ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रिफ्याब प्रयोगबाट कम लागतमै बनाउन सकिन्छ आकर्षक घर

२०७८ पौष, २  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एउटा आरसीसी भवन निर्माण गर्न इँटा, बालुवा, सिमेन्ट, डन्डी जुटाएर मात्र पुग्दैन । घर बलियो हुन दक्ष कामदारको पनि त्यत्तिकै आवश्यकता पर्छ । समय र कामदार बढी लाग्ने यसको प्रमुख समस्या हो । आरसीसी भवन निर्माण सिमेन्ट, बालुवा, गिटी, डन्डी जुटाएर गर्नुपर्ने र वाल, ढलान आदिमा कम्तीमा पनि एकादेखि तीन सातासम्म क्युरिङ गर्नुपर्छ ।

रंगरोगन गरिरहनुपर्ने यसको अर्को झन्झटिलो समस्या हो ।

यी सबै झन्झटबाट मुक्ति दिन्छ, प्रिफ्याबले । प्रिफ्याब घर बनाउन अति सजिलो, सस्तो, वातावरणमैत्री, छिटो र भूकम्प प्रतिरोधी छ । घर बनाउन चाहेको जग्गा इन्जिनियरलाई देखाउने । इन्जिनियरले स्टिमेट र डिजाइन गरेअनुसार सामानको अर्डर गर्ने । सामान डेलिभरीपछि फाउन्डेसन निर्माण गर्ने र फिटिङ कार्य सुरु हुन्छ । यसरी निर्माण गरिने घर कम समय र खर्चमै बनाउन सकिने विशेषतायुक्त छ ।

प्रिफ्याबसम्बन्धी सामान्य जानकारी
प्रिफ्याब भन्नाले सामान्य अर्थमा तयारी सामान वा पहिले नै बनेको (रेडिमेड) भनेर बुझ्न सकिन्छ । यसलाई अझ स्पष्ट रूपमा जान्न एस वाई नेपालका निरीक्षक चोई दोंग ईलको भाषालाई सापटी लिनु उपयुक्त होला । प्रिको अर्थ पहिलेको अनि याब्रिकेसनको अर्थ बनाउनु हो । अर्थात्, तोकिएको आकारमा बनेको सामानलाई कारखाना वा याकट्रीबाट पहिल्यै बनाउने भन्ने अर्थ लाग्छ । प्रिफ्याब घर सुरुदेखि अन्तिमसम्म निर्माणस्थलमा बनिने अरु भवनजस्तो नभई जग लेभल, छाना, पार्टेसन तोकिएको आकारमा बनिने भएका कारण गुणस्तरलाई नियन्त्रण गर्न सजिलो अनि समय बचाउन सम्भव हुन्छ ।

प्रायगरी प्रिफ्याब घरको राम्रो पक्ष जग, छाना, भित्री कोठा (बेडरुम, ट्वाइलेट, लिभिङ रुम) लाई निर्माणस्थलमा ल्याएर जोड्न मात्र पूरै अवस्थामा आउने हो । कारखानामा घरको मुख्य भागलाई बनाएर ल्याउन सकिने भएकाले साइटमा निर्माण गर्ने समय बचाउन सकिन्छ ।

नेपालमा तीन थरीका प्रिफ्याब उपलब्ध छन् । एकथरी कोरियन प्रविधि प्रयोग गरेर एस वाई प्यानल नेपालले बजारमा ल्याएको छ, जुन दुई पीपीजीआई सिटको बीचमा इन्सुलेसन प्रयोग गरेर बनाइएको हुन्छ । यसलाई स्यान्डविच प्यानल पनि भनिन्छ । यसमा ईपीएस (एक्सपाण्डेबल पोलिस्टेरियन) को प्रयोग गरिएको हुन्छ । । यो नजल्ने, हलुका, तातो र चिसो प्रतिरोधात्मक, आवाज (साउन्ड प्रुफ) रोक्ने गुणयुक्त हुन्छ । यो ०.४ मिमि पीपीजीएलद्वारा बनेको हुन्छ । यसमा एउटा घर बनाउन चाहिने सबै सामान उत्पादन हुन्छ ।

