काठमाडौं । दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिङले स्टार्टअप उद्यमीहरूले संसार नै परिवर्तन गर्न सक्ने बताएका छन् । इच्छाशक्ति र साहस भएका स्टार्टअपहरूले परिवर्तन ल्याउन सक्ने उनको भनाइ छ । न्यू बिजनेश एज प्रालिद्वारा आयोजित ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स’ कार्यक्रममा विशेष मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् ।
स्टार्टअपहरूले संसार परिवर्तन गर्न सक्नेमा आफू पूर्णरूपमा विश्वस्त रहेको उनको भनाइ छ । ‘मलाई विश्वास छ, स्टार्टअपहरूले व्यावसायिक जगत्मा ठूलै परिवर्तन ल्याउन सक्छन्, मैले यो कुरा आफ्नै देश (जर्मनी)बाट सिकेको हुँ,’ उनले भने, ‘सम्भवतः जर्मनी विश्वमै सबैभन्दा बढी स्टार्टअप भएको देश हो । त्यहाँ स्टार्टअपहरूले साँच्चै नै परिवर्तन ल्याएका छन् ।’
दराज पनि स्टार्टअपजस्तै सानो कम्पनीबाट कर्पाेरेट कम्पनीको रूपमा स्थापित भएको उनको भनाइ छ । ‘हामीले विदेशी लगानीका साथ २०१४ मा रकेट इन्टरनेट नामक सानो कम्पनी सञ्चालन गरेका थियौं । पछि दराज २०१८ मा अलिबाबालाई विक्री गरेका हौं,’ उनले भने, ‘त्यो नै स्टार्टअप कम्पनीबाट कर्पाेरेट कम्पनीमा रूपान्तरण हुने माध्यम हो ।’ दराज एउटा अनलाइन व्यापार कम्पनी मात्रा नभएर इकोसिस्टम निर्माता पनि भएको दाबी समेत उनले गरे ।
नेपालमा स्टार्टअपहरूले अपेक्षित रूपमा गति लिन नसकेको उनले बताए । नेपालमा स्टार्टअपको संख्यात्मक वृद्धि देखिए पनि गुणात्मक विकास भने नदेखिएको उनको भनाइ छ । यहाँको स्टार्टअप व्यवसायमा विदेशी लगानी आकर्षित नहुँदा यस्तो समस्या भएको उनको बुझाइ छ ।
‘नेपालमा उत्कृष्ट आइडिया भएका स्मार्टअप उद्यमीहरू छन् । त्यसको कार्यान्वयनका लागि ठूलो बजार पनि छ, तर वित्तीय स्रोतको कमी छ,’ उनले भने, ‘त्यसैले विदेशी लगानी आकर्षण गर्न एफडीआई सम्बन्धी कानून लगानीकर्तामैत्री बनाउन आवश्यक छ ।’
स्टार्टअप क्षेत्रमा स्थानीय लगानीको पनि उत्तिकै महत्त्व रहेको उनले बताए । तर, लगानीकर्ताले तत्काल प्रतिफलमा बढी अपेक्षा गर्न नहुने उनको भनाइ छ । साथै, स्टार्टअप विकासका लागि दीर्घकालीन योजनाको खाँचो पनि उनले दर्शाए । न्यूबिजले आयोजना गरेको उक्त कार्यक्रमले लगानीकर्ता, स्टार्टअप उद्यमी र सरोकारवालालाई एकै ठाउँमा ल्याउन सहयोग गरेको उनले बताए ।
कार्यक्रममा जिनेस सोलुसनका ग्लोबल सीटीओ अञ्जनी फुयालले सिलिकन भ्याली लगायतका स्टार्टअपलाई नेपाल काम गर्ने गन्तव्य बन्न सक्ने बताए । तर, यसका लागि सरकारले डिजिटलाइजेसनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । तब मात्र विश्वव्यापी कम्पनी र लगानीकर्ता नेपालमा आकर्षित हुन सक्ने उनले बताए ।
विश्वविद्यालयहरूले क्लाउड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मेसिन लर्निङ, बिग डेटा, डिजिटलाइजेशन लगायतका अत्याधुनिक पाठ्यक्रम अपनाउनुपर्नेमा उनले जोड दिए । विज्ञान र प्रविधिको आजको विश्वमा यस्ता काम गर्न अनिवार्य भइसकेको उनले बताए ।
यसैगरी स्टार्टअपको सफलताका लागि डिजिटलाइजेसन महत्त्वपूर्ण माध्यम भएको उनले बताए । नेपालमा यसका लागि इकोसिस्टमको अभाव रहेकोमा अब निर्माण गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।
कार्यक्रममा उनले विश्वव्यापी स्तरमा स्टार्टअपहरूले पाउनुपर्ने फाइदाका बारेमा पनि चर्चा गरे । बेलायतले संकटको समयमा एक वर्षभन्दा बढी समयसम्म व्यवसायलाई निरन्तरता दिन कर्मचारीको तलबको ९० प्रतिशतसम्म आर्थिक सहयोग गरेको उनले स्मरण गरे । बेलायतमा रहेका स्टार्टअपलाई केही घण्टामै ‘बाउन्स ब्याक लोन’ उपलब्ध गराइएको सुनाउँदै उनले नेपालमा पनि यस्तो सुविधा उपलब्ध हुनुपर्नेमा जोड दिए ।
यस्तै, उनले नेपालको नीति निकै कठोर भएको पनि बताए । ‘विदेशमा रहेका स्टार्टअपका लागि ट्यालेन्ट पुल र आपूर्ति सहज हुन्छ । तर, नेपालमा स्टार्टअपलाई सहज हुने नीति अझै पर्याप्त मात्रामा आएको छैन,’ उनले भने, ‘सरकारको नीतिले स्टार्टअपलाई विदेशी लगानीकर्ताबाट लगानी लिन कठिन छ । यसअघि हामीसँग ५० लाख रुपैयाँको लगानी सीमा थियो, जुन आफैमा धेरै थियो । अहिले सो सीमा झन् बढाएर गलत गरिएको छ,’ उनले भने, ‘अब एफडीआईको सीमामा केही परिमार्जन गर्न आवश्यक छ ।’
यसैगरी नेपालमा उत्पादनमूलक भन्दा पनि सेवामूलक व्यवसाय गर्दा लाभदायी हुने उनले बताए । ‘नेपाल भूपरिवेष्ठित देश भएकाले उत्पादनभन्दा सेवा क्षेत्रहरूमा काम गर्दा राम्रो हुन्छ । त्यसका लागि प्रविधिको विकास महत्त्वपूर्ण छ,’ उनले भने, ‘प्रविधिमा लगानी र प्राविधिक शिक्षा आवश्यक छ । शैक्षिक पाठ्यक्रममै प्राविधिक शिक्षा समेट्नुपर्छ ।’