काठमाडौं । भवन निर्माणमा इँटा प्रयोग शरीरको अस्थिपञ्जरजत्तिकै महŒवपूर्ण हुन्छ । गाउँघरमा ढुंगामाटोको घरमा ढुंगालाई नै प्रमुख आधार मानिन्छ । ढुंगामाटोको कच्ची भवनको सट्टा आधुनिक आरसिसी (पक्की) भवन निर्माणमा इँटा र इँटाजस्तै अन्य ब्लक प्रयोग गरिन्छ । इँटाले भवनको बाहिरी स्ट्रक्चर वा स्वरूप निर्धारण गर्ने काम गर्छ । भवनको पूर्ण आकृति यसमै निर्भर रहेको हुन्छ ।
घर निर्माणका लागि इँटाको छनोट सबैभन्दा बढी ध्यान दिनुपर्ने पक्ष हो । यसका लागि राम्रो, बलियो र गुणस्तरयुक्त इँटा हुनु आवश्यक छ । इँटाको सही छनोटका केही आधार रहेका छन् । राम्रो इँटा हुनुका केही गुण पहिचान गर्न आवश्यक छ । सोहीअनुसार रातो रंग भएको, बांगोटिंगो नभएको, चार कुना आकार मिलेको, अत्यधिक पाकेर कालो नभएको, दुई इँटाको जुधाइबाट मेटालिक आवाज निस्कने आदि विशेषताबाट राम्रो र गुणस्तरयुक्त छ भन्न सकिन्छ । इँटालाई गुणस्तरको आधारमा ए, बी, सी गरी विभिन्न श्रेणीमा विभाजन गरिएको हुन्छ । ए श्रेणीको इँटालाई गुणस्तरको मान्ने गरिन्छ । गुणस्तरको इँटा हुन ५ प्रतिशतभन्दा बढी पानी नसोस्ने वा २० प्रतिशतसम्म पानी सोस्नेलाई राम्रो र त्योभन्दा बढी पानी सोस्नेलाई नराम्रोमा गनिन्छ ।
नेपाल राष्ट्रिय भवन संहिता २०२:२०१५ अनुसार वालको मोटाइ २३० मिमि तोकिएको छ । सिमेन्ट र बालुवाको मिश्रण १:६ को हुनुपर्ने मात्रा तोकिएको छ । त्यसैगरी दुई इँटाबीचमा सिमेन्ट, बालुवाको मोटाइ १०(१६ मिमिको उपयुक्त मानिएको छ । इञ्जिनियर तिलक बानियाँका अनुसार सिमेन्ट, बालुवाको मोटाइ मेसिन मेड इँटा (चिनियाँ)मा १ सेमि र साधारण इँटामा १/२ इन्च हुनुपर्छ । यस कुरालाई सही मान्य हो भने पुरातात्त्विक भवनमा इँटाको बीचमा मसला एकदमै कम प्रयोग गरेको देख्न सकिन्छ । यस आधारमा बानियाँको कुरा सही हुन जान्छ । घरको ग्राउन्ड फ्लोरको वालको मोटाइ १४ इन्च र दोस्रो तलाको मोटाइ ९ इन्च हुनुपर्ने स्पष्ट मापदण्ड तोकिएको छ ।
टुटफुट र छरपस्ट हुनबाट बचाइ सुरक्षितसाथ राख्न इँटालाई चाङ (स्ट्याक) मिलाएर राख्नुपर्छ । इँटालाई सकभर साइडको नजिकमा काम गर्न सजिलो हुने गरी राख्नु बुद्धिमानी हुन्छ । स्ट्याक मिलाउँदा ७ फिटभन्दा बढी अग्लो र खुकुलो हुनु हुँदैन ।
नेपालमा प्रयोगमा रहेका इँटा
नेपालमा इँटा प्रयोगको लामो इतिहास पाइन्छ । विशेषगरी पुरातात्त्विक मठमन्दिर, स्तुपा, कुवा तथा भवनमा इँटा प्रयोग भएको पाइन्छ । नेपालमा गुणस्तरयुक्त माटो हुनु र आवश्यकताअनुसार विभिन्न साइज तथा कलात्मकता दिन सजिलोको कारण इँटा प्रयोगमा वृद्धि हुँदै गएको देखिन्छ ।
