ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरबाट सगरमाथा बेस क्याम्पसम्म सडक आवश्यक

२०७८ चैत, २१  
विविध अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found

पूर्वी नेपालको आर्थिक गतिविधिका अलावा राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको ऐतिहासिक औद्योगिक नगरी विराटनगरले नेपालको अर्थतन्त्रमा विशेष योगदान पुर्‍याउनुका साथै मुलुककै औद्योगिक, व्यावसायिक हबको रूपमा पहिचान बनाएको छ । 

यस क्षेत्रको व्यापार, व्यवसायलाई राष्ट्रिय एवं अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन र अझ प्रभावशाली पार्ने उद्देश्यले मोरङ व्यापार संघले समय समयमा मेला, महोत्सव, प्रदर्शनी आदि आयोजना गर्दै आएको छ । संघले विगतमा आयोजना गरेका एक्स्पोहरूले उदाहरणीय सफलता हासिल गरेको स्मरण गराउन चाहन्छौं । 

यसै क्रममा यस वर्ष पनि संघले चैत १८ देखि २६ गतेसम्म अन्तरराष्ट्रिय स्तरको ‘ट्रेड एक्स्पो २०२२’ आयोजना गरेको छ । ९ दिन चल्ने यो एक्स्पोले विगतमा झैं उद्यमी, व्यवसायी र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गराउने तथा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त सबै प्रदेशको महत्त्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य, लगायत औद्योगिक उत्पादन एवं भारत, चीन, बंगलादेश, पाकिस्तान आदि मुलुकका समेत उत्पादन समेट्ने जमर्को गरेको छ । साथै, यो एक्स्पोले दर्शकका लागि प्रशस्त मनोरञ्जनात्मक सामग्री समेत लिएर आएकाले यसबाट भरपूर लाभ लिन सबैमा आग्रह गर्दछु ।

यो मौकामा म हाम्रा केही धारणा प्रस्तुत गर्ने अनुमति चाहन्छु । देशको अहिलेको अवस्था अत्यन्त जर्जर छ । कोभिड महामारीको मारबाट उम्कन नपाउँदै उद्योगी, व्यवसायी  मीरगञ्ज पुल, चर्को बैंक ब्याज, पूँजीको अभाव, विद्युत् अभाव लगायत कैयौं समस्याले ओझेल परेका छन् । प्रधानमन्त्रीज्यूलाई मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजूलाई भारत भ्रमणको टोलीमा प्रतिनिधित्व गर्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद दिँदै मीरगञ्ज पुलको समस्या यथाशीघ्र समाधान गराउन पहलका लागि अनुरोध गरिसकिएको पनि जानकारी गराउँदछु । 

हाम्रो मुलुकमा पर्यटकीय दृष्टिले प्रचूर सम्भावना छ । अहिले हामी विराटनगर जस्तो नेपालको पौराणिक, ऐतिहासिक तथा औद्योगिक नगरमा छौं । यो प्रदेश नं १ को राजधानी पनि हो । १४ जिल्ला र १३७ स्थानीय तह रहेको यो प्रदेश ५८ मीटरको उचाइमा रहेका केचनकवलदेखि ८ हजार ८४८ मिटरको सगरमाथासम्म फैलिएको छ । यस प्रदेशमा तराई, चुरे, महाभारत र पाँच उच्च हिमशिखर छन् । समुद्रसँगको पहुँचको दृष्टिले सबभन्दा नजिक रहनु, उत्तरमा चीन, पूर्व तथा दक्षिणमा भारतका तीन राज्यसँग जोडिएको अवस्था, जनसंख्या, क्षेत्रफल र कूल गार्हस्थ उत्पादनको दृष्टिले सन्तुलित, मानव विकास सूचकमा अगाडि, आयको दृष्टिले औसतभन्दा माथि रहनु, कृषि अनुकूल धरातल, रेल र सडक मार्ग समेतका भौतिक संरचनाको उपलब्धता, औद्योगिक क्षेत्र, ड्राईपोर्ट तथा भन्सार व्यवस्थापन र अन्य औद्योगिक पूर्वाधार तथा बजार, जल, सौर्य, बायो र वायु समेतका ऊर्जा उत्पादन गर्न सकिने अत्यधिक सम्भावना रहनु यस प्रदेशका सबल पक्ष हुन्, जसले यस क्षेत्रको आर्थिक विकासको सम्भावना बढाएका छन् । 

उदाहरणकै रूपमा भन्नुपर्दा, हामीले सगरमाथाको फेदीसम्म प्रादेशिक राजधानीबाट सडक निर्माण गर्न सके यस प्रदेशको कायापटल हुन सक्ने सम्भावना छ । त्यस्तै, चतरालाई भारतको बनारस जस्तो धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनु पर्दछ । भेडेटारको सौन्दर्यीकरणमा काम गर्न सके ठूलो फड्को मार्न सकिन्छ । प्रदर्शनी स्थल निर्माणका लागि हामीले जग्गा लिजमा खोजिसकेका छौं । अब प्रदर्शनी स्थलमा भौतिक संरचना बनाउन बजेटका लागि पहल गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं ।  (रिजालले एक्स्पो उद्घाटन सत्रमा दिएको मन्तव्यको सम्पादित अंश ।)

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)