ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गुणस्तर निर्माण सामग्री : बलियो भवनको भरपर्दो आधार

२०७८ पौष, २३  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कंक्रिट (पक्की) भवन निर्माणमा निर्माण सामग्रीको ठूलो भूमिका हुन्छ । भवन निर्माण खर्चको ठूलो हिस्सा निर्माण सामग्रीमै लाग्छ । निर्माण सामग्री नै पक्की भवनको मेरुदण्ड हो ।

भवन निर्माणमा निर्माण सामग्री पहिलो आधार भएकाले यसको गुणस्तरमा बेपर्वाह भने गर्नुहुन्न । गुणस्तरमा खेलवाड गर्दा घर निर्माण अपरिपक्व हुन सक्छ । यो भनाइलाई पुष्टि गर्न चिनियाँ  उद्योगीको उत्पादन विधिलाई बुझ्नु जरुरी छ । चिनियाँ एकैखाले कच्चा सामग्रीबाट १ सयदेखि लाखौं मूल्य पर्ने वस्तु उत्पादन गर्न सक्छन् । सामान एउटै, कच्चा पदार्थ एउटै, बनाउने मिस्त्री र मेसिन एउटै भए पनि गुणस्तर फरक हुन्छ । एउटै वस्तुमा गुणस्तर र त्यसको प्रयोग फरक कसरी हुन्छ भन्दा चिनियाँ  वस्तु उत्पादन तरिकाबाट जान्न सकिन्छ । भवन निर्माणमा पनि यही नियम लागू हुन्छ ।

पक्की भवन निर्माणमा प्रयोग गरिने सामग्री सिमेन्ट, डन्डी, इँटा, बालुवा, गिटी आदि प्रमुख हुन् । घर बलियो, कमजोर वा आयु लामो, छोटो बनाउने यिनै सामग्रीको संयोजन वा मिश्रणबाट हुन्छ । यसलाई इन्जिनियरिङ भाषामा मेटेरियल कम्पोजिसन भन्ने गरिन्छ ।

सिमेन्ट
सिमेन्ट एक प्रकारको वस्तु जमाउने गमजस्तै हो, जसलाई कन्स्ट्रक्सन कार्यमा प्रयोग गरिन्छ । यसले गिटी, बालुवालाई पानीमा घोलेर सेट गर्ने कार्य गर्दछ । चुनढुंगा, माटो, मार्ल, सेल, चक, बालुवा, क्लिंकर आदिको रासायनिक संयोजनमार्फत सिमेन्ट बन्छ । सिमेन्ट ओपिसी (अर्डिनरी पोर्टल सिमेन्ट), पीपीसी (पोर्टल्यान्ड पोजोलाना सिमेन्ट), पीएससी (पोर्टल्यान्ड स्ल्याग सिमेन्ट), सुपर ग्रेड सिमेन्ट, ह्वाइट सिमेन्ट, वाटर रिपेलेन्ट सिमेन्ट, सल्फेट रेसिस्टेन्ट, लो हिट सिमेन्ट, हाई आल्मुनियम सिमेन्ट, हाइड्रोलिक सिमेन्ट, र्‍यापिड हार्डनिङ सिमेन्ट, एक्सपेन्सिभ सिमेन्ट, एयर इन्ट्रेनिङ सिमेन्ट आदि छन् ।

नेपालमा ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन हुने गर्दछ । यो भनेको सिमेन्टको ग्रेड हो । जति राम्रो र उच्च ग्रेड, त्यति नै राम्रो र बलियो मानिन्छ सिमेन्ट । साधारणतया ३३ ग्रेडको सिमेन्ट तयार हुन २८ दिन लाग्छ । उच्च ग्रेडको सिमेन्ट सेट भने छिटो हुन्छ । छिटो सेट हुने उच्च ग्रेडको सिमेन्ट, जुन पुल, ड्याम आदि निर्माणमा उपयुक्त हुन्छ ।