त्यसैगरी भारतीय कम्पनीबाट उत्पादित सामान प्रिफ्याब हाउस नेपाल प्रालिले बजारमा उपलब्ध गराइरहेको छ, जुन सिमेन्टको बोर्डबाट बनाइएको हुन्छ । यसमा तातो, चिसो प्रतिरोधी इन्सुलेसन भएको र नभएको दुवै थरी उपलब्ध छ ।  अन्य नेपाली कम्पनीबाट पनि प्रिफ्याब बन्ने गरेका छन्, जसमा चिनियाँ प्रविधि प्रयोग गरिएको हुन्छ । तर, यी दुई भारतीय र चिनियाँ कम्पनीबाट उत्पादित प्रिफ्याब वाल निर्माणका लागि मात्र उपलब्ध छन् ।

प्रिफ्याबका विशेषता
प्रिफ्याब प्यानलको प्रमुख विशेषता भनेको वजनमा हलुका हुनु हो । हलुका भएको कारण नै यसबाट निर्मित भवन भूकम्प प्रतिरोधी हुन्छ । चिसो र तातो प्रतिरोधी, आवाज प्रतिरोधी, छोटो समयमा निर्माण गर्न सकिने, कम खर्चमा निर्माण गर्न सकिने, रंगरोगन गर्नु नपर्ने, आगो प्रतिरोधी, पुनः प्रयोग गर्न मिल्ने, एक ठाउँबाट अर्को ठाउँमा सजिलै सार्न मिल्ने आदि प्रमुख विशेषताले भरिपूर्ण छ ।

यसकारण प्रिफ्याबले घर बनाउनु लाभप्रद
एसवाई प्यानल नेपालका जनरल म्यानेजर विमलराज गोसाईंका अनुसार पुरानो परम्परागत भवनभन्दा प्रिफ्याब भवन कम लागतमा निर्माण गर्न सकिन्छ । भवनमा बढी लागत फाउन्डेसन (जग) निर्माणमा लाग्छ । आरसीसी भवनको फाउन्डेसन निर्माणको दोब्बर अर्थात झन्डै ५० प्रतिशत कम लागतमा प्रिफ्याब फाउन्डेसनबाट बचत गर्न सकिन्छ । त्यसैगरी माथिल्लो तला निर्माणमा समेत ३० प्रतिशतसम्म लागत कम गर्न सकिने उनी बताउँछन् । चार कोठाको एक तले भवन निर्माण लागत अनुमानित १५ देखि २० लाखमा हुने उनको भनाइ छ ।  

भूकम्प प्रतिरोधी र तलाअनुसार भवनको फाउन्डेसन बलियो बनाउनु पर्ने भएको कारण सोहीअनुसार इन्जिनियरद्वारा स्ट्रक्चरल विश्लेषण गरिनुपर्दछ । यो नियम दुवै (आधुनिक सिमेन्टेड र प्रिफ्याब) भवन निर्माणमा लागू हुन्छ । विशेषतः प्रिफ्याबबाट एक तलेदेखि तीन तलेसम्म भवन निर्माण गर्न उपयुक्त मानिन्छ । प्रिफ्याबबाट  बहुतले भवन पनि निर्माण गर्न सकिन्छ । त्यसका लागि स्ट्रक्चर एनालाइसिसअनुसार फाउन्डेसन बलियो बनाउनु आवश्यक छ । तलाअनुसार फलामको आइविम पिलर प्रयोग गरिन्छ । फलाम लचिलो हुने गुण भएकाले भूकम्पको कम्पनमा समेत भवन भत्किनबाट जोगिन सकेको हो ।

प्रिफ्याबका सामग्री हलुका हुने भएका कारण भवन लड्ने सम्भावना कम हुन्छ । यदि लडेर भवनमा क्षति भए पनि धनजनको क्षति कम हुन्छ । यसका अलावा यसका सामग्रीहरू फ्याक्ट्रीमै विभिन्न रंगमा उत्पादन हुने भएकाले रंग गर्ने झन्झट हुँदैन ।

थोरै लागत, कम समयमै निर्माण गर्न सकिने, हलुका हुने भएकाले भूकम्प प्रतिरोधी, चिसो र तातो प्रतिरोधी छ, यो प्रविधि । नेपालजस्तो भूकम्पको जोखिम रहेको देशमा यो प्रबिधिबाट भवन निर्माण अति उत्तम सावित हुन सक्छ । पुनप्र्रयोग गर्न सकिने र एक ठाउँबाट अर्को ठाउँमा सार्न सजिलो भएका कारण यो प्रविधि भाडाको जग्गामा भवन निर्माण गरी बस्नेहरूका लागि उपयोगी मान्न सकिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

puspa raj gautam

[Dec 17, 2021 06:30am]

ma prefab bata ghar banauna kaha kasari samparka garne



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)