सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान बुधवार ५४ वर्ष पूरा गरेर ५५औं वर्षमा प्रवेश गर्दै छ । संस्थानले ५४ वर्ष पूरा गर्दासम्म धेरै आरोह–अवरोहको सामना गर्नुपर्यो । तर, संस्थानको पछिल्लो व्यावसायिक गतिविधि चुस्त बन्दै गएको देखिन्छ । प्रस्तुत छ, संस्थानका पछिल्ला गतिविधिसहित समसामयिक विषयमा केन्द्रित भएर प्रमुख प्रशासक (प्रमुख कार्यकारी अधिकृत) कविप्रसाद पाठकसँग आर्थिक अभियानका मिलन विश्वकर्माले गरेको कुराकानीको सार :
बीमा संस्थान स्थापनाको ५४ वर्ष पूरा गरेर ५५औं वर्षमा प्रवेश गर्दै छ । संस्थानको ५४ वर्षको यात्रालाई कसरी विश्लेषण गर्नुहुन्छ ? पछिल्लो समय के कस्ता काम हुँदै आएका छन् ?
बीमा संस्थान स्थापनाको ५५औं वर्षमा प्रवेश गरेको छ । २०२४ सालमा स्थापना भएको यस संस्थानले शुरूको केही वर्ष निर्जीवन बीमा व्यवसाय र २०२९ सालदेखि जीवन बीमा व्यवसाय पनि शुरू गरेको हो । २०७१ देखि भने संस्थानबाट छुट्टिएर राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा कारोबार गर्दै आएको छ । त्यसपछि हामीले जीवन बीमाको कारोबार गर्दै आएका छौं । यद्यपि, यतिका वर्षसम्ममा संस्थानले जुन रूपमा काम गर्नुपर्ने हो, त्यो अनुसार काम नगरेको भने हो । तर, पछिल्ला वर्षहरूमा हामीले व्यावसायिक गतिविधि चुस्त बनाउँदै गएका छौं ।
समग्रमा बजारमा नयाँ कम्पनीहरू थपिएपछि हामी प्रतिस्पर्धी रूपमा नै उत्रिएका छौं । त्यसका लागि हामीले आवश्यक पूर्वाधार तथा संरचना पनि विस्तार गरेका छौं । पहिला शाखा संख्याको रूपमा हामी सबैभन्दा पछाडि थियौं । जम्मा ८ शाखाबाट बीमा सेवा सञ्चालन गरेका थियौं । त्यसमा पनि अधिकांश सेवा पाउन केन्द्रीय कार्यालयमा धाउनुपर्ने बाध्यता थियो ।
तर, अहिले संस्थानको शाखा संख्या २२ पुगेको छ । यसका अलावा बागलुङमा शाखा स्थापना गर्न घरमा भाडामा लिइसकेको अवस्था छ भने इलाममा पनि शाखा स्थापना गर्न स्वीकृति पाइसकेका छौं । समग्रमा यो वर्ष शाखा संख्या २८ पुर्याउने हाम्रो लक्ष्य छ ।
कर्मचारी अभावको कारण त्यो लक्ष्य प्राप्ति गर्न भने चुनौती छ । शाखा थप गर्ने भएपछि कर्मचारी पनि थप चाहियो । तर, हाम्रो कर्मचारीको सेवाशर्त नियमावली खारेज हुँदा नयाँ कर्मचारी थप्न नीतिगत रूपमै अफ्ठ्यारो भएको छ । त्यसमाथि भएका कर्मचारी घट्ने क्रममा छन् । त्यो अनुुसार यो वर्ष थप शाखा स्थापना गर्न भने चुनौती हुने देखिन्छ ।
यस्तै, जीवन बीमा क्षेत्रमा अभिकर्ताको संख्या र गुणात्मक पक्ष जति राम्रो हुन्छ, त्यति नै राम्रो व्यवसाय गर्न सकिन्छ । त्यो विषयलाई लिएर अहिले अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम पनि गर्न लागेका छौं । पहिला अभिकर्ता लक्षित १/२ ओटा मात्र तालिम हुन्थ्यो । तर, अहिले यो वर्ष २० ओटाभन्दा बढी तालिम सञ्चालन गरिसकेका छौं ।
यस्तै, व्यवसायलाई डिजिटलाइजेशन गर्ने क्रममा वेबबेस सफ्टवेयरको विकास गरेका छौं । पछिल्ला ३ वर्ष नयाँ व्यवसाय मात्र उक्त सफ्टवेयरमार्फत हुन्थ्यो । तर, अहिले पुराना व्यवसायलाई पनि त्यसमा समावेश गरिसकेका छौं ।
यस्तै, बीमाशुल्क पनि अनलाइनबाट भुक्तानी गर्ने व्यवस्था गरेका छौं । पहिला बीमाशुल्क भुक्तानी गर्न केन्द्रीय कार्यालयमै धाउनुपर्ने बाध्यता थियो । कोरोनाको पहिलो लकडाउनमा त ग्राहकले असन्तुष्टि समेत व्यक्त गरे । अन्य कम्पनीहरूले अनलाइन माध्यमबाट भुक्तानी गर्ने व्यवस्था गरेको अवस्थामा हाम्रोमा त्यो सुविधा थिएन । त्यो अवस्थामा ग्राहकबाट गुनासो आउनु स्वाभाविक थियो । त्यसपछि हामीले कनेक्ट आईपीएस र ईसेवाबाट बीमाशुल्क तिर्न सकिने व्यवस्था गरेका छौं । साथै, अन्य डिजिटल सेवा प्रदायकसँग पनि यस्तो सम्झौता गर्ने योजनामा छौं । केही समयपछि आमग्राहकले आफूले चाहेको सेवा प्रदायकबाट बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् ।
पछिल्लो समय व्यवसायको विस्तार कस्तो छ ?
