काठमाडौं । नेपाली सभ्यातामा परापूर्वकालदेखि विभिन्न समुदायले आ–आफ्नै किसिमले अलग–अलग कर्म गरिआएको पाइन्छ । दैनिक जीवन धान्न अत्यावश्यक भाँडाकुँडा बनाउने जिम्मा पनि निश्चित समुदायले पाएका थिए, जसलाई संस्कृतमा कुम्भकार भनिन्थ्यो । प्रमाणिक इतिहासभन्दा पनि पहिले प्राग–ऐतिहासिक समयदेखिको जानकारी खोज्न त्यस्तै कुम्भकारले बनाएका माटाका भाँडाकुँडाको अवशेषलाई प्रमाणिक सामग्रीको रूपमा लिइन्छ ।
उहिलेका कुम्भकारले गर्ने पेसाकर्मीलाई वर्तमान समय नेपालको पहाडी क्षेत्रतिर कुमाले वा कुमाल र तराईतिर कुम्हार भनी सम्बोधन गरिन्छ । काठमाडौं उपत्यका, विशेषत: भक्तपुर क्षेत्रमा नेवारी समुदायका प्रजापति परम्परागत रूपमै माटोबाट भाँडावर्तन बनाउन निपुण समुदाय हो । कुम्हार, कुमाले वा प्रजापतिका रूपमा उहिलेदेखि अहिलेसम्म पनि उनीहरूले पुर्ख्यौली पेसा धानेका मात्र छैनन्, नेपाली सभ्यताको पाटोलाई निरन्तरता दिएका छन्, जुन सकारात्मक र गर्वलाग्दो विषय हो ।
स्वेदशी उत्पादनलाई आधुनिकताको पिरलो
तपाईं–हामी आधुनिकतासँगै बगेर घरभान्सामा चाहिने भाँडाकुँडा, कप, प्लेट आदि खरिद गर्न ठूला सुपरमार्केट वा अझ अनलाइन पसलमा धाउँछौं । अनि चिल्ला, आकर्षक सामग्रीमा आँखा दौडाउँदै आफूलाई मन पर्ने चीज भेटेपछि किनिछाड्छौं । यसरी हामीले खरिद गर्ने सामग्री प्राय: विदेशी र महँगा हुने गर्छन् ।
यसरी सपिङ मल, पसल वा अनलाइन स्टोरमा खोजीनीति गर्दा थोरै ध्यान दिएर सोधखोज गर्ने हो भने सबै भाँडाकुँडा नभए पनि कम्तीमा चिया कप, प्लेट, सजावट सामग्री आदि नेपालकै माटोबाट बनेका आकर्षक, टिकाउ र स्तरीय पाउन सकिन्छ । परम्परागत माटाका भाँडाकुँडा बनाउने पेसाले व्यावसायिक नेपाली सेरामिक्सको रूपमा विस्तारै नेपाल तथा विदेशमा समेत पहिचान बनाउँदै गएको अवस्था छ ।
अझ नेपाली सेरामिक्स सामग्री किन्दा पसलमा जे उपलब्ध छ, त्यही मात्र नभई आफंैले रोजेको रंग, साइज र डिजाइनसहितको सामान बनाएरसमेत किन्न पाइन्छ । यसो गर्नाले नेपाली सामानलाई प्रोत्साहन गर्छौं नै, ती सामग्रीलाई आफ्नो चाहनाअनुसार डिजाइन गरी आफ्नो व्यवसाय जस्तै, होटल, रेस्टुरेन्टलाई फरक पहिचान दिन सकिन्छ भने विवाह, जन्मोत्सव आदि विशेष अवसरमा उपहार दिन विशेष डिजाइन सिर्जना गरेर थप स्मरणीय बनाउन पनि सकिन्छ ।
अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा
पुस्तौदेखि माटाको भाँडाकुडाँ बनाउने परम्परा धानिरहेका ठिमी सेरामिक्स भक्तपुरका प्रोप्रराइटर लक्ष्मीकुमार प्रजापतिका अनुसार नेपालमै बनेका सेरामिक्सका सामानको माग राम्रो छ । सन् १९८५ देखि परम्परागत माटोका भाँडा बनाउने कलालाई आधुनिकीकरणमा लग्दै गरेका उनको उद्योगले ग्राहकले भनेकै जस्तो रंग र डिजाइनमा कप, प्लेट तथा अन्य सेरामिक्स सामग्री उत्पादन गरेर सेवा दिँदै आएको छ । उनको भनाइअनुसार नेपाली बजारमा विदेशबाट आयातीत सबै सेरामिक्स उच्च कोटिका हुँदैनन् । सस्तोको नाममा कतिपय निम्न स्तरका पनि छन् । ठिमी सेरामिक्सको कारखानामा १२५० डिग्री सेल्सियससम्मको तापमानमा सेरामिक्सका सामान उत्पादन गरिन्छ । त्यो तापमानमा तयार पारिएको सेरामिक्स अन्तर्राष्ट्रिय स्तरका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्षम छन् । हामीले पनि आफ्नो घरमा वा रेस्टुराँ, होटल आदि व्यवसाय भए त्यसमा प्रयोग गरिने सेरामिक्स भाँडाकुँडाका लागि विदेशीभन्दा स्वदेशी उत्पादनमा भर पर्न सकिने उनको भनाइबाट पुष्टि हुन्छ ।
ठिमी सेरामिक्सका साथै अन्य नेपाली सेरामिक्सका सामान बजारमा प्रशस्तै पाइन्छन् । रेस्टुराँ, होटलहरूले पनि आफ्नो ब्रान्डअनुसारको रंग तथा डिजाइनमा अर्डर गरेर कप, प्लेट, कितली, बोल, विभिन्न प्रयोजनका भाँडा र सजावटका सामान नेपाली सेरामिक्स नै प्रयोग गर्ने चलन पछिल्लो समय बढ्दो छ ।
विभिन्न सामग्री बिक्री गर्ने अनलाइन रिटेल सप च्वाइसमाण्डु डटकमको एउटा खण्डमा यस्तै नेपाली सेरामिक्स सामानका आकर्षक डिस्प्लेले भरिभराउ देखिन्छ । पसलसम्म पुग्न समय वा इच्छा नभएका ग्राहकले च्वाइसमाण्डु वा त्यस्तै अनलाइनमार्फत अर्डर गरेर अन्य समानजस्तै सेरामिक्सका सामान घरमै बसीबसी खरिद गर्न सक्छन् । उक्त अनलाइनका बिजनेस डेभलपमेन्ट प्रमुख कान्ता श्रेष्ठका अनुसार नेपाली सेरामिक्सका सामान लोकप्रिय छन् ।
अनलाइन अर्डर सुबिस्ता
अन्य नेपाली सामग्रीलाई जस्तै च्वाइसमाण्डुले नेपाली सेरामिक्सको बिक्री र प्रवर्द्धनमा ध्यान दिँदै आएको छ । नेपाली सेरामिक्सको प्रवर्द्धन गर्नुका पछाडिको कारणबारे सोध्दा श्रेष्ठ भन्छिन्, ‘नेपाली माटोबाट बनेको कपमा चिया पिउदाको स्वाद र आनन्द अरूमा कहाँ पाइन्छ !’