ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक दशकमा प्रदेश १ तीव्र शहरीकरणतर्फ, यी हुन् १४ जिल्लाका १०० बढी शहर बजार

२०७८ चैत, २१  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर ।  पूर्व–पश्चिम राजमार्ग बन्नुअघि इटहरीको अस्तित्व सामान्य बस्तीका रूपमा थियो । राणाकालमा सतन चौधरीले गैसार भन्ने ठाउँमा जंगल फाँडी यहाँ बसोबास शुरू गरे । अहिलेको इटहरी चोकभन्दा एक किलोमीटर दक्षिणमा रहेको गैसारबाट उत्तरमा ढेडु टोलसम्म फैलिएको बस्तीले आधुनिक रूप धारण गर्न राजमार्ग नै बन्नुपर्‍यो । 

त्यसअघि पूर्वबाट राजधानी जान विकट पहाडी बाटाहरूको प्रयोग हुन्थ्यो । महीनौं हिँडेर राजधानी पुग्नुपर्थ्यो । गाडी चढ्नुपरे भारतको बाटो हुँदै रक्सौलसम्म पुगिन्थ्यो र वीरगञ्ज नाकाबाट राजधानी जानुपर्थ्यो । राजमार्ग निर्माणसँगै यो सवारी चालकहरू बस्ने ‘जक्शन’ बन्यो । बिस्तारै आवागमनको केन्द्र पनि । त्यसपछि यसले रूपै फेर्‍यो । जोगबनीदेखि पहाड उक्लिने बाटाले यहीँनेर पूर्व–पश्चिम राजमार्गलाई छेड्यो । अनि, इटहरी पूर्वकै व्यस्त शहर बन्यो ।

गाउँबाट उठेर २०५३ मा नगरपालिका घोषित इटहरी २०७१ मङ्सिरमा उपमहानगरपालिका बन्यो । सुखद संयोग प्रदेश १ का दुई उपमहानगरपालिका सुनसरीमै ‘जुम्ल्याहा’ रूपमा छन्, इटहरी र धरान । यी दुवैले यो प्रदेशको वैभवलाई प्रतिनिधित्व गर्छन् । बितेको दशकमा इटहरी मात्र होइन, यसको पश्चिमको पकली, उत्तरको हाँसपोसा र दक्षिणको खनारसमेत शहरीकरणमा समेटिएका छन् । र, इटहरी–धरानको खाली–सीमा मेटिँदै गएको छ ।

उदाहरण इटहरीको भए पनि मुहार यो सिंगो पूर्वी नेपालको हो । केही वर्षयता यहाँ शहरीकरणको गति तीव्र छ । १९७० सालसम्म दमक दलदल क्षेत्र थियो । झापाको पुरानो बजार गौरीगञ्ज र मोरङको मधुमल्ला आउजाउ गर्दा त्यही दलदल बाटो हिँड्नुपर्थ्यो । त्यही भएर आदिवासी धिमाल समुदायले यसलाई ‘दालदालीको दामा’ भन्ने गर्थे । त्यही शब्द अपभ्रंश हुँदै दमक नामकरण हुन पुगेको दमक नगरपालिकाका पूर्वउपप्रमुख मोहन धिमालले बताए ।

त्यसपछि विस्तारै नजिकैको रतुवा बगरमा बुधवार बजार लाग्न शुरू भएको थियो । अनि, बजारीकरणतर्फ लाग्यो । २०३९ मा नगरपालिका बनेको दमक तीव्र विकासका साथ अघि बढिरहेको छ । दमकमा विश्वकै अग्लो बुद्ध मूर्ति, क्लिन इन्डस्ट्रियल पार्क, भ्यु टावर निर्माण गर्ने ठूला योजना प्रस्ताव गरिएका छन । निर्माणाधीन अन्य योजनामा फाल्गुनन्द सभागृह, नमूना बजार, फोहोरमैला प्रशोधन केन्द्र, चक्रपथलगायत छन् । 

प्रदेश १ को राजधानी विराटनगर घोषणा भयो । तर, यसको नामकरणका लागि दलहरूबीच सहमतिका प्रयास भइरहेको छ । विराटनगरको विकासको गति र फैलावट पनि गतिशील छ । २२ किलोमीटर पूर्वमा रहेको रंगेलीबाट १९७१ सालमा मोरङको सदरमुकाम यहाँ सारिएको हो । २००८ सालमा नगरपालिका घोषित विराटनगर ११ वर्षअघि उपमहानगरपालिका बन्यो । यही वर्ष महानगरपालिका बनिसकेको छ । भवन तथा शहरी विकास डिभिजन कार्यालय विराटनगरका डिभिजनल इन्जिनीयर श्यामकिशोर सिंहका अनुसार सार्क क्षेत्रमै शहरीकरणको गति नेपालको बढी छ ।

‘नेपालभित्र पनि सातओटा प्रदेशमध्ये १ नम्बरमा तीव्र गतिमा शहरीकरण भइरहेको छ,’ उनले भने, ‘यसको कारण हो, बसाइँसराइ । पूर्वाधार र सुविधा भएका क्षेत्रमा बसाइ सर्ने क्रम बढेको छ । यसले शहरीकरणमा दबाब पुगेको छ । आर्थिक गतिविधि शहरमै बढी छ । सुविधा बढी भएकाले शहरले गाउँका मान्छेलाई तानिरहेको छ, गाउँले शहरतिर ठेलिरहेको छ ।’

