कृष्णकुमार श्रेष्ठ राष्ट्रिय बीमा संस्थानमा स्थापना कालदेखि नै आबद्ध कर्मचारी हुन् । लामो समयसम्म दाबी शाखामा काम गरेर केही वर्षअघि अवकाश पाएका श्रेष्ठ अहिले संस्थानको सहायक प्रशासकमा नियुक्त भएका छन् । यस सन्दर्भमा, बीमा संस्थानले स्थापनाकालमा के कसरी काम गरेको थियो त ? प्रस्तुत छ, यसै विषयमा रहेर श्रेष्ठसँग गरिएको कुराकानीको सार :
तपाईं बीमा संस्थानमा शुरुआती चरणदेखि नै हुनुहुन्छ । शुरुआती अवस्थामा संस्थानको व्यवसाय कस्तो थियो ?
शुरुआती चरणमा व्यवसाय फटक्कै थिएन । आम मानिसलाई बीमाबारे बुझाउन नै गाह्रो थियो । त्यसबेला शिक्षक, कर्मचारी जस्ता व्यक्तिको मात्र बीमा गरिन्थ्यो । जीवन बीमाको हकमा नेपाल बैंकका कर्मचारी अष्टमान महर्जनको पहिलो बीमा गरेका थियौं ।
बीमा गर्ने मान्छे नै नभएपछि हामीले एलआईसी इन्डियाले गरेको नेपालीको बीमालाई ल्याउने योजना बनायौं । र, आवश्यक प्रक्रिया पूरा गरेर एलआईसी इन्डियाले पनि नेपालीको बीमा हामीलाई दियो । शुरूमा त्यसमार्फत नै कम्पनीलाई अघि बढाएका हौं । त्यसबेला संस्थानको कार्यालयमा एलआईसीबाट आएको बीमालेखको चाङ थियो । तर, शुरूमा दाबी भने एकदमै कम आउँथ्यो । शुरुआती चरण भएर पनि होला । एक वर्ष त चारओटा मात्र अवधि पूरा भएको दाबी परेको थियो । सरेन्डर दाबी र मृत्यु दाबी एकदमै कम हुन्थ्यो ।
त्यसबेला र अहिलेको बीमा बजारमा के फरक पाउनुहुन्छ ?
त्यसबेला र अहिले बीमा बजारमा आकाश जमिन फरक छ । पहिलेको तुलनामा बीमा बजारले अहिले ठूलो फड्को मारेको हो । त्यसबेला बीमाबारे आम मानिसलाई बुझाउनै गाह्रो हुन्थ्यो । बीमा पनि सानो सानो रकम हुन्थ्यो । तर, अहिले बीमाबारे बुझाउन त्यति गाह्रो छैन । बीमा रकम पनि ठूलो हुने गरेको छ । पहिला बढीमा १–२ लाखको मात्र बीमा हुन्थ्यो । अधिकांश १०/२० हजारको बीमा हुन्थ्यो । तर, अहिले करोडौंको बीमा हुने गरेको छ । तर, करोडौंको बीमा गर्दा बीमा क्षेत्रमा स्रोत नखुलेको धन शुद्धीकरण गर्न खोजिएको हुन सक्छ, त्यसमा बीमाक्षेत्र चनाखो हुन जुरुरी छ ।
अहिले प्रविधिमा भने ठूलो परिवर्तन आएको छ । पहिला हामीले हातले नै लेखेर बीमालेख जारी गर्थ्यौं । टाइप राइटइर आयो । त्यसपछि स्टाम छाप प्रकृतिको छाप हानेर बीमालेख नमूना बनाइयो । पहिला त्यसरी काम गथ्र्यौं । कम्प्युटर त २०४३ सालतिर मात्र आएको हो । संस्थानमा भने २०४५ मा कम्प्युटर ल्याइएको थियो । तर, आजको दिनसम्म आउँदा समग्र बीमा क्षेत्र नै डिजिटलाइजेशनमा अगाडि गएको छ ।
तपाईंले विशेषगरी दाबी शाखामा बसेर काम गर्नुभयो ? ‘फेक क्लेम’ परेको अनुभव पनि छ ?
फेक क्लेम भनेर पहिचान नै त गर्न सकिएन । तर, आशंका लागेका घटना भने छन् । रौतहटमा एकजना महिलाको बीमा गरिएको थियो । बीमा गरेको केही समयपछि सम्बन्धित अभिकर्ता दाबी गर्न आए । त्यसमा छठमा कपडा सुकाउन जाँदा लडेर मृत्यु भएको भन्ने छ । लडेर मृत्यु हुने सम्भावना कम हुन्छ । त्यहाँ दाबी पाउन बीमितको हत्या गरियो कि भन्ने आशंका छ । यस्तै, निर्जीवनतर्फ पेट्रोल बोक्ने ट्यांकरहरूले पनि फेक क्लेम गरे जस्तो लाग्छ । तेल बीच बाटोमै कतै अनलोड गर्ने र गाडी दुर्घटना गराउने, अनि तेलसहितको दाबी गर्ने गरेको पनि आशंका छ । तर, पुष्टि भने गर्न सकिएन ।
ग्राहकको सन्तुष्टि दाबीको आधारमा मापन गरिन्छ । दाबी शाखामा काम गरिरहँदा ग्राहकलाई कत्तिको सन्तुष्ट बनाउनु भयो ?
हो, मैले लामो समयसम्म दाबी शाखामा काम गरेको हुँ । त्यो क्रममा मैले ९९ प्रतिशत ग्राहकलाई सन्तुष्टि बनाए । आजसम्म पनि मैले जुन मोडेलमा दाबी भुक्तानी गर्ने प्रचलन ल्याएको थिएँ, त्यही मोडलमै दाबी भुक्तानी हुन्छ । असन्तुष्ट हुने ग्राहक पनि थिए । जसले आवश्यक कागजपत्र पुर्याउँदैनथे, उनीहरू भने असन्तुष्ट भए जस्तो लाग्छ ।