ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धन–सम्पत्ति जोरजाम गर्ने मनोकांक्षाले बढ्दै सुखरात्रिको महत्त्व

२०७८ कार्तिक, १६  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गोकुल अर्याल

नेपालको दोस्रो ठूलो चाड तिहार । नेपालमा यो पर्व नेपाली हिन्दू पात्रोअनुसार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरू भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म ५ दिन मनाउने चलन छ । धनधान्यकी प्रतीक मानिने लक्ष्मीको पूजा गरी घरभरि दियो बालेर तिहार पर्व मनाइन्छ । तिहारलाई यमपञ्चकको रूपमा मानिने गरेको छ ।

तिहारलाई उज्यालो पर्वको रूपमा पनि मनाउने चलन छ । वर्षका चार महत्त्वपूर्ण रातमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ । यो दिन शहरबजारका घरघरै गई भैलो खेल्ने चलन छ । तिहारका पाँचै दिन महत्त्वपूर्ण हुने भए पनि लक्ष्मीपूजाको दिनदेखि यो पर्व विशेष खुसीयालीसहित मनाउने चलन छ । नेपालको सन्दर्भमा राणाकालमा पाँच दिनसम्म टुँडिखेलमै जुवा खेलाइने गरेको इतिहास एवं संस्कृतिविद् हरिराम जोशी बताउँछन् । उनी भन्छन्, ‘राणाकालीन समय तिहार पर्व पाँचै दिन मनाइन्थ्यो । काठमाडौं खाल्डोका नागरिक राणाको बोलावट भएपछि टुँडिखेलमा हाजिर हुनैपर्थ्यो ।’ यद्यपि हाल जुवातास कानूनी रूपमा वर्जित भए पनि खेल्ने र खेलाउने गरिन्छ ।

तिहारमा कात्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । काग सर्वभक्षी प्राणी भएको र अन्नबालीमा लाग्ने कीरा–फट्यांग्रा खाइदिने हुँदा पूजा गर्ने चलन रहेको हुन सक्ने जोशी बताउँछन् । कागलाई यमराजको दूत पनि मानिने भएकाले सम्मानस्वरूप यसको पूजा गर्ने धार्मिक मान्यता छ ।

यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । यसबारे पनि विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहेका छन् । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यो दिन कुकुरलाई टीका तथा माला लगाएर मीठो भोजन खुवाउने चलन छ । तिहारको चौथो दिन धूमधामले लक्ष्मीको पूजा गर्ने चलन छ । यो दिन घर सफासुघ्घर गरेर लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई धनकी देवी मानिन्छ । गाईलाई लक्ष्मीको प्रतीक मानेर यिनको पूजा गरिन्छ । यो दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वासमा खुशी मनाउन दीपावली गर्ने प्रचलन बसाइएको विभिन्न धर्मग्रन्थमा उल्लेख रहेको संस्कृतिविद् जोशी बताउँछन् । पछिल्लो समय लक्ष्मी अर्थात् धन–सम्पत्ति जोरजाम गर्ने मनोकांक्षासहित हुनेखानेले थप धनार्जन गर्न र विपन्नले धन कमाउन सकियोस् भन्ने लालसामा भक्तिपूर्वक लक्ष्मीको पूजा गर्छन् । यो रात लक्ष्मी आकाशमा घुमफिर गर्ने हुँदा भक्तलाई ऐश्वर्य, सुख शान्ति दिने विश्वासका साथ मानिसहरू रातभर जाग्राम बस्छन् । तिहारको चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन गाईको पूजा गरिन्छ । हिन्दू धर्ममा गाईलाई आमासमान मानेर पुज्ने गरिन्छ । गाई पूजाका दिन गोवद्र्धन पर्वत तथा बलि राजाको पूजा हुन्छ ।

गाईको गोबरको पर्वत तथा कुण्ड बनाएर श्रद्धा र भक्तिका साथ गोवद्र्धन पूजा गरिन्छ । यो दिन भगवान् विष्णुका भक्त इन्द्रशत्रु राजा बलिको पूजा गरेर लक्ष्मीलाई खुशी पारिन्छ । यो दिन गोरुको पनि पूजा गर्ने चलन छ । तिहारको महत्त्वपूर्ण दिन भाइटीका । कात्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइको अटल सौभाग्यको कामनासहित टीका लगाइदिन्छन् । यो दिन दिदीबहिनीले यमदूत, सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गरेर त्यसको प्रसाद दाजुभाइलाई लगाइदिने परम्परा छ । सप्तरंगी टीकाका साथ दुबो, मखमली तथा सयपत्री र गोदावरीको माला लगाइदिन्छन् । ओखर फुटाएर दाजुभाइको दीर्घायुको कामनासहित टीका लगाएपछि मिठाई, फलफूल तथा मसलाको उपहार दिने चलन छ । दाजुभाइले पनि दिदीबहिनीलाई विभिन्न उपहार तथा दक्षिणा दिन्छन् ।

संस्कृतिविद् जोशीका अनुसार यो दिन भाइलाई लिन आएका यमदूतलाई दिदीले रोकेर काल टारेको प्रसंग पनि जोडिएको छ । भाइटीकाको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजलाई बोलाउने, ओखर, तेल, बिमिरो, मखमलीको माला, दुबोको टीकालगायत प्रयोग गरिनु दिदीबहिनी र दाजुभाइको सुख, आरोग्य एवं दीर्घायुको कामना गर्ने परम्परासँग गाँसिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)