नगरमा गुरुयोजना बनाएर बस्ती विकास, बाटो सञ्जाल, विद्यालय, डम्पिङ साइटजस्ता कुरामा ध्यान दिनु जरुरी रहेको उनले औंल्याए । ‘धेरै गाउँ हुँदा पहिला सानो जनसंख्या थियो, सानै शक्ति थियो । अब एकीकृत हुँदा ठूलो जनसंख्या भएको छ र यसले ठूलै शक्ति निर्माण गरेको छ । यसलाई विकासमा लगाउनुपर्छ,’ उनले भने । सिंहका अनुसार राजमार्ग आसपास क्षेत्रमा बढी शहरीकरण भइरहेको छ । यसले गर्दा आर्थिक गतिविधि पनि वृद्धि भइरहेको छ ।

पूर्वतिर रंगेली, उत्तरतिर धरानसम्म गाभेर यसलाई ‘बृहत्तर विराटनगर महानगर’ बनाउन सकिने योजनाविद्हरू बताउँछन् ।

त्यति मात्र होइन, विराटनगर देशकै ठूलो महानगरको अवस्थिति बोकेको शहर हो । पूर्वतिर रंगेली, उत्तरतिर धरानसम्म गाभेर यसलाई ‘बृहत्तर विराटनगर महानगर’ बनाउन सकिने योजनाविद्हरू बताउँछन् । बीचतिर इटहरी, इनरुवालगायत शहर यसमा जोडिनेछन् । डिभिजनल इन्जिनीयर श्यामकिशोर सिंहले पनि शहरी विकासलाई उच्चस्तरमा लैजान यो अवधारणा उचित हुने बताए ।

तत्कालीन योजना आयोगमा शहरी विकाससम्बन्धी जिम्मेवारी वहन गर्ने सदस्य डा. सुनीलबाबु श्रेष्ठ भन्छन्, ‘सिँगै देशमा शहरीकरणको गति तीव्र छ, त्यसभन्दा तीव्र १ नम्बर प्रदेशमा छ ।’

राज्यको पुन:संरचनाका क्रममा स्थानीय तह शक्तिशाली भएका छन् । साविक गाविस/नगरपालिका गाभेर ठूला आकारका गाउँपालिका/ नगरपालिका बनाइएका छन् । तिनलाई अधिकारसम्पन्न बनाइएका छन् । स्रोतको उत्पादनदेखि परिचालनसम्मका स्वायत्तता दिइएका छन्। यसले पनि शहरीकरणमा बल पुग्ने विज्ञहरूको अपेक्षा छ ।

सरकारले शहरीकरणका लागि केही नयाँ योजनासमेत अघि सारेको छ । त्यसमध्ये एउटा हो ‘एक शहर एक पहिचान ।’ श्रेष्ठका अनुसार यसका लागि प्रदेश १ का विभिन्न शहरले ‘पहिचान’ का प्रस्तावहरू हालिरहेका छन् । ‘धनकुटाले खाद्य हरियाली नगरका रूपमा पहिचान चाहेको छ,’ उनले भने, ‘यो यस्तो योजना हो, जसमा कृषिमा आत्मनिर्भरतासहित हरियालीलाई प्राथमिकता दिइन्छ । जस्तो– घरमा फलफूलको बगैंचा लगाउने । यसले हरियालीसँगै आम्दानी पनि हुन्छ ।’ दमक, इलामलगायत शहरले पनि ‘पहिचान’ का परियोजना बनाइरहेको उनले जानकारी गराए । त्यस्तै, सरकारको अर्को योजना हो– ‘स्मार्ट भिलेज ।’ त्यसका लागि पनि ठाउँ छनोट भइरहेको उनले जानकारी दिए । उनका अनुसार यस वर्ष ३ ओटा खाद्य हरियाली शहर र ७५ ओटा ‘स्मार्ट भिलेज’ बनाउने तयारी छ ।

नेपालमा यति धेरै नगर घोषणा गरिएका छन् कि हामी नगरवासीका रूपमा दक्षिण एशियामा एक नम्बरमा छौं । देशभर नगरवासीको संख्या ५८ दशमलव ४ प्रतिशत पुगेको छ । तर, कतिपय नगरपालिकामा पूर्वाधार कमजोर छन् । ‘तिनलाई विकासपथमा तीव्र गतिमा अघि लैजानु जरुरी छ, चुनौती पनि उत्तिकै छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि योजना आयोगले एकीकृत शहरी विकास योजना ल्याउन हरेक स्थानीय तहलाई भनेको छ ।

त्यसपछि सडक, ढल, बिजुली, टेलिफोनजस्ता काम एकीकृत ढंगले हुनेछन । एउटा विकास गर्दा अर्को अवरुद्ध हुने वा भत्किने क्रम सकिनेछ ।’ प्रदेश १ मा एउटा महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका छन् ।

