महाप्रसाद अधिकारी
गभर्नर, नेपाल राष्ट्र बैंक
स्टार्टअप नयाँ जोश जाँगरका साथ शुरू गरिन्छ । तर त्यसको प्रतिफल अलि अनिश्चित हुने गर्छ । ठूला घराना, समूहले पनि अहिले नेपालमा स्टार्टअपहरूलाई आफ्नो प्रतिस्पर्धीका रूपमा लिने गरेका छन् । जस्तै, शेयर राइडिङ शुरू भयो, ट्याक्सीहरूले हड्ताल थाले । यसले नयाँ स्टार्टअपहरूलाई केही निराश पनि बनायो । तर पछिल्लो समय स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने काम पनि भइरहेको छ ।
कर कार्यालय, उद्योग विभागदेखि कम्पनी रजिष्ट्रारको कार्यालयहरूको काम कारबाही सुधार हुँदै गएका छन् । स्टार्टअपहरूलाई सघाउनेगरी नै उनीहरूले काम गरेका छन । स्टार्टअपहरूले शुरू गर्न थालेका उद्यमलाई राज्यका नीति नियमले असर पारेको छ भने समाधान गर्न राज्यका सबै संयन्त्र तयार छन् । हाम्रो काम नव उद्यमीलाई प्रोत्साहन, प्रवद्र्धन गर्ने हो । उद्यम स्टर्टअपहरूले नै गर्ने हो, सरकारले होइन ।
कोभिडको बीचमा पनि साहसका साथ उद्यम क्षेत्रमा केही गर्छु भनी आउनेहरूको म सराहना गर्दछु । एउटामा असफल भए पनि अर्कोमा सफल हुन सकिन्छ । यस्तोमा हिम्मत नहार्नुहोला । अहिले कतिपय सरकारी कार्यालयमा जाँदा निराशा हुन सक्छ । त्यसबाट नव उद्यमीहरू पछि नहट्नुहोला । किनकि विकसित मुलुकको जस्तो प्रणाली अझै पनि हाम्रोमा छैन । हामी प्रयास गरिरहेका छौं । कतिपय कुराहरू परिवर्तन भएको पनि पाउनुहुन्छ । जस्तै– एफडीआईकै स्वीकृतिमा हामीले ‘अटोमेटेड’ प्रणाली बनायौं । यसको स्वीकृतिका लागि राष्ट्र बैंकमा आउनु पर्दैन । यो नीतिगत व्यवस्था ल्याउने बेला धेरैसँग परामर्श पनि गरिएको थियो । अहिले डलर नपाइने कुरा पनि उठिरहेको छ । तर यसमा खासै सीमा हेरफेर गरिएको छैन । एक्सेस टु फाइनान्सको सम्बन्धमा आधार दरमा २ प्रतिशतभन्दा बढी नलिनु नै भनेर निर्देशन नै जारी गरेका छौं । साना मझौला, नवस्टार्टअपहरूका लागि सहज होस्, सहजै पहुँच पुगोस् भनेरै यसो गरिएको हो । जसले बार्गेनिङ गर्न सक्दैन, त्यसैका लागि यो व्यवस्था गरिएको हो । यसले स्टार्टअपहरूलाई सघाउ पुग्नेछ । सही प्रपोजल हुँदा पनि कर्जा पाइएन भने हामीकहाँ जानकारी गराउनु होला । त्यस्ता गुनासोहरूलाई समाधान गर्न लाग्नेछौं ।