उज्यालोको चाड तिहारका लागि २० करोड रुपैयाँ बराबरको झिलीमिली बत्ती आयात भएको छ । हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहार र छठलाई लक्षित गर्दै व्यापारीले उक्त परिमाणमा झिलीमिली बत्ती आयात गरेका हुन् ।
नेपाल विद्युतीय व्यवसायी संघका अनुसार नेपालमा विशेषगरी भारत र चीनबाट झिलीमिली बत्ती आयात हुने गरेको छ । यसमध्ये करीब ८५ प्रतिशत चीन र बाँकी १५ प्रतिशत बत्ती भारतबाट ल्याइने गरेको छ । तिहारका बेला साधारण बल्बको विक्री पनि दुई गुणाले बढ्ने गरेको व्यवसायी बताउँछन् । दशैं सकिएलगत्तै सबैले आफ्नो घर, बगैंचा, कार्यालय, व्यापारिक मललगायत स्थानमा विभिन्न रङमा बल्ने बत्तीहरू लगाएर झिलीमिली पार्ने हुुनाले तिहारका बेला यस्ता बत्तीको माग अधिक हुने गर्छ ।
संघका अनुसार सामान्यतया तिहार र छठका लागि नेपालमा करीब ३० करोड रुपैयाँ बराबरको झिलीमिली बत्ती आयात हुने गरेको छ । अघिल्लो वर्षको मौज्दातसमेत जोडेर तिहार र छठ अवधिभरमा ४० करोड रुपैयाँ बराबरको कारोबार हुने देखिन्छ । यद्यपि यस वर्ष अघिलो वर्षको मौज्दातसमेत नभएकाले १५ करोड रुपैयाँले कारोबार घटेर २५ करोडमा सीमित हुने अनुमान गरिएको संघ अध्यक्ष सुदर्शनप्रसाद पौडेलले आर्थिक अभियान दैनिकलाई जानकारी दिए । विदेशबाट आयात गर्नुपर्ने भएकाले तिहार आउनु करीब ३ महिनाअघिदेखि आयातका लागि व्यापारीले अर्डर निश्चित गर्नुपर्दछ । तर, कोरोना महामारीको त्रास अझै कम नभइसकेकाले यस वर्ष आयात घटेको बताइएको छ । एनका अनुसार अघिल्लो वर्ष पनि महामारीको त्रासका कारण व्यापार कम हुुने देखिएपछि व्यापारीले करीब १८ करोड रुपैयाँ बराबरको झिलीमिली बत्ती भित्र्याएको तथ्यांक छ । यस वर्ष अघिल्लो वर्षको तुलनामा आयात २ करोडले बढे पनि व्यापार भने खासै उत्साहजनक नदेखिएको उनले बताए । ‘महामारीका कारण अघिल्लो वर्ष समग्र विद्युतीय सामग्रीको व्यापार करिब ६० प्रतिशतले घटेको थियो भने झिलीमिली बत्तीको व्यापार करिब ३५ देखि ४० प्रतिशतमा खुम्चिएको थियो । यस वर्ष पनि तिहार केन्द्रित बत्ती व्यापार ५० प्रतिशत हाराहारी भइरहेको छ । यसलाई खासै उत्साहजनक मान्न सकिँदैन,’ उनले भने । महासंघमा ३५ सय व्यवसायी आबद्ध छन् ।