राणाशासनकालमा धनकुटा बडाहाकिम कार्यालय थियो । यसैले तराईका केही भाग र इलामसम्मको प्रशासन हेर्थ्यो । विसं १९४२ पछि धनकुटा पूर्वका ३ अड्डाका अपिल सुन्ने केन्द्र बन्यो । पञ्चायतकालमा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम अर्थात् १६ जिल्लाको प्रशासनिक केन्द्र बन्यो ।

विकासको गतिमा पहाड पनि लम्किँदै
तराईका मात्र होइन, प्रदेश १ का पहाडी शहर पनि तीव्र गतिमा अघि बढिरहेका छन् । इलाम २०१५ मै नगरपालिका बने पनि पूर्वाधार र विकासमा पछाडि थियो । कृषि र पर्यटनका बलमा यसले विकासको अग्रता समाएको छ । यहाँ विमानस्थल, जैविक विविधतायुक्त पर्यटकीय स्थल, सभागृह निर्माण तीव्रतर गतिमा भइरहेको छ ।

विकासको गति समाएको अर्को शहर हो– धनकुटा । राणाशासनकालमा धनकुटा बडाहाकिम कार्यालय थियो । यसैले तराईका केही भाग र इलामसम्मको प्रशासन हेर्थ्यो । विसं १९४२ पछि धनकुटा पूर्वका ३ अड्डाका अपिल सुन्ने केन्द्र बन्यो । पञ्चायतकालमा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम अर्थात् १६ जिल्लाको प्रशासनिक केन्द्र बन्यो ।

२०४६ को परिवर्तनपछि विकास क्षेत्रको अवधारणालाई कम महत्त्व दिएका कारण प्रशासनिक रूपमा यसको प्रभाव घट्न थाल्यो । नेपालको एकीकरण भएबाटै धनकुटा बनेर यहाँबाट प्रशासनिक, सामरिक र न्यायिक काम शुरू भएको इतिहासकार डा. गोपालबहादुर भट्टराईले जानकारी दिए । त्यहाँबाट यहाँ आइपुग्दा पछिल्लो छोटो समयमा यसले भौतिक विकासमा राम्रै फडको मारेको छ ।

तीव्र शहरीकरणमा अघि बढिरहेका शहरहरू 
मोरङ : विराटनगर, रंगेली, उर्लाबारी, बेलबारी, विराटचोक, सलकपुर, लेटाङ, कटहरी, डायनियाँ, नयाँ बजार, कर्सिया, मिक्लाजुङ, पथरी, शनिश्चरे, झोराहाट

सुनसरी : धरान, इटहरी, झुम्का, तरहरा, इनरुवा, चतरा, भरौल, दुहबी

झापा : दमक, बिर्तामोड, काँकडभिट्टा, भद्रपुर, सुरुंगा, धुलाबारी, झिलझिले, गौरादह, गौरीगन्ज, चन्द्रगढी, चारआली, बुधबारे, शनिश्चरे

धनकुटा : धनकुटा बजार, हिले, जितपुर, पाख्रिबास, लेगुवा, जोरपाटी, सिँधुवा, तित्रे, भेडेटार, डाँडाबजार, राजारानी, मौनाबुधुक, शुक्रबारे

तेह्रथुम : वसन्तपुर, म्याङलुङ, जिरीखिम्ती, मोराहाङ, पोक्लाबाङ, संक्रान्ती, चुहानडाँडा, लसुने, शुक्रबारे

संखुवासभा : खाँदबारी, चैनपुर, तुम्लिङटार, मुढेशनिश्चरे, किमाथांका, हटियागोला, बाना बजार, बाह्रबिसे, ताम्कु

ताप्लेजुङ : फुङलिङ, दोभान, खाम्दिंगे, सिवा

पाँचथर : फिदिम, यासोक, रवि, दुरदिम्बा, जोरपोखरी, थर्पु, पञ्चमी, अमरपुर, भालुचोक, काबेली, च्याङ्थापु, फलैंचा, ओयाम, मावा, आङना, चिसापानी, राँके, पौवाभन्ज्याङ, नवमीडाँडा

इलाम : सदरमुकाम इलाम बजार, फिक्कल, मंगलबारे, देउराली, शुक्रबारे, माङसेबुङ, पशुपतिनगर, सप्तमी, कुटिडाँडा, जौबारी, आइतबारे

उदयपुर : गाईघाट, बेलटार, कटारी, रामपुर, मुर्कुची

ओखलढुंगा : रुम्जाटार, मानेभन्ज्याङ, रामपुर, खानीभन्ज्याङ, खिदी फलाँटे, घोराखोसी, ओखलढुंगा

भोजपुर : भोजपुर, दिङ्ला, घोडेटार, तिवारीभन्ज्याङ, प्याउली, बालङखा, टक्सार

खोटाङ : दिक्तेल, खोटाङ बजार, ऐंसेलुखर्क, बाक्सिला, बुइपा, मानेभन्ज्याङ, चिसापानी, सिमपानी

सोलुखुम्बु : नाम्चे, सल्लेरी, लुक्ला, नेचा, पत्ताले

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)