यवस्था हुनु जरुरी छ । गाडी राख्ने ग्यारेजको उचित व्यवस्था र बाहिर बगैंचा एवं रुखले आकर्षण थप्छ । यी सबै आधुनिक भवनका आवश्यकता हुन् ।

बलियो र टिकाउपना
भवन राम्रो मात्र भएर हुँदैन । बलियो र टिकाउ हुनु आधुनिक भवनको प्रमुख विशेषता हो । वास्तुशास्त्रमा भवनको आयु हजार वर्ष रहेको उल्लेख गरिएको छ । भवन पुस्तौंका लागि परिकल्पना गरेर निर्माण गरिन्छ । तर, त्यसका लागि आवश्यक निर्माण सामग्री गुणस्तर भएर मात्र पुग्दैन, तालिम प्राप्त र अनुभवी मिस्त्री हुनु त्यत्तिकै आवश्यक हुन्छ । यति मात्र होइन, कतिपय निर्माण कार्यमा समेत उत्तिकै ध्यान दिन आवश्यक पर्छ । जस्तो, काठपातमा पानी प¥यो भने छिटो कुहिन्छ । डन्डीलाई चिसोबाट बचाउनुपर्छ । डन्डीमा चिसो पस्यो भने खिया लाग्छ र छिट्टै बिग्रने हुन्छ । पानी म्वाइस्चर, रुखका जरा र जगमा पानीका स्रोत हुनु भवनका आयु प्रतिकूल हुन् । यसबाट बच्नु नै भवनको सुरक्षा गर्नु हो र आयु लम्ब्याउनु हो ।

सुन्दरता
भवनको सुन्दरता पनि महत्वपूर्ण पक्ष हो । त्यही मानिस सजिसजाउ भयो भने राम्रो देखिन्छ । लुगा सफासुग्घर भयो भने असुन्दर पनि राम्रो देखिन्छ । त्यस्तै, भवन पनि रङरोगन र बाहिरी सजावटले निकै आकर्षक देखिन्छ । फूल बगैंचाको पनि भवनमा महत्वपूर्ण भूमिका रहन्छ । फूल बगैंचा भवनका गहना हुन् । सफासुग्घर तरिकाले सजाइएको भवनको आभा मण्डल आकर्षक देखिन्छ । वरिपरि फोहोर गरेको, जथाभावी लुगा सुकाएको, झगडा भइरहेको र सामान यत्रतत्र फालिएको भवन सुन्दर देखिन्न । भवनलाई आकर्षक र सुन्दर देखाउने कार्यमा बाहिरी र भित्री सजावटको प्रमुख भूमिका रहेको हुन्छ । कुनै पनि वस्तु भएर मात्र राम्रो हुँदैन । त्यसलाई आकर्षक ढंगले मिलाउनाले सुन्दरता थप्छ । यो कार्य आर्किटेक्चर र सजावटसम्बन्धी ज्ञान भएका अनुभवी एवं दक्ष कामदारको सहयोगले मात्र सम्भव हुन्छ ।

वास्तु विधान पुस्तकका लेखक डा. प्रेमराज न्यौपानेले आधुनिक भवनका प्रमुख विशेषताको रूपमा प्रयोगमा सजिलो, बलियोपना र सुन्दरतालाई आकर्षक ढंगले व्याख्या विश्लेषण गरेका छन् । उनको निचोडअनुसार आधुनिक भवन हुन यी तीन प्रमुख विशेषता अति आवश्यक रहेकामा जोड दिएका छन् ।

इञ्जिनियर तिलक बानिया पनि आधुनिक भवन बलियो र आकर्षक हुनुपर्ने कुरासँग सहमत छन् । त्यसैले निष्कर्षमा के भन्न सकिन्छ भने भवन निर्माण गर्दा खर्च कम गर्ने लालसामा कमजोर, असुविधायुक्त र असुन्दर बनाउनु दुःखकष्ट गरी जीवन गुजारा गरेजस्तै हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)