विशेषगरी घर बनाउन ओपीसी सिमेन्ट प्रयोग हुन्छ, जुन नेपाली बजारमा ३३, ४३ र ५३ ग्रेडमा उपलब्ध छ । स्वभावैले बलियो र उच्च गुणस्तर निर्माणका लागि ५३ ग्रेडको सिमेन्ट प्रयोग गर्नु उपयुक्त मानिन्छ ।

डन्डी
भवन बलियो र टिकाउ बनाउन डन्डीको प्रयोग हुन्छ । यसले कंक्रिटलाई बांधेर संरचनालाई सुरक्षित राख्न सहयोग पुर्‍याउँछ । उच्च कार्बनयुक्त डन्डीमा अत्यधिक टन्साइल हुन्छ । यसले डन्डीलाई बलियो बनाउँछ । भवन निर्माणका लागि सबभन्दा राम्रो टीएमटी र टीएमएक्स स्टिललाई लिन सकिन्छ ।

बालुवा
कन्स्ट्रक्सन क्षेत्रमा बालुवा एक अभिन्न अंग मानिन्छ । बालुवा विभिन्न ढुंगा, माटो तथा अन्य पदार्थको मिश्रणबाट बन्ने भएकाले यसको गुणस्तरमा एकरूपता पाइँदैन । भवन निर्माणमा सबभन्दा उच्च गुणस्तरको बालुवा खोलाको मानिन्छ । बालुवामा माटो र अन्य वस्तुको मिसावट ५ प्रतिशत प्रतिशतभन्दा बढी भए कम गुणस्तरको मानिन्छ । यसको गुणस्तर सिभ एनालाइसिस प्रविधि जाँचबाट थाहा पाउन सकिन्छ ।

गिटी
भवन निर्माणमा प्रयोग गरिने गिटी स्टान्डर्ड साइजको हुनुपर्दछ । स्टान्डर्ड साइज भन्नाले साधरणतया ६ इन्चको कालो र बलियो ढुंगाबाट बनेको हुनुपर्छ । कंक्रिट राम्रो बन्न ठूलो साइजको गिटी पनि राम्रो मानिँदैन । त्यसमा सबै साइजको गिटी मिसिएको हुनुपर्छ । यसको गुणस्तर पनि सिभ एनालाइसिस प्रविधिबाट जाँच गरिन्छ ।

भवन निर्माणमा गुणस्तर सामग्री पहिलो सर्त हो । त्यसपछि अनुभवी एवं योग्य मिस्त्री र कामदार हुनु आवश्यक छ । इन्जिनियर तिलक बानियाका अनुसार भवन बलियो र टिकाउ बन्न गुणस्तर सामग्री मात्र भएर पुग्दैन, त्यसका लागि अनुभवी कामदार आवश्यक पर्दछ ।

एउटा पक्की भवनका लागि सिमेन्ट, बालुवा र गिटीको उचित मिश्रण नै पूर्ण आयुको ग्यारेन्टी हो । भवन निर्माणमा स्पष्ट मापदण्ड निर्धारण गरिएको  छ । जस्तो, प्लास्टर, छत ढलान, जग ढलान र वाल लगाउन प्रयोग गरिने सिमेन्ट र बालुवाको मात्रा तोकिएको हुन्छ । सो मापदण्ड पूरा भएर मात्र बलियो नहुने ०७२ सालको भूकम्पबाट प्रस्ट हुन्छ । भवन छिटो र कम खर्चमा बनाउने गलत कार्यको उपज नै कमजोर संरचना ठडिरहेका छन्, जुन मानव जातिकै धराप बनिरहेका त छैनन् भन्ने प्रश्न खडा गरिदिएको छ । यसबाट मुक्ति पाउने एक मात्र भरपर्दो र उपयुक्त माध्यम भनेको गुणस्तरयुक्त निर्माण सामग्रीको उचित प्रयोग, अनुभवी र दक्ष कामदारबाट काम लिनु हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)