पछिल्लो समय व्यवसायको विस्तार राम्रो छ । चालू आवको ६ महिनामा रू. ६ अर्ब ५ करोड बीमाशुल्क संकलन गरेका छौं । बीमाशुल्क संकलनको आधारमा हामी अन्य कम्पनीको तुलनामा तेस्रो स्थानमा छौं । १९ जीवन बीमा कम्पनीमा हाम्रो बजार हिस्सा ८ दशमलव ५३ प्रतिशत छ । आजका दिनसम्ममा हाम्रो संस्थानबाट ६ लाख ३८ हजार ७९३ जनाले बीमा सेवा लिएका छन् । त्यसैले पछिल्लो समय हाम्रो व्यवसाय बढ्दै गएको छ ।
व्यवसाय बढ्दै जाँदा संस्थानप्रतिको आम सर्वसाधारणको आकर्षण कस्तो छ ?
बीमा संस्थानप्रति आम सर्वसाधारणको आकर्षण बढेको छ । विगतमा पनि त्यो आकर्षण थियो, नभएको होइन । सरकारी स्वामित्वको संस्थान भएकाले हामीप्रति ग्राहकको विश्वास पहिलेदेखि नै थियो । तर, हामीले त्यसलाई व्यवसायमा रूपान्तरण गर्न सकेनौं । हाम्रो सेवा काठमाडौंमा मात्र केन्द्रित हुँदा पनि त्यो हुन सकेन । तर, अहिले हाम्रो सेवा सातै प्रदेशमा विस्तार भएको छ । र, आम जनतामा हामीप्रतिको आकर्षण पनि बढ्दै गएको छ । त्यति मात्र नभएर अभिकर्ताको आकर्षण पनि बढ्दै गएको छ ।
तर, कम्पनीको खराब पक्ष भनेको लेखापरीक्षण र साधारणसभा हुन नसक्नु हो । आव २०६९/७० यताका साधारणसभा गर्न सकिएको छैन । यद्यपि, हामीले आव २०७५/७६ सम्मको लेखापरीक्षण स्वीकृतिका लागि बीमा समितिमा पठाएका छौं । बीमा समितिबाट स्वीकृत भएर आएपछि हामी तत्काल साधारणसभाको काम सकाउँछौं र नयाँ उत्साहका साथ संस्थानलाई अगाडि बढाउँछौं ।
अर्थ मन्त्रालय, बीमा समिति, महालेखापरीक्षकले पनि छिटो साधारणसभा गर्नुस् भनेका छन् । ती निकायबाट पनि केही प्राविधिक सहयोग भएमा यो वर्ष साधारणसभा सम्पन्न गर्न सकिन्छ ।
यस्तै, काठमाडौंको रामशाहपथस्थित संस्थानको केन्द्रीय कार्यालय रहेको १५ रोपनी जग्गा हाम्रो नाममा छैन । त्यसबापतको पैसा संस्थानले पहिले नै भुक्तानी गरे पनि त्यो जग्गा खाद्य व्यापार कम्पनीको नाममा छ । त्यो जग्गा पनि अब छिट्टै हाम्रो नाममा आउँदै छ ।
यो त साधारणसभाको विषय भयो, संस्थानको व्यावसायिक योजना के के छन् ?
