मदन लम्साल
अध्यक्ष, न्यू बिजनेश एज
स्टार्टअप उद्यमशीलताको लहर संसारभर तीव्ररूपमा फैलिरहेको छ । नेपालमा पनि यो लहरले विस्तारै गति लिँदै छ । केही स्टार्टअपका रूपमा शुरू भएका व्यवसाय हाल सफल रूपमा अघि बढेका छन् । चाँडै सर्वसाधारणमा शेयर जारी गर्ने तयारीमा पनि छन् । यस प्रक्रियामा सघाउनु यस कार्यक्रमको उद्देश्य हो ।
सफल स्टार्टअप उद्यमहरूलाई पुरस्कृत गर्दा यस्ता उद्यमीहरूलाई मात्र होइन, अन्य युवाहरूलाई उद्यमी बन्न र त्यसमार्फत देशको अर्थतन्त्रमा टेवा पुग्न सक्छ । सरकार तथा वित्तीय क्षेत्र, अन्तरराष्ट्रिय सहयोग संस्थाहरू एवं नेपाल उद्योग वाणिज्य महासंघ, नेपाली युवा उद्यमी मञ्च जस्ता उद्योग वाणिज्य क्षेत्रका राष्ट्रिय संस्थाहरूले पनि यसमा विभिन्न प्रयास गरिरहेका छन् । ती प्रयास धेरै हदसम्म सफल पनि भएका छन् । तैपनि जुन तीव्रताका साथ यसमा विकास हुनुपर्ने हो, त्यो अझै भइरहेको छैन । यस कार्यक्रमले ती प्रयासमा केही सहयोग पुग्ने अपेक्षा गरेका छौं । न्यू बिजनेश एजले उत्कृष्ट स्टार्टअपहरू छनोट गरेर उनीहरूलाई सम्मान गर्न सन् २०१७ देखि नै थालेको हो । विगतका वर्षमा यस्तो सम्मान ‘न्यूबिज बिजनेश कन्क्लेभ एन्ड अवार्ड्स’को हिस्सा थियो । तर स्टार्टअप उद्यमशीलताको बढ्दो महत्त्व तथा यसको छुट्टै विशिष्टताका कारण यसलाई भिन्नै कार्यक्रमको रूपमा गर्नु उपयुक्त हुने महसूस भयो । सोही अवधारणा अनुसार यो कार्यक्रम आएको हो ।