ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

झिलीमिली तिहार : माटाका पाला बनाउने चटारो

२०७८ कार्तिक, १६  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

हिन्दू नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार हर्षोल्लासपूर्वक मनाइन्छ । झिलीमिली बत्ती, देउसी–भैलो, विभिन्न पशुपन्छीको समेत पूजाआजा गरी मनाइने यो पर्वमा खासगरी माटोमा पालामा बत्ती बाल्ने चलन छ । पालामा तेल राखेर बाल्ने दियो धेरै बेरसम्म बल्ने गर्छ । यसैले पनि यसको विशेष महत्त्व छ ।

तिहार नजिकिएसँगै यतिबेला भक्तपुरका प्रजापति समुदायलाई पालासहित माटाका भाँडा बनाउन भ्याइनभ्याइ छ । दरबार भक्तपुर स्क्वायर, थिमी, बोलाछेँ, ब्यासीलगायत स्थानमा तिहारका लागि आवश्यक पर्ने पालासहित माटाका भाँडा बनाइँदै गरेको देख्न सकिन्छ । तिहारको माहोल शुरू भएसँगै काठमाडौं उपत्यकामा माटोको सामानका लागि प्रख्यात भक्तपुरका कुम्हाल समुदायका मानिस दिनरात पालासहितका सामान बनाउन व्यस्त छन् । एकजनाले राम्रोसँग काम गर्दा दिनमा १ हजार ओटासम्म पाला बनाउन सक्ने बताइन्छ ।

तिहारमा पाला बनाएर बेच्नेले ५०–६० हजारसम्म कमाउने गरेको सम्बद्ध व्यवसायीको अनुभव छ । तिहारमा पाला मात्र नभई कलश, धुपौरो आदि पनि राम्रै विक्री हुने गरेको छ । साधारणतया पाला चार प्रकारको हुन्छ । सबैभन्दा सानो पालाको १०० ओटाको २०० रुपैयाँ पर्छ । त्यस्तै त्यसभन्दा ठूलाको प्रतिगोटा क्रमशः १०, १५ र २० रुपैयाँ पर्दछ । कतिपयले आगोमा नपोलेको पाला लैजाने गरेका छन् । त्यसको तीनओटाको ५ रुपैयाँ पर्छ । कतिपयले काँचो पालालाई चोखो मान्ने गरेको व्यवसायी बताउँछन् ।

पाला बनाउन झञ्झट हुने र कमाइ पनि तुलनात्मक रूपमा कम हुने भएकाले पछिल्लो समय यस समुदायका युवा पालाभन्दा अन्य सामग्री बनाउनेतर्फ आकर्षित हुन थालेका छन् । माटोको भाडो बनाउन झन्झटिलो हुने भएकाले पछिल्ला पुस्ताले विस्तारै यो पेशा छोड्दै गएको विगत ५४ वर्षदेखि माटोको भाडा बनाउँदै आएका ७० वर्षीय नरेशभक्त प्रजापति बताउँछन् । एक पाला बनाउने अर्का व्यवसाय सञ्जय प्रजापतिका अनुसार पाला बनाउनेहरू पलायन हुनुको प्रमुख कारण व्यवसाय समय अनुकूल फस्टाउन नसक्नु नै पनि हो ।

‘महँगी दिनप्रतिदिन बढिरहेको छ, सानो छँदा हामी यहीँ नजिकैबाट पालाका लागि आफैमाटो झिकेर ल्याउँथ्यौं, अहिले माटो उपत्यकामा नपाए दाङबाट ल्याउनुपर्ने बाध्यता छ । माटो खोज्दै उपत्यका बाहिर पुग्दा भाउ पनि स्वतः बढेको छ । तर विगत केही वर्षदेखि पालाको मूल्य बढ्न सकेको छैन । माटोको मूल्य बढ्दा पालाको मूल्य यथावत् रहँदा हामीले घाटा समेत बेहोर्नुपरेको छ,’ उनले भने । तर माटोको भाँडा बनाउन अहिले प्रविधिको सहयोगले अहिले धेरै सहज भएको उनको अनुभव छ । छिटो छरितो रूपमा माटोको भाँडा बनाउन हातले घुमाउनुपर्ने चक्रको सट्टा अहिले विद्युतीय चक्रको प्रयोग हुन थालेको छ ।

‘पहिले–पहिले माटो खुट्टाले फुटाइन्थ्यो । अहिले त्यसका लागि मेशिन प्रयोग गरिन्छ, त्यसपछि भाडा बनाउन चक्र हातले घुमाउनपथ्र्यो, तर अहिले मोटर प्रयोग गरिन्छ,’ प्रजापतिले भने । सबै चीज सहज भए पनि यो पेशामा भविष्य नदेखेर युवाले अन्य काम रोज्ने गरेका छन् ।

व्यवसायीका अनुसार तिहारको समयमा माटोको पालाको माग अत्यधिक हुने गरेको छ । तिहारमा मैनबत्ती बाल्ने प्रचलन पनि उत्तिकै छ । तर केही वर्षयता मैन भरेको पाला बाल्ने चलन पनि बढेको छ । सुरक्षाको दृष्टिकोणले समेत  पाला राम्रो मानिन्छ । यही कारण यसको माग बढेको सम्बद्ध व्यवसायी बताउँछन् ।

तिहारका लागि माटोका पाला, भिउँट, ठेकी, धुपौरो लगायत सामग्रीको माग समेत उच्च हुने गरेको छ । तिहारमा तेलबत्ती बाल्न माटोको पालाको अत्यधिक माग धान्न सपरिवार काममा खटिरहेको कुम्हाले समुदाय बताउँछन् । समाज आधुनिकीकरणतर्फ उन्मुख हुँदै गए पनि कृत्रिम पालाले माटोको पालालाई विस्थापित गर्न नसकेको उनीहरूको भनाइ छ ।

तिहारमा खासगरी पाला, धुपौरो, खुत्रुके किन्नेहरू पनि बढी हुन्छन् । ठूलो परिमाणमा चाहिने माटाका सामग्री किन्न काठमाडौं, ललितपुर, काभ्रेलगायत जिल्लाका मानिस समेत भक्तपुर पुग्ने गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)