तत्काललाई हाम्रो मुख्य प्राथमिकता भनेको साधारणसभा सम्पन्न गर्ने हो । अहिले साधारणसभा नहुँदा बजारमा विभिन्न अफवाह पनि छ । अब साधारणसभा सम्पन्न गरेर बजारमा फैलिएको संस्थानप्रतिको नकारात्मक सन्देश चिर्छौं । त्यसपछि संस्थानलाई बलियो र प्रतिस्पर्धीको रूपमा अगाडि बढ्न कुनै समस्या छैन ।
हिजोका दिनमा काठमाडौंमा मात्र कारोबार गरेका थियौं । अहिले सबै प्रदेशमा हाम्रो शाखा कार्यालय पुगेको अवस्था छ । व्यवसायलाई डिजिटलाइजेशन गरिसकेका छौं । सर्वसाधारणले मोबाइलबाटै संस्थानको सेवा सुविधाबारे जानकारी लिन सक्नुहुन्छ । अनलाइनबाट बीमाशुल्क भुक्तानी गर्न सक्ने व्यवस्था पनि गरिएको छ । एसएमएस अलर्ट मार्फत बीमालेखको जानकारी दिने सुविधा पनि शुरू भएको छ । मोबाइल एप पनि सञ्चालनमा ल्याइसकेका छौं । यद्यपि, बजारमा प्रतिस्पर्धी रूपमा जान केही काम भने गर्न बाँकी छ । विशेषगरी ग्राहकले खोजेको र चाहेको जस्तो बीमा प्रडक्ट ल्याउनुपर्ने देखिन्छ । सोही अनुसार हामीले ‘इन्डोमेन्ट’ र ‘मनी ब्याक प्लान’सहित बीमा योजना स्वीकृतिका लागि बीमा समितिमा पठाएका छौं । बीमा समितिबाट उक्त योजनाहरू स्वीकृत भएर आएपछि हाम्रो व्यवसाय थप बढ्छ । किनकि, ती प्रडक्टहरू सर्वसाधारणले नै खोजेको जस्ता छन् । यस्तै, अन्य के कस्ता योजना ल्याउन सकिन्छ भनेर पनि छलफल भएको छ । यसरी नयाँ प्रडक्ट ल्याउन सकियो र लेखापरीक्षण तथा साधारणसभा सम्पन्न भयो भने त संस्थान बलियो जीवन बीमा कम्पनीको रूपमा उदाउँछ ।
त्यसमाथि संस्थानमा नयाँ नयाँ कर्मचारी आउनु भएको छ, जो प्रविधिमैत्री पनि हुनुहुन्छ । उहाँहरू आएपछि काम गर्न झन् सहज भएको छ । यी र यस्ता कारण अब हामीलाई बीमा बजारका अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्न समस्या छैन ।
संस्थानको चुक्तापूँजी अझै पनि तोकिएअनुसार छैन ? पूँजी बढाउन के कस्ता योजना छन् ?
पूँजीवृद्धि गर्न हामीलाई कानूनी बाधा छ । हामी आफ्नै बीमा संस्थान ऐन अनुसार सञ्चालनमा छौं । त्योअनुसार हाम्रो चुक्तापूँजी ५० करोड भए पुग्छ । तर, बीमा समितिले भने २ अर्ब रुपैयाँ पुर्याउन भनेको छ । हामीले आफ्नो ऐनभन्दा माथि गएर चुक्तापूँजी पुर्याउन कानूनी समस्या छ । तर, आफ्नै ऐन अनुसार पनि चुक्तापूँजी पुर्याउन सकेका छैनौं । अहिले हाम्रो चुक्तापूँजी १८ करोड १० लाख मात्र छ । यद्यपि, साधारणसभा गर्न सकियो भने बोनस शेयरमार्फत आफ्नै ऐनले तोकिएअनुसार चुक्तापूँजी पुग्छ भन्ने विश्वास छ ।
संसद्मा विचाराधीन रहेको बीमा सम्बन्धी नयाँ ऐन लागू भएपछि भने बीमा संस्थान ऐन खारेज हुन्छ र हामी पब्लिक कम्पनीमा रूपान्तरण हुनुपर्छ । त्यसपछि हामी २ अर्ब चुक्तापूँजी बढाउनेतर्फ लाग्छौं । त्यसका लागि पूँजीवृद्धिको योजना पनि नेपाल राष्ट्र बैंक, नेपाल बैंक लगायतका लगानीकर्तालाई पठाइसकेका छौं । त्यसमा उनीहरू सकारात्मक देखिएका छन् । साथै, आईपीओ जारी गर्ने योजना पनि छ । त्यसैले पब्लिक कम्पनीमा रूपान्तरण भएपछि हामीलाई चुक्तापूँजी बढाउन समस्या छैन । हामी आईपीओ त प्रिमियममै जारी गर्न सक्छौं ।