नेपालमा प्राप्त अभिलेखअनुसार विभिन्न प्रकारका इँटा प्रयोग भएको पाइन्छ । त्यस समयका केही इँटाका नाममा नगोल, कासिमो, दाची आप्पा, मा आप्पा, बा आप्पा, फा बुट्टा झल्लर, तु आप्पा, काची आप्पा, फाल्हो आप्पा, झल्लर बुट्टा, नाग आप्पा आदि प्रमुख छन् । यिनको नामअनुसार आप्पालाई आगोमा पोलेको साधरण इँटा मानिन्छ । मा आप्पालाई तेलिया, बा आप्पालाई सजावटयुक्त (डेकोरेट), दाची आप्पालाई क्रोनिकल, काची आप्पालाई बेक्ड गरिएको, तु आप्पालाई गोलाकार कुवामा प्रयोग गरिने इँटाको रूपमा चिनिन्छ । यसलाई मठमन्दिर बनाउन बनाउन प्रयोग गरिन्छ । यसमा आकर्षक आकृति तथा बुट्टा कुँदिएको हुन्छ र चित्ताकर्षक रुपमा बनाइएको हुन्छ । यी इँटा प्रयोगले विभिन्न देवीदेवताको आकृतिले मन्दिरको रूपमा परिचित गराउँछ । यस्ता इँटाको प्रयोग विश्वसम्पदा सूचीमा परेका क्षेत्र र केही आधुनिक भवनमा समेत भइरहेको देख्न सकिन्छ ।
बढी प्रचलनमा रहेका इँटा
नेपालमा बढी प्रयोग गरिने इँटामा पर्छ, चिम्नी वा अग्लो भट्टीमा पकाएको माटोबाट बनेको साधारण इँटा । स्थानीय रूपमा कामदार प्रयोग गरेर उत्पादित इँटा नै बढी प्रचलित छ, जुन सबैले प्रयोग गर्न सबभन्दा सस्तो मानिन्छ किनकि योभन्दा सस्तो उत्पादनै हुँदैन । भए पनि कमसल, बांगोटिंगो हुन्छ, जसलाई वालको रूपमा प्रयोग गर्न असम्भव छ । घाममा सुकाएर बनाइएको इँटा छिटो बिग्रने र पानीले चाँडै गल्ने स्वभावको हुन्छ ।
नेपालमा हरिसिद्धि इँटा, टायल कारखानाबाट चिनियाँ मेसिन प्रयोग गरेर उत्पादित सफा र चिटिक्क परेको इँटा प्रयोग गरेर घर निर्माण गरेका काठमाडौंबासीको स्मरणमा अझै ताजै हुनुपर्छ । यस्तै, मिल्दोजुल्दो आकारको इँटाको उत्पादन हुँदै आएको छ । यो स्थानीय परम्परागत इँटाभन्दा साइजमा केही ठूलो हुन्छ । त्यसैगरी बुट्टेदार (कारनेक्स) इँटा पनि उत्पादन हुँदै आएको छ ।
इँटाको प्रयोग र लागत अनुमान
नेपालमा इँटाको साइज ठ्याक्कै खुट्याउन कठिन न्छ । नेपाल राष्ट्रिय भवन संहिता (एनबिसी १०९:१९९४) अनुसार इँटाको स्ट्यान्डर्ड साइज तोकिएको छ । सोहीअनुसार लम्बाइ २४० मिमि, ११५ मिमि चौडाइ र ५७ मिमि मोटाइ रहेको छ ।
बजारमा इँटाको साइज ९.५ गुणा ४.५ इन्च रहने भनिएको छ । इँटाको साइजको आधारमा एउटा चारकोठे घरको वाल निर्माणमा कति इँटा लाग्छ भनेर लागत अनुमान र संख्या निकाल्ने गरिन्छ । घरको नक्सामा झ्यालढोका र अन्य केही सबैको साइज तोकिएकामा त्यसको नाप कटाएर इँटाको संख्या निकाल्न सकिन्छ । झ्यालढोकाको साइज कति भन्ने जानकारी नभई इँटाको ठ्याक्कै यकिन संख्या निकाल्न नसकिने इञ्जिनियर बानियाँ बताउँछन् । जयश्री नवदुर्गा निर्माण सामग्री सप्लायर्स प्रोप्राइटरका अनुसार ठिक्क साइजको चार कोठे घर निर्माणमा २५ गोटा हजार इँटा लाग्ने गर्छ । अनुभवी मिस्त्रीको भनाइमा पनि अनुमान केही मिल्न जाने गरेको पाइन्छ । इञ्जिनियरिङ नियमअनुसार घरको साइज र त्यसमा प्रयोग गरिने झ्यालढोकाको अन्तिम साइज पूरा गरेर इँटाको वास्तविक संख्या निकालिन्छ ।
फरक–फरक इँटाको मूल्य
इँटाको मूल्यमा कम्पनीअनुसार केही फरक पर्ने बताउँछन्, जयश्री नवदुर्गा निर्माण सामग्री सप्लायर्सका प्रोप्राइटर । उनको भनाइअनुसार साधारण इँटा प्रतिगोटा मूल्य १७ र चिनियाँ साइजको इँटाको मूल्य २२ रुपैयाँ पर्छ । बजार मूल्यअनुसार प्रतिहजारको १४ हजारदेखि १६ हजारसम्म रहेको पाइन्छ ।