ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्रेड एक्स्पोको चौथो दिन : कोभिडपछिको जमघट स्थल बन्यो एक्स्पो 

२०७८ चैत, २२  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । मोरङ व्यापार संघले आयोजना गरेको ‘ट्रेड एक्स्पो २०२२’को चौथो दिन (सोमवार) १२ हजार जनाले अवलोकन गरेका छन् । कोभिड महामारीको कारण लामो समय मनोरञ्जन क्षेत्रमा भएको प्रतिबन्धपछि आयोजना भएको ट्रेड एक्स्पोमा किनमेल र मनोरञ्जन गर्न आउनेको संख्या बढेको छ । 

अवलोकनकर्ताले एक्स्पोको भ्रमणले निकै आनन्दित बनाएको प्रतिक्रिया दिएका छन् । स्टल भाडामा लिएर आफ्नो उत्पादन विक्री गरिरहेका व्यवसायीहरूले पनि उपभोक्ताले राम्ररी नै खरीद गरिरहेको र स्टलको हेर्न आउनेको संख्या निकै राम्रो भएको बताएका छन् । 

मोरङ जहदा गाउँपालिका–२ का गंगा राय शाहले पहिलेका एक्स्पो भन्दा यो निकै फरक रहेको बताए । आफू घाममा निकै धापिएर आएको बेला पहिलो प्रवेश नै एयर कन्डिसन भएको डोममा भएकाले निकै राहत र आराम महसूस गरेको बताए । उनले श्रीमती र छोरालाई पनि मेला घुमाए । आइसक्रिम खाए अनि रोटेपिङमा फन्को पनि लगाए । 

एक्स्पोमा आएपछि समय कटेको पत्तै नपाउने गरी यसपटक व्यवस्था मिलाइएकोमा सकारात्मक प्रतिक्रिया दिँदै उनले भने, ‘दुई घण्टा बितेको पत्तै भएन, घर टाढा भएकाले अब निस्कन लाग्दै छौं, नत्र अझै बस्न मन थियो ।’

विराटनगर–८ घर भएकी तिलियादेवी रायले एक्स्पोमा ५ किलो लुगा धुने पाउडर किन्दा एउटा बाल्टी उपहार पाइन् । श्रीमानसँग एक्स्पो घुम्न आएकी उनले  डिटरजेन्ट पाउडर मात्रै होइन, अचारलगायत अन्य खानेकुरा पनि किनिन् । बाहिरभन्दा सस्तो भएको र उपहारसमेत रहेकाले आफूले यहीँ नै सामान किनेको उनले बताइन् । 

उनले एयर साइकल, जिपलाइनलगायत खेल थपिएको बताइन् । यसरी बेला बेलामा एक्स्पो लाग्दा उपभोक्तालाई फाइदा हुने उनको भनाइ थियो । 

विराटनगर–३ पोखरिया घर भएका पुरुषोत्तम पोखरेलले एक्स्पो आफूलाई रमाइलो लागेको प्रतिक्रिया दिए । श्रीमती सुचिता पोखरेलका साथ एक्स्पो घुम्न आएका उनले सेल्फी जोन, साहसिक खेल नयाँ भएको बताए । सुचिता पोखरेलले यो पटकको एक्स्पोमा धेरै नयाँ परिवर्तन पाएको बताइन् । उनले यो पटक अन्य एक्स्पो भन्दा ठाउँ फराकिलो पाइएको र जति भीड भए पनि सहज भएर हिँड्न र किनमेल गर्न सकिएको बताइन् । कोरोनापछि खुलेर मनोरञ्जन स्थल घुम्न पाएको उनको भनाइ थियो । 

किसान पेडिया सर्भिस प्रालिको स्टलमा किसानहरूