गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
गौतमबुद्ध विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन थप ५०० बिघा जग्गा अधिग्रहण गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसको मुआब्जामा मात्रै २२ अर्ब खर्च भएको छ । यस्तै विमानस्थल निर्माण र इक्वीपमेन्टतर्फ ७ अर्ब गरी कुल २९ अर्ब रुपैयाँ लगानी भएको छ । यो विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्दा अधिग्रहण गरिएको सो जग्गाको मुआब्जा सबै भुक्तानी भइसकेको छ भने निर्माण र इक्वीपमेन्टतर्फ पनि अधिकांश रकम खर्च भएको छ । राष्ट्रिय गौरवको यो आयोजनाको निर्माण २०७१ मा शुरू गरिएको थियो । आयोजनाको कुल लागत रू. ३० अर्ब ९१ करोड प्रक्षेपण गरिएको छ ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल
पोखरा विमानस्थललाई अन्तराष्ट्रियस्तरको बनाउन जग्गामा ५ अर्ब लगानी भएको छ भने निर्माणतर्फ २२ अर्ब रुपैयाँ लगानी प्रक्षेपण गरिएको छ । यो विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गर्दा कुल २७ अर्ब रुपैयाँ लगानी प्रक्षेपण गरिएको छ । हालसम्म ८९ प्रतिशत काम सम्पन्न भएको यो आयोजनामा जग्गाका लागि ४ अर्ब र निर्माणतर्फ १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । २०६७ मा शुरू भएको राष्ट्रिय गौरवको यो विमानस्थल ४ वर्षमा सम्पन्न गर्ने भनिएको थियो । तर, २०७३ फागनुमा मात्रै नेपाल सरकार र चीनबीच ऋण सम्झौता भएपछि २०७७ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सो समयमा पनि निर्माण पूरा नभएपछि अहिले म्याद थप गरिएको छ ।
निजगढ अन्तरराष्ट्रिय विमानस्थल
निजगढ विमानस्थल लगानी बोर्डबाट पीपीपी मोडलबाट जानेगरी ज्युरिक एयरपोर्ट इन्टरनेशनललाई छनोट गरी निर्माण प्रक्रिया अघि बढाइएको छ । यो विमानस्थलको ८ हजार ४५ हेक्टर क्षेत्रफल सीमांकन गरिएको छ भने गुरुयोजना पनि तयार भएको छ । उक्त गुरुयोजना तयारीको ८० प्रतिशत कार्य सम्पन्न भएको छ । विमानस्थल क्षेत्रमा रहेका रूख–बिरुवा गणना गरी टाँचा लगाउने कार्य प्रदेश वन डिभिजन कार्यालयबाट भएको छ । २०६४ सालदेखि अध्ययन शुरू भएको यो आयोजनाको औपचारिक घोषणा भने २०७१ चैतमा सरकारले गरेको थियो ।