काठमाडौं । नेपाललाई चिनाउने विभिन्न वस्तुमध्ये काष्ठकला पनि एक हो । विशेषगरी राजधानी सहर काठमाडौंसहित उपत्यकाका तीनै सहर काष्ठकलाका लागि प्रख्यात छन् । यहाँ प्राचीन समयदेखि प्रचलित काष्ठकलाको नमुना अहिले पनि सहरका चोक, गल्ली तथा पुरानो भागमा सदियौंदेखि उभिइरहेका अनगन्ती मठमन्दिर, पाटीपौवा तथा दरबारमा देख्न सकिन्छ । हेर्दै मनमोहक परम्परागत काष्ठकला मठ–मन्दिर तथा अन्य सम्पदाको जीर्णोद्धार हुँदा एवं विशेष किसिमको भवन वा नयाँ मन्दिर निर्माण गरिँदा अझै जस्ताको तस्तै अभ्यासमा छ ।
काठमा आकर्षक डिजाइनमा कुँदेर बनाइने झ्याल तथा ढोकाहरू भने निजी भवनमा पनि प्रयोग गर्न सक्छौं । यसो गर्दा दुर्लभ कलाको जगेर्ना हुन्छ र आफ्नो निवासको आकर्षणलाई पनि थप जीवन्त बनाउँछ ।
कंक्रिटका आधुनिक निर्माणले सहर ढाकिँदा पनि घरमा परम्परागत कलाको नमुना राख्ने अवसर काठका झ्याल र ढोकाले दिन्छ । सिमेन्ट पोतिएको भित्तामा परम्परागत झ्याल राख्दा त्यति व्यावहारिक र सुहाउँदो नहुने भएकाले अल्मुनियमको झ्याल राख्ने चलन बढ्दै गएको छ । तर, जब घरको ढोकाको कुरा आउँछ, अझै पनि काठबाट निर्मित ढोकालाई अन्य कृत्रिम सामग्रीले प्रतिस्थापन गरेको छैन । हामी काठबाटै बनेको ढोका प्रयोग गर्दछौं ।
ढोका बनाइने उच्च गुणस्तरको काठ सजिलै उपलब्ध नहुने र परम्परागत बुट्टा तथा देवदेवी वा अन्य चित्र हातैले कुँदेर बनाउने चलन भएकाले काठका कलात्मक ढोकाको लागत भने तुलनात्मक रूपमा महँगो देखिन्छ । यद्यपि, यस्ता ढोकामा उच्च गुणस्तरको काठ मात्र प्रयोग गरिने भएकाले सदियौं टिकाउ हुन्छ र तत्कालका लागि महँगो भए पनि लामो समयलाई ढुक्क हुन सकिन्छ ।
जानकारका अनुसार नेपाली परम्परागत ढोकाका लागि प्रयोग हुने काठ चुरे पहाड तथा आसपास पाइने अग्राख भनिने नेपाली सालको काठ हो । सालको आयुबारे प्रचलित लोक उक्तिअनुसार साल रुखको रुपमा १ हजार वर्ष र ढलेपछि पनि १ हजार वर्ष नै टिक्न सक्ने भनाइ छ । यस्तो बलियो काठलाई फर्निचरमा ढाल्नु पहिले परम्परागत तरिकाले सिजनिङ गर्ने अर्थात् सुकाउने कार्य गरिन्छ । ढोका तथा अन्य फर्निचर बनाउन काठ राम्रोसँग सिजनिङ हुनु अनिवार्य छ । उचित तरिकाले सिजनिङ गरिएको काठबाट ग्रहक चाहनाअनुसार विभिन्न डिजाइन र नापका ढोका बनाउने गरिन्छ ।
परम्परागत काष्ठकलाका लागि प्रख्यात भक्तपुरका विभिन्न स्थान तथा उपत्यकाको केही अन्य ठाउँमा पनि यस्ता परम्परागत ढोका बनाइने फर्निचरका सोरुम तथा पसल रहेका छन् । भक्तपुरको शिवशंकर फर्निचरका सञ्चालक जयकृष्ण शिल्पकारका अनुसार घरको मूलढोका काठमा विभिन्न डिजाइन कोरेर बनाउन आउने ग्राहक अझै उत्तिकै छन् । उनका अनुसार हाल यस प्रयोजनका लागि उपयोग हुने काठ तराईको हेटौंडा, चितवन र बुटवलबाट आउने गर्दछ । छिटोछरितो सिजनिङका लागि मेसिन प्रयोग पनि हुन थालेको छ । ग्राहकले अर्डर दिएको मितिदेखि ढोका तयार हुन ढोकाको डिजाइन र साइजको आधारमा औसत दुई महिना लाग्दछ । डिजाइनकै आधारमा यस्तो ढोकाको मूल्य प्रतिवर्गफिट ६ हजारदेखि ८ हजारसम्म पर्दछ । यसको आधारमा औसत ढोकाको मूल्य १ लाखदेखि माथि पर्न जान्छ ।
कालिगढले मिहिनेत गरी बनाउने कलात्मक ढोकामा चन्द्र सूर्य, लक्ष्मी, गणेश, भगवान् विष्णु, सरस्वती, आदिको चित्र कुँदिएको पाइन्छ भने बौद्धमार्गी घरधनीका घरको ढोकामा भने कमल, चक्र, कलश आदिसहितको अष्टमंगलको चित्रलाई अत्यधिक रुचाइएको पाइन्छ । साथै, पञ्चबुद्ध, कुबेर, आदिको चित्र पनि यस्ता ढोकामा कुँदेको पाइन्छ । आध्यात्मिक विश्वास झल्काउने यस्ता चित्रका अलावा ढोकामा विभिन्न बुट्टाको पनि प्रयोग गर्न सकिन्छ ।