काठमाडौं । मनाव समुदायले दिनप्रतिदिन हासिल गर्दै गएको प्रगति र प्रविधिको सहज उपलब्धताबाट नेपाल पनि अछुतो छैन । सञ्चार तथा प्रविधिमा भएको विकासको परिणाम हिजोआज सहरमा मात्र होइन, दुर्गम गाउँठाउँमा समेत सबैका हातमा क्यामेरा जडित स्मार्टफोन हुनुले दैनिकीमा घट्ने जुनसुकै घटनालाई तत्काल तस्बिरमा कैद गर्न सक्छौं । विशेष कारणबाहेक फोटो खिच्न पुराना दिनमा जस्तो क्यामेरा र फोटोग्राफर खोज्नुपर्ने जमाना अहिले छैन । घरिघरि खिचिने फोटा सामाजिक सञ्जालमार्फत प्रस्तुत गर्ने अर्को आमचलन छ । हाम्रा फोटाहरू हाम्रै जीवनका ऐना हुन्, तिनलाई सामाजिक सञ्जालमा मात्र नभई घरको उचित स्थानमा राख्न (प्रदर्शन गर्न) सके त्यसले घरको शोभा बढाउन मद्दत गर्दछ ।
घरमा प्रदर्शित फोटो तथा वस्तुले उक्त घरपरिवारको समग्र व्यक्तित्वको बखान गरिरहेको हुन्छ । तसर्थ हामीसँग भएकामध्ये छानिएका फोटोलाई घरको उचित स्थानमा प्रदर्शित गरेर उक्त फोटोमा कैद भएको क्षणलाई जीवन्त बनाउन सकिन्छ ।
हिजोआज दिनहुँजसो खिचिने हुँदा हामीसँग अनगन्ती फोटाहरू हुन सक्छन् । ती सबैलाई प्रिन्ट गर्ने र प्रदर्शित गर्न खर्च तथा स्थानको कारण व्यावहारिक हुँदैन । तर, व्यक्तिगत, पारिवारिक तथा सामाजिक दैनिकीमा घटेका महत्वपूर्ण घटना र स्मरणयोग्य क्षणका फोटोलाई छानेर हामी घरका भित्ता सजाउन सक्छौं । आफ्नो इच्छाअनुसार घरको उचित स्थान वा भित्तामा फोटो ग्यालरीकै रूपमा भित्ताभरि फोटो प्रदर्शित गर्न सकिन्छ । घरको उचित भाग जस्तै, शयन कक्ष, डाइनिङ कोठा, बैठक कोठा, भ¥याङका भित्ता आदिमा फोटाहरू राख्न सकिन्छ । ती स्थानमा फोटो प्रदर्शित गर्दा कस्ता फोटो कहाँ राख्दा राम्रो होला भन्ने निश्चित नियम वा सिद्धान्त भने पाइँदैन । यसर्थ, हामीले आफ्नो सौख र मन पर्ने विषयका फोटोलाई उचित स्थान चयन गरी प्रदर्शित गर्न सक्छौं ।
घरमूलीको शयन कक्ष (मास्टर बेडरुम) मा आफ्नो विवाह वा सपरिवारको फोटो वा व्यक्तिगत पोट्रेट फोटोहरू राख्न सके राम्रो हुन्छ । दिनको महत्वपूर्ण समय व्यतीत गर्ने शयनकक्षमा परिवार तथा जीवनको अविष्मरणीय क्षणको फोटोमा आँखा परिरहँदा मनमा सकारात्मक सोच रहिरहन मद्दत गर्न सक्छ भने अपरझट दुखी वा क्रोधित हुनपर्ने अवस्था आए पनि सम्हालिन सहयोग पुग्न सक्दछ । बैठक कोठा वा डाइनिङ कोठामा सपरिवारको सामूहिक फोटो, तक्मा तथा विशेष सम्मानपत्र, प्राकृतिक दृश्य, यात्रासँग सम्बन्धित फोटाहरू राख्न सकिन्न्छ । बैठक कोठामा पाहुना र आफन्त आउने हुँदा त्यहाँ सन्देशमूलक र प्रेरणादायी घटना सम्बन्धित फोटा भए आगन्तुक प्रभावित हुने, जिज्ञासु हुने, त्यही फोटो देखेर नयाँ विषयमा कुराकानी सुरु हुन सक्ने तथा तिनले समेत प्रेरणा लिन सक्छन् । तसर्थ, बैठक कोठामा फोटाहरू प्रदर्शित गर्दा विशेष ध्यान दिनु उचित हुन्छ ।
परिवारका अन्य सदस्यजस्तै केटाकेटीको कोठा वा तिनको अध्ययन कक्षमा उनीहरूको पढाइसम्बन्धी, पुरस्कार प्राप्त गरेको, अध्ययन गरिरहेको वा विद्यालय जाँदाको पहिलो दिनका फोटा राख्न सकिन्छ । यसबाट उनीहरूले पढाइमा अझ राम्रो गर्न प्रेरणा लिन सक्छन् ।
घरको भ¥याङसँगैका खाली भित्तामा प्राकृतिक दृश्य आदिको फोटो राख्नाले आगन्तुकलाई स्वागतको संकेतको काम गर्दछ । फोटोमा प्रदर्शित सुन्दर दृश्यले जोकोहीको मन बहलाउन मद्दत गर्दछ । पूजाकोठामा स्वाभाविक रूपमा भगवान्को फोटो, आफ्नो इष्टदेवता वा आफ्नो आध्यात्मिक विश्वासअनुसारको देवदेवी वा स्थानको फोटो राख्नु उपयुक्त हुन्छ । पूजाकोठामा राखिने फोटा आफूलाई थाहा नभएको अवस्थामा पुरेत वा विज्ञसँग सल्लाह लिई उचित स्थानमा उचित देवदेवीको फोटो राख्नले शास्त्रसम्मत भई यथोचित फल प्राप्त हुन मद्दत गर्न सक्छ ।
घरमा फोटो प्रदर्शनका लागि यकिन नियम नभएको हुदाँ धेरै कुरा आफैंमा भर पर्ने हुन्छ । माथि उल्लिखित विषयका अलावा आफ्नो पेसा, बाल्यकाल, पारिवारिक इतिहाससँग सम्बन्धित, काम वा अध्ययनका लागि टाढा–टाढा पुगेका परिवार सदस्यसँग सम्बन्धित फोटालाई पनि उचित स्थानमा राख्न सके पारिवारिक एकता थप मजबुत बनाउन तथा घरको शोभा बढाउन मद्दत गर्दछ ।
भित्तामा फोटो झुन्ड्याउनका लागि घरको भित्तामा प्वाल पार्नुपर्ने र सिमेन्टको भित्तामा त्यस्तो प्वाल पार्दा त्यति राम्रो नदेखिने हुन सक्छ । बजारमा सस्तैमा किन्न पाइने बलियो गमयुक्त फोटो झुन्ड्याउने हुक प्रयोग गरे अझ राम्रो हुन्छ ।
जेहोस्, घरका कोठा तथा उपलब्ध खुला भित्तालाई फोटोले सजाई आफ्नो घरलाई झन् जीवन्त र सुन्दर बनाउने अवसरबाट कोही पनि नचुकौं ।