काठमाडौं । देशदेशान्तर घुम्ने विदेशी वा स्वदेशी पर्यटकसँग गाँसिएको पर्यटन व्यवसाय गर्न ठूलो धनराशि लगानी गरेर ट्राभल, ट्रेकिङ एजेन्सी वा ठूला होटलको मालिक हुनैपर्छ भन्ने छैन । पर्यटकीय आकर्षण नजिकैको गाउँ वा पर्यटक घुम्ने सहर–बजारमा आफ्नो निजी निवास छ र केही कोठा वा फ्ल्याट भाडामा दिन उपलब्ध छन् भने त्यसैमा पर्यटकका लागि घरबास (होमस्टे) व्यवस्था गरेर पर्यटन व्यवसायमा पहिलो पाइला सुरु गर्न सकिन्छ ।
नेपाल पर्यटन बोर्ड (एनटीबी), ग्रामीण पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ–नेपाल) आदि निकाय र संस्थाले ग्रामीण क्षेत्रमा पर्यटन प्रवर्द्धन र स्थानीयको आर्थिक सशक्तीकरण गर्न घरबास व्यवसायका लागि सहरलाई भन्दा गाउँलाई प्राथमिकतामा राखे पनि राजधानी काठमाडौंलगायत सहरी क्षेत्रमै पनि घरबास व्यवसाय गरी आयआर्जन गर्ने व्यवसायी उल्लेख्य संख्यामा पाइन्छन् ।
पर्यटकको रूपमा घुम्ने क्रममा पर्यटकीय स्तरका सामान्य पाहुनाघर (गेस्टहाउसदेखि) पाँचतारे स्तरका महँगा होटलमा बस्ने परम्परागत चलन भए पनि पछिल्लो समय आफू घुम्न जाने स्थानीयको घरैमा बास बस्ने चलनलाई रुचाउने एकाथरी पर्यटक दिनानुदिन बढ्दो छन् । आफू घुम्ने गन्तव्यमा स्थानीयको घरमै बस्ने र उनीहरूकै भान्सामा पाकेको खानपिन गर्नाले खर्च पनि सस्तो र स्थानीय चालचलन र खाना संस्कृतिलाई नजिकबाट अनुभव गर्न पाइने ती पर्यटकको बुझाइ हुने गर्छ । नेपालका सबैजसो पर्यटकीय स्थलमा घरबास व्यवसाय फैलिइसकेको छ । लमजुङको घलेगाउँ, धनकुटाको नाम्जेजस्ता ठाउँको घरबासले अन्तर्राष्ट्रिय सम्मान तथा चर्चासमेत पाएको विभिन्न सञ्चारमाध्यममा सुने/पढिसकेका छौं । कोभिड महामारीपूर्व सन् २०१९ को अन्तसम्मको पर्यटन मन्त्रालय, पर्यटन विभागले प्रकाशित गरेको तथ्यांकले देशभर १३३१ घरपरिवार सामूहिक वा एकल किसिमले घरबास व्यवसायमा संलग्न छन् । यिनको एकै पटक पर्यटक धान्न सक्ने क्षमता करिब ५००० बेडको रहेको छ । यसबाट यस क्षेत्रमा आयआर्जन र पर्यटकसँग अन्तरक्रिया गर्दै व्यवसायमा छलाङ मार्ने सम्भावना रहेको आकलन गर्न सकिन्छ ।
घरबास व्यवसाय सुरु गर्न ग्रामीण क्षेत्रमा हो भने छरछिमेक मिलेर समूह बनाई सामूहिक रूपमै दर्ता भएर पर्यटन विभागअन्तर्गत होमस्टे शाखामा आबद्ध भई विधिवत व्यवसाय सञ्चालन गर्न सकिन्छ । नगर क्षेत्रमा भने सम्बन्धित वडा कार्यालयमा व्यवसाय दर्ता गरी सुरुआत गर्न सकिन्छ । घरबास सञ्चालन गर्न सम्बन्धित घरमा कम्तीमा दुई वटा कोठा भए उपयुक्त हुन्छ । घरलाई सकेसम्म जे–जस्तो छ, त्यस्तैमा परम्परागत पहिचानलाई जोगाएरै सरसफाइमा विशेष ध्यान दिई कोठाभित्रै बाथरुमको व्यवस्था गरी वा एकभन्दा बढी कोठाका लागि एउटै बाथरुमको व्यवस्था गरे पनि हुन्छ । आफूसँग जे–जस्ता सुविधा छन्, तिनलाई किटान गरेर आफ्नो व्यवसाय दर्ता भएको नाममा सकेसम्म मिल्दो वेबसाइट बनाई सोही साइट वा फेसबुक, इन्स्टाग्राम तथा युट्युबजस्ता सामाजिक सञ्जालमार्फत प्रचार गरेर पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।
घरबासमा उपलब्ध कोठा र सेवा–सुविधा उपभोग गर्न बुकिङका लागि आफ्नै वेबसाइटमा वा एयर बीएन्डबी, बुकिङ डटकम आदि ग्लोबल वेबसाइट पोर्टलसँग आबद्ध भई संसारको जुनसुकै ठाउँबाट बुकिङ गर्न सकिने सजिलो र सुरक्षित माध्यम अपनाउन सकिन्छ ।
घरबास व्यवसायमा पर्यटकका लागि बासको व्यवस्थाका साथै खानपिनको सुविधा महत्वपूर्ण हुन्छ । खानपिनका लागि आधुनिक पर्यटकीय रेस्टुराँजस्तै खानपिन हुनुपर्छ भन्ने छैन । घरबासमा बस्ने पर्यटक सम्बन्धित स्थानमा जे उपलब्ध छन्, त्यसैलाई स्वस्थ र सफा ढंगले तयार पारी खाने सोख भएका नै हुन्छन् । त्यसैले आफ्नै खेतबारी वा बगैंचामा उब्जिएका सागसब्जी, अन्न, आदिको प्रयोग गर्न सकिन्छ । अथवा, स्थानीय पसल वा बजारमा जे पाइन्छ, त्यसैबाटै खानपिन तयार गर्न सकिन्छ । घरमा नियमित खानाको साथमा चिया, कफी, स्थानीय पेय आदिको पनि व्यापार गर्न सकिन्छ । आफ्ना घरमा घरबासका लागि आउने पर्यटकलाई सकेसम्म पाहुनामैत्री वातावरण दिनु उचित हुन्छ । यसो गर्नाले आफूले पनि उनीहरूबाट धेरै कुरा सिक्न सक्ने र पाहुनाको बसाइँ अझ बढी स्मरणीय हुन जान्छ । घरमा इन्टरनेट सुविधा हुनुपर्दछ भने चाखलाग्दा विषयका किताब, पत्रपत्रिका, फोटो, नजिकका पर्यटकीय स्थलबारे जानकारी आदि भए थप आकर्षण हुन जान्छ । लामो समय बस्ने पाहुनाको चाखअनुसार बगंैचा, घरको सामान्य काम, खेतबारी आदिमा पनि उनीहरूलाई संलग्न गराउन सकिन्छ । घरबासलाई व्यावसायिक र अझ व्यवस्थित रूपमा कसरी अगाडि बढाउने भन्नेबारे पर्यटन बोर्ड, पर्यटन विभाग, ग्रामीण पर्यटन प्रवर्द्धन मञ्चजस्ता निकाय र संस्थामा सम्पर्क गरी जानकारी, सहयोग र तालिमसमेत लिन सकिन्छ ।