काठमाडौं । घर निर्माण गरेर मात्र पुग्दैन । घरलाई शृंगार्नु पनि घर निर्माणको महत्वपूर्ण पाटो हो । घरका बाहिर तथा भित्री कोठा तथा अन्य आन्तरिक भागलाई रंगरोगन गर्नु अपरिहार्य हुन्छ । परम्परागत एवं दुर्गम ठाउँका घरमा कमेरो वा रातो माटोले घर पोतिन्छ भने सहर–बजारमा विभिन्न थरीका आधुनिक रंग वा पेन्ट प्रयोग गरिन्छ । हिजोआज घरको आन्तरिक भित्ता सजावटका लागि पेन्टको मात्र भर पर्नुपर्दैन । चाहेजस्तो रंगीबिरंगी वाल पेपर बजारमा उपलब्ध छन् । आफूलाई मन पर्ने डिजाइन र रंगका वालपेपर किनेर कोठालाई थप आकर्षक देखिने गरी सजावट गर्न सकिन्छ ।
के हो वालपेपर ?
घरका कोठाको भित्तामा टाँस्न मिल्ने गरी बलियो किसिमका विभिन्न डिजाइन प्रिन्ट गरेर वा डिजाइनबिनै विभिन्न रंगमा ठूलो रोलमा उपलब्ध कागज नै वालपेपर हो । यसलाई आगो, पानी आदिले हानि नगरोस् भनेर विशेष प्रविधि र केमिकल मिलाएर बनाइएको हुन्छ । बजारबाट खरिद गरेर वालपेपरसँगै उपलब्ध हुने पेस्ट (गम) को सहायताले भित्तामा टाँसेर रंगको विकल्पको रूपमा वा घरका कोठालाई थप आकर्षक बनाउन प्रयोग गर्न सकिन्छ । वालपेपर विभिन्न साइज र विविध गुणस्तरका पाइन्छन् । जानकारका अनुसार सादा वालपेपरमा आफू अनुकूल डिजाइन बनाउन वा पेन्ट गर्न सकिन्छ ।
वालपेपरको मूल्य
पछिल्लो समय घर निर्माणमा लोकप्रिय हुँदै गएको वालपेपर नेपालमा उत्पादन हुँदैन । वर्षदेखि वालपेपर आपूर्ति गर्दै आएको वालपेपर नेपाल प्रालि तिनकुनेका कर्मचारी निमेष कार्कीका अनुसार नेपालमा उपलब्ध वालपेपर मुख्यतः चीनबाट आयात गरिन्छ । उनका अनुसार हाल उपलब्ध वालपेपरको औसत साइज ५६ स्वायर फिट क्षेत्रफलको हुन्छ । विभिन्न डिजाइन र वालपेपर निर्माणमा प्रयोग भएको कच्चापदार्थ तथा निर्माण प्रक्रियाको आधारमा प्रतिरोल १५ सयदेखि ४ हजार रुपैयाँसम्म पर्ने वालपेपर नेपाली बजारमा पाइन्छन् । मुख्य बजारमा घरको आन्तरिक साजसज्जाको सामग्री बिक्री पसलमा वालपेपर सहजै पाउन सकिन्छ । वालपेपको टिकाउ अवधि कम्तीमा १५ वर्षको हुन्छ । घरमा लगाइने पेन्टको वारेन्टी औसत ७ वर्षको हुने तथ्यलाई आधार मान्दा र वालपेपर बढी टिकाउ देखिँदा मूल्यको आधारमा पनि किफायती हुन्छ ।
भित्तामा कसरी टाँस्ने ?
वालपेपर पाइने पसलमै त्यसलाई टाँस्ने वालपेपर पेस्ट पाइन्छ । त्यसैको सहायताले भित्तामा टाँस्न सकिन्छ । सामान्य रंग रोगन लगाउन जस्तै, वालपेपरका लागि पनि भित्ता सुक्खा, प्वाल वा खाल्डाखुल्डी नभएको चिल्लो, ओस, ढुसी वा धुलोरहित हुनुपर्दछ । त्यस्तो भित्तामा वालपेपरसँगै उपलब्ध गराइने निर्देशिकामा बताइएबमोजिम भित्ताको साइजअनुसार वालपेपर मिलाएर काटेर क्रमशः टाँस्न सकिन्छ । वालपेपरको बुट्टा वा डिजाइनलाई मिलाएर काट्न, अर्को टुक्रासँग लयबद्ध बनाउन तथा भान्सा, भर्याङ वा कुना परेको स्थामा टाँस्न भने अनुभवी कालिगढको सहयोग लिनु उचित हुन्छ । भित्ताका साथै वालपेपरलाई सिलिङमा पनि लगाउन सकिन्छ ।
वालपेपर प्रयोग गर्नुको फाइदा
प्रचलित पेन्ट वा रंगरोगनमा वालपेपरमा जस्तै रंगीन वा थरीथरी बुट्टा पेन्ट गर्न असम्भव छ अथवा अधिक महँगो पर्न जान्छ । घरका सदस्यलाई आफ्नो कोठामा कसैलाई कुन रंग, कसैलाई कुनै डिजाइन मन पर्न सक्छ । त्यस्तो अवस्थामा पनि परम्परागत रंगरोगन बढी झन्झटिलो र खर्चिलो हुन जान्छ । तर, वालपेपर बिनाझन्झट कोठैपिच्छे वा अझ भित्तैपिच्छे फरक किसिमको पनि लगाउन सकिन्छ । घरका अभिभावकको मास्टर बेडरुममा त्यसैअनुसार सालिन डिजाइन र घरका किशोर सदस्यको कोठामा उनीहरूकै रुचिअनुसारका बढी रंगीबिरंगी डिजाइन सजिलै छनोट गर्न सकिन्छ । घरमा बैठक कोठा, कार्यालय कोठा, पुस्तकालय आदि छन् भने कोठैपिच्छे सोहीअनुसारका डिजाइनमा कोठाको भित्ता तयार गर्न सकिन्छ । कोठाको नापअनुसार वालपेपर खरिद गर्न सकिने हुँदा खेर जाने डर पनि हुँदैन । वालपेपर सामान्य पेन्ट गरिएको भित्ताभन्दा चिल्लो हुने हुँदा झिंगा र अन्य किटपतंगले डेरा जमाएर दुःख दिने सम्भावना कम हुन्छ । धुँवा, धुलो, मैलो भइहाले पनि भिजेको रुमाल, टिस्युपेपर आदिले धोएर सफा गर्न सकिने भएकाले कोठालाई सधैं सफा र नयाँजस्तै राख्न सकिन्छ ।