ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठको विकल्प बन्दै बेतका फर्निचर, डिजाइनअनुसारको मूल्य

२०७८ चैत, १८  
समाचार अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । घर, कार्यालय, होटल, रेस्टुराँ आदिमा अत्यावश्यक फर्निचरका लागि काठ अधिक उपयोग हुने गर्दछ ।

पछिल्लो समय काठको भाउ अकासिएको र यसको विकल्पमा आउने अन्य सामग्री काठजस्तै नहुने, केमिकलयुक्त हुन सक्ने र अनावश्यक महँगो पर्ने सम्भावना भएकाले अर्को विकल्पको रूपमा बेतलाई लिन सकिन्छ ।

घर तथा कार्यालयमा आवश्यक फर्निचरहरू, जस्तै– सोफा, टेबल, कुर्सी, सजावटका सामान, विभिन्न सामान राख्ने टोकरी आदि बेत फर्निचर पसलमा पाइन्छन् । 

प्राकृतिक रूपमा उपलब्ध बेतलाई सुकाएर वा सिजनिङ गरेर चाहिएको बिन्दुमा उच्च ताप दिई आवश्यकताअनुसार मोडेर विभिन्न साइज र डिजाइनका फर्निचर वा उपयोगी वस्तु बनाइन्छ । आवश्यक ठाउँमा स–साना काँटी प्रयोग गरेर, बाँसको चोया वा बेतलाई नै उपयोग गरेर बेतको फर्निचरलाई पूर्णता दिइन्छ ।

यसबाट कुनै पनि सामान तयार गर्दा सबैजसो प्राकृतिक सामग्रीको प्रयोग हुने भएकाले बेतको फर्निचर प्रयोग गर्नुको सबैभन्दा सन्तुष्टिको विषय यो वातावरणमैत्री हुनु हो । प्राकृतिक वातावरणमाथि चुनौती रहेका बेला हामीले उपयोग गर्ने सामान प्राकृतिक सामग्री हुनु सकारात्मक नै हो । 

बेतका सामान हलुका हुनु अर्को फाइदाको कुरा हो । कोठामा काम विशेषले फर्निचर सार्नुपर्ने भए वा कोठामा सेटिङ भइरहेको फर्निचर परिवर्तन गर्नुपर्ने अवस्थामा सजिलै घरपरिवारकै सदस्य मिलेर एक ठाउँबाट अर्को ठाउँमा सार्न र मिलाउन सकिन्छ । यसबाट अतिरिक्त जनशक्तिलाई गर्नुपर्ने खर्च बच्छ । बेतका सामान हेर्दा बढी प्राकृतिक र आकर्षक पनि हुन्छन् ।  

डिजाइनअनुसारको मूल्य
बेत र बाँसबाट बनेका फर्निचरको व्यवसाय गरिरहेका इटहरीस्थित भूमिका फर्निचरका सञ्चालक विशाल श्रेष्ठ राजधानी बाहिरै भए पनि आफ्नो व्यवसायबाट सन्तुष्ट छन् । उनका अनुसार बेतका फर्निचर डिजाइनअनुसार काठको परम्परागत फर्निचरभन्दा महँगो पर्न सक्छ ।

तर, साधारण डिजाइनको हो भने सस्तैमा पनि उपलब्ध हुन सक्छ । श्रेष्ठका अनुसार बेत फर्निचरका लागि आवश्यक कच्चा पदार्थ बेत भारतबाटै आयात हुन्छ । नेपालमा व्यावसायिक बेतको उत्पादन नहुने एवं भारतबाट चाहिएको साइज र गुणस्तरको बेत ठूलो मात्रामा ल्याउन सकिने भएकाले भारतीय बेतकै प्रायोग भएको हो ।

उपलब्ध बेतबाट ग्राहकले चाहेको जस्तै साइज र डिजाइनमा विभिन्न फर्निचर सामग्री बनाउन सकिन्छ । डिजाइन र परिमाण अनुसार मगाइएका सामान केही दिनमै तयार गरी ग्राहकले चाहेको स्थानसम्म पुर्‍याउन सकिन्छ । 

उनका अनुसार सामान्य डिजाइनको ५ सिट क्षमताको बेतको सोफा सेटलाई ४० हजार रुपैयाँसम्म पर्दछ । काठको प्रचलित त्यति नै सिट क्षमताको सोफालाई १५ हजार जति बढी पर्ने देखिँदा बेतको फर्निचर केही सस्तो हुन्छ । बेतको फर्निचर टिकाउ पनि हुन्छ । बेतका सामग्रीको औसत आयु २५ वर्षको हुने व्यवसायी श्रेष्ठ बताउँछन् । 

बेतका फर्निचरलाई विशेष स्याहार गर्नुपर्दैन । तिनलाई सीधा घाम वा पानी पर्ने ठाउँमा भने राख्नुहुन्न । घामको उच्च तापका कारण चर्किने र पानीका कारण ढाडिने हुन सक्छ । बेतका फर्निचरमा अत्यधिक गह्रौं सामान पनि राख्नुहुँदैन ।

स–साना काँटीको प्रयोग हुने र बेत आफै पनि सानै साइजको हुने हँुदा अत्यधिक गह्रौं वस्तु राख्नाले फर्निचर चाँडै बिग्रिन सक्दछ । घरमा साना केटाकेटी छन् भने उनीहरूलाई सोफा, फर्निचरमाथि उफ्रिन वा खेल्नबाट वर्जित गर्नु बुद्धिमानी हुन्छ । 

सामान्य होशियारी अपनाउँदै हेर्दा आकर्षक देखिने, प्रकृतिमैत्री फर्निचर आफ्ना कोठा तथा कार्यालयमा उपयोग गर्न सक्दछौं । फर्निचरको साथमा जुत्ता राख्ने र्‍याक, फोहोर राख्ने डस्टबिन, कपडा झुन्ड्याउने ह्यांगर, ल्याम्प पोस्ट र विभिन्न थरी सजावटका सामानसमेत पनि बेत फर्निचर पसलमा पाइने हुनाले तिनको उपयोग गर्न सकिन्छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)