अहिले राष्ट्रिय बीमा संस्थानको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा वसन्तराज पाण्डे छन् । कार्यवाहक अध्यक्ष पदमा बसिरहँदा पाण्डेले संस्थानको विकासका लागि के कस्ता योजना बनाएका छन् त ? प्रस्तुत छ, संस्थाका योजना, रणनीति लगायत विषयमा कार्यवाहक अध्यक्ष पाण्डेसँग आर्थिक अभियानले गरेको कुराकानीको सार :
संस्थानको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । अध्यक्षको पदमा बसेर संस्थानको विकासका लागि के कस्ता योजना बनाउनु भएको छ ?
विशेषगरी लामो समयदेखि बाँकी रहेको लेखापरीक्षणलाई नै टुंग्याउने गरी हामी अगाडि बढेका छौं । बाँकी रहेको साधारणसभा सम्पन्न गर्न हामी चुुस्त रूपमा लागेका छौं । राष्ट्रिय बीमा कम्पनी हामीसँग छुट्टिएपछि तथ्यांक पनि यताउता भएको छ । बीमाशुल्क हाम्रोमा छ भने भुक्तानी कम्पनीबाट भएको छ । उता बीमाशुल्क छ भने भुक्तानी हाम्रोबाट भएको छ । यी र यस्ता समस्याका कारण साधारणसभा तथा लेखापरीक्षण सम्पन्न गर्न चुनौती छ । तर, यो आवभित्र लेखापरीक्षण र साधारणसभा सम्पन्न गर्नेगरी हामी अगाडि बढेका छौं ।
यद्यपि, व्यवसाय विस्तारको काम पनि सँगै लगेका छौं । लेखापरीक्षण र साधारणसभा हुन सकेन भनेर त्यसमै मात्र केन्द्रित भएका छैनौं । समानान्तर रूपमा व्यवसाय बढाउने गरी पनि अगाडि बढेका छौं । त्यसका लागि संस्थानको संरचना परिवर्तन गर्ने लगायत विषयमा विशेष सर्भे भइरहेको छ । सर्भेको प्रारम्भिक प्रतिवेदन बोर्डमा पनि आइसकेको छ । अहिले त्यसलाई अन्तिम रूप दिने काम भइरहेको छ । त्यसले अन्तिम रूप पाएपछि संस्थानको संगठनात्मक संरचना लगायतका पक्षहरू परिमार्जन हुनेछ । विशेषगरी केही विभागहरू मर्ज गर्नेछौं भने केही विभागलाई विस्तार पनि गर्नेछौं । कर्मचारीको दरबन्दी पनि बढाउने योजना छ । साथै, ३ वर्षमा शाखा संख्या ५६ ओटा पुर्याउने लक्ष्य छ ।
साथै, अभिकर्ताको वृद्धि–विकास तथा उनीहरूलाई प्रोत्साहन गर्ने नीति पनि बनाउने योजना छ । बीमा व्यवासय कर्मचारीले मात्र गर्न सकिँदैन । यसमा अभिकर्ताको महत्त्वपूर्ण भूमिका हुन्छ । जति धेरै र क्षमतावान् अभिकर्ता बनाउन सकियो, त्यति नै व्यवसाय बढ्छ । त्यसैले, व्यवसाय बढाउने मामलामा अभिकर्तालाई समेत प्रोत्साहन गर्ने नीति ल्याउँछौं ।
संस्थानको सञ्चालक समिति र व्यवस्थापन समूहको सम्बन्ध कस्तो छ ?
सञ्चालक समिति र व्यवस्थापन समूहबीचको सम्बन्ध अहिले राम्रो छ । पहिला केही समस्या थियो भन्ने पनि सुनिन्छ । तर, अहिले त्यस्तो छैन । हामीले व्यवस्थापनलाई अगाडि बढ्न सहजता दिएका छौं । नीतिगत रूपमा व्यवस्थापनलाई दिशानिर्देश गर्दै आएका छौं । कार्यान्वयनको पाटोमा पनि उहाँहरू सक्रिय हुनुहुन्छ । समग्रमा हामीबीचको सम्बन्ध राम्रो छ ।
संस्थानको ५४ वर्षको यात्रालाई कसरी समीक्षा गर्नुभएको छ ?
यतिका वर्षको यात्रामा हामी हरेक कोणबाट पहिलो नम्बरको बीमा कम्पनी हुनुपर्ने हो । तर, सकिएन । वास्तवमा हामी अहिलेसम्म सरकारको संरक्षणमा सञ्चालन भएका छौं । हामी लामो समय बजारमा बिजनेश लिएर गएनौं । सरकारले गर्ने विभिन्न प्रकारको बीमा गरेरै संस्थान चलेको हो । तर, सरकारले सधैंभरि यसरी नै संरक्षण गर्छ भन्ने होइन । तर, आजको दिनसम्म जे जस्तो भयो, त्यता नलागौं । अब बजारका अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्नेगरी अगाडि बढ्छौं ।
यद्यपि, पछिल्लो समय व्यवसाय बढेको पनि छ । संस्थानको बीमा कोष, बीमाशुल्क लगायत सूचकहरू बलिया हुँदै गएका छन् । व्यवसायको आकार पनि बढेको छ । अब बीमा संस्थानलाई यस क्षेत्रकै अग्रणी संस्थाको रूपमा विकास गर्नेगरी अगाडि बढाउँछौं । साथै, सोही अनुसार संस्थानका नीतिहरू पनि तर्जुमा गर्दै जान्छौं ।
यद्यपि, संस्थानलाई अग्रणी संस्थानको रूपमा विकास गर्न केही चुनौती त छ । त्यो चुनौती पार गरियो भने स्वाभाविक रूपमा बलियो कम्पनीको रूपमा उदाउँछौं । तर, हाम्रो विकास एकदम नेचुरल हुन्छ । अहिले जसरी अन्य बीमा कम्पनीहरूले आक्रामक रूपमा व्यवसाय बढाएका छन् । जोखिम पनि त्यही अनुसार आएको छ । त्यसले भविष्यमा जोखिम बढाउन सक्छ । तर, हामी संस्थानको विकास त्यसरी भन्दा पनि वस्तुगत ढंगले गर्दै जान्छौं । निकट भविष्यमा अन्य कम्पनीहरूलाई बीमा संस्थान पनि प्रतिस्पर्धी कम्पनी हो भन्ने पार्छौं ।
कम्पनीले बीमा क्षेत्रका साथै अर्थतन्त्रमा कस्तो सहयोग पुर्याउन सक्छ ?
राष्ट्रिय रूपमा हामी दुईओटा काम गर्न सक्छौं । एउटा गाउँ गाउँमा छरिएर बसेको पूँजीलाई बीमाको माध्यमबाट एकीकृत गर्न सक्छौं । तर, त्यो पूँजी कुनै उत्पादनमूलक क्षेत्रमा लगानी गरेर देश विकासमा सहयोग पुर्याउन सकिन्छ । यस्तै, राष्ट्रिय पूँजी बनाएर समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न पनि यसले योगदान गर्न सक्छ । अहिले रेमिट्यान्सको रूपमा पैसा विलासिताका वस्तुमा खर्च भएको छ । त्यसलाई बीमामार्फत उत्पादनमूलक क्षेत्रमा पठाउन सकिन्छ भन्ने लाग्छ । हामी सरकारी कम्पनी हौं । त्यसैले, हामी कमाउने भन्दा पनि आम बीमितको भविष्य सुरक्षित गर्न केन्द्रित छौं ।
संस्थालाई अगाडि बढाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका हुन्छ । तर, अहिले संस्थानका कर्मचारीहरू नेपाल राष्ट्र बैंक, निजामती कर्मचारीमा नाम निकाल्दै जाँदै गरेको देखिन्छ । यो अवस्थामा संस्थानसँग कर्मचारी टिकाउने केही नीति छ कि ?
यो समस्या यहाँको मात्र होइन । बैंक तथा वित्तीय संस्थाहरूमा पनि यो समस्या छ । तर, त्यो समस्या सबैतिर छ भनेर चुप लागेका छैनौं । संस्थानको विकास गर्न कर्मचारीलाई पनि टिकाउन आवश्यक छ । त्यसका लागि आवश्यक नीति ल्याउने हाम्रो योजना छ ।
तर, जे गर्दा पनि लेखापरीक्षण र साधारणसभाले अड्काउँछ । त्यो समस्या समाधान भएपछि कर्मचारीलाई पनि खाइपाइ आएकोभन्दा थप सेवासुविधा दिन्छौं । अहिलेको सेवासुविधाले मात्र उहाँहरूलाई पुग्दैन । त्यसैले, उहाँहरूलाई प्रोत्साहन हुने नीति ल्याउँछौं । विशेषगरी वैदेशिक तालिमको सुविधा पनि ल्याउने योजना छ ।
संस्थानको संस्थागत सुशासन भने कस्तो देख्नुहुन्छ ?
विगतमा यस्तो समस्या थियो । तर, विगतलाई फर्केर नहेरौं । तर, अहिले हामी यस सन्दर्भमा कडा रूपमै लागेका छौं । ३ वर्ष अघिसम्म यहाँ आन्तरिक लेखापरीक्षण नै हुने थिएन । त्यो पनि संस्थागत सुशासनभन्दा बाहिरको विषय हो । अहिले हामीले प्रत्येक त्रैमासको आन्तरिक लेखापरीक्षण समयमा गर्ने गरेका छौं । समग्रमा हामी संस्थागत सुशासनलाई पनि व्यवस्थित ढंगले अगाडि बढाएका छौं ।