मंसिर १८, काठमाडौं । यो साता नेप्से परिसूचक ५ दशमलव ३३ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीवार २ हजार ७३१ दशमलव ७८ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन बिहीवार २ हजार ५८६ दशमलव १९ विन्दुमा झरेको हो । यो साता पाँच कारोबार दिनमा बजार एक कारोबार दिन मात्र बढेको छ ।
पहिलो कारोबार दिन ८० दशमलव २९ अंक घटेको बजार दोस्रो दिन २१ दशमलव ४८ अंक र तेस्रो दिन १ दशमलव ६४ अंक घटेको हो । चौथो दिन ५ दशमलव २८ अंकले बढेको बजार अन्तिम पाँचौ दिन भने ४७ दशमलव ४७ अंकले घटेको हो ।
गत साता शुक्रवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै मार्जिन कर्जाको सीमाका सम्बन्धमा पुरानै व्यवस्था कायम गरेको थियो ।
लगानीकर्ताहरुले मार्जिन कर्जाको रू. ४ देखि रू. १२ करोडको सीमा खारेज गर्नुपर्ने माग गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकले साना लगानीकर्ताहरुलाई राहत स्वरुप मार्जिन कर्जाको सीमा तोकेको थियो । जसका कारण बजार प्रभावित बन्दै आएको छ ।
सूचीकृत कम्पनीहरुले प्रस्ताव गरेका आकर्षक लाभांशको बावजुत पनि बजारले गति लिन नसक्नुमा लगानीकर्ताहरु अन्योलको अवस्थामा रहेको बुझ्न सकिन्छ । बजार सञ्चालक र नियामक निकाय लामो समयदेखि प्रमुख बिहीन बन्दा नयाँ नीतिगत व्यवस्थाहरु नआउनुले पनि मनोबल बढ्न नसकेको लगानीकर्ताहरु बताउँछन् ।
नेप्से परिसूचक २ हजार ६०० विन्दु तल झर्दा दोस्रो बजारको कुल बजार पूँजीकरण पनि रू. ३६ खर्ब ३५ अर्ब ७६ करोड ४३ लाखमा खुम्चिएको छ । गत सातासम्म कुल बजार पूँजीकरण रू. ३८ खर्ब ३४ अर्ब ४८ लाख रहेको थियो । गत साताभन्दा यो साता कुल बजारपूँजीकरण रू. १ खर्ब ९८ अर्ब २४ करोडले घटेको छ ।
समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । गत साता ५१५ दशमलव ६५ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४८७ दशमलव २८ विन्दुमा झरेको हो ।
यो साता शेयर कारोबार कित्ता बढेपनि कारोबार रकम भने घटेको छ । गत साता रू. २० अर्ब ४५ करोड ९५ लाख ९२ हजार बराबरको ३ करोड ७८ लाख ४० हजार १४६ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. १९ अर्ब ८ करोड ८७ लाख ८९ हजार बराबरको ३ करोड ९८ लाख १९ हजार ४१९ कित्ता शेयर कारोबार भएको छ ।
गत साताभन्दा यो साता कारोबार रकम रू. १ अर्ब ३७ करोड ८ लाख ३ हजारले कम भएपनि कारोबार कित्ता भने १९ लाख ७९ हजार २७३ बढी भएको हो ।
यो साताको बजारका सूचकहरुको अवस्था :
स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तनको अवस्था :
स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
यो साता गत साताको तुलनामा समूहगत सबै परिसूचकहरु घटेका छन् । यो साता विकास बैंक समूहको परिसूचक सर्वाधिक ९ दशमलव शून्य ८ प्रतिशत घटेको छ ।
त्यस्तै, होटल्स तथा पर्यटनको ८ दशमलव ९५ प्रतिशत, व्यापारिकको ७ दशमलव १५ प्रतिशत, जीवन बीमाको ६ दशमलव ५३ प्रतिशत, वित्तको ६ दशमलव ४८ प्रतिशत, उत्पादन तथा प्रशोधनको ६ दशमलव ३१ प्रतिशत, लगानीको ६ दशमलव २७ प्रतिशत, अन्यको ५ दशमलव ९९ प्रतिशत, जलविद्युतको ५ दशमलव ७३ प्रतिशत, लघुवित्तको ५ दशमलव ३१ प्रतिशत, निर्जीवन बीमाको ५ दशमलव १३ प्रतिशत, बैंकिङको ३ दशमलव ७८ प्रतिशत र म्युचुअल फण्डको २ दशमलव ५१ प्रतिशत परिसूचक घटेको हो ।