ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजीवृद्धिको योजनामा आईपीओ प्राथमिकता

२०७८ फागुन, ११  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । जीवन बीमा कम्पनीहरूमध्ये सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बीमा संस्थाले पूँजीवृद्धिका लागि सर्वसाधारण शेयर (आईपीओ) निष्कासनलाई मुख्य प्राथमिकतामा राखेको छ । कम्पनीले नियामक निकाय बीमा समितिले तोके बमोजिमको रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ, बोनस शेयर र हकप्रद शेयरको योजना अघि सारेको हो ।

पुराना जीवन बीमा कम्पनीहरूमध्ये अब संस्थानले मात्र समितिले तोके बमोजिमको चुक्तापूँजी कायम गर्न बाँकी छ । बीमा समितिले २०७४ असार मसान्तसम्ममा जीवन बीमा कम्पनीले रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीले रू. १ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । सो समयमै संस्थानले पनि आईपीओ सहितको योजना समितिमा पेश गरेको थियो । तर, संस्थानको पुराना आर्थिक वर्षको लेखापरीक्षण र वार्षिक साधारणसभा सम्पन्न नहुँदा त्यो तोकिए बमोजिम पुग्न सकेको छैन । सो अवधिमा पछि परेको पूँजीवृद्धि योजना पछिल्लो समय भने सार्थक बन्ने कम्पनीको भनाइ छ ।

आर्थिक वर्ष २०६८/६९ सम्मको वार्षिक साधारणसभा सम्पन्न गरिसकेको संस्थानले बाँकी वर्षहरूको साधारणसभा सम्पन्न गर्न पनि सक्रियता देखाएको छ । यसै आर्थिक वर्षभित्र बाँकी आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरी पूँजीवृद्धिको अभियानमा जुट्ने तयारीका साथ संस्थानले अग्रसरता लिएको हो । संस्थानले गत भदौ २६ गते आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक संयुक्त साधारणसभा सम्पन्न गरेको थियो । संस्थानका प्रशासक कविप्रसाद पाठकले पुराना हिसाब किताबको तथ्यांक व्यवस्थित नभएको र कतिपय तथ्यांक नै नष्ट गरेका कारण पुराना आर्थिक वर्षको लेखापरीक्षणमा ढिलाइ भएको जानकारी दिएका छन् । हाल संस्थानको वित्तीय व्यवस्थापन डिजिटल प्रविधिबाट गर्दै आएकाले आगामी दिनमा यो समस्या नदोहोरिने विश्वास उनले व्यक्त गरे ।

आर्थिक वर्ष २०६९/७०, २०७०/७१ र २०७१/७२ को लेखापरीक्षण सम्पन्न गरी बीमा समितिबाट स्वीकृति प्राप्त गरिसकेको संस्थानले पछिल्लो आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक लेखापरीक्षण सम्पन्न गरिसकेको समेत जानकारी दिएको छ ।

बीमा समितिले संस्थानको पूँजी वृद्धि योजना अघि बढाउन पछिल्लो आर्थिक वर्षसम्मको यथार्थ वित्तीय विवरण पेश गर्न निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम संस्थानले पछिल्लो यथार्य वित्तीय विवरण तयारीमा सक्रियताका साथ काम गरेको जानकारी पाठकले दिएका छन् ।

हाल संस्थानको चुक्तापूँजी रू. १८ करोड १० लाख २० हजार रहेको छ । संस्थानले संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम रहने गरी आईपीओ जारी गर्ने योजना बनाएको छ । संस्थानले पाँचवर्षे योजना बनाई सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंकमा पेश गरिसकेको बताएको छ ।

संस्थानले बनाएको योजना बमोजिम पूँजी वृद्धि गर्न शेयरधनीहरू समेत सहमत भएका छन् । संस्थान आफ्नै ऐन बमोजिम सञ्चालित भएकाले उसको ऐनमा रू. ५० करोड मात्र चुक्तापूँजी भए पुग्ने व्यवस्था छ । तर बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिको निर्देशनलाई पालना गर्नकै लागि संस्थानले रू. २ अर्ब पूँजी कायम गर्नुपर्नेछ । यसका लागि केही कानूनी बाधा रहेकोमा त्यसलाई फुकाएर पब्लिक कम्पनीमा रूपान्तरण भई पूँजी बढाउने योजना संस्थानले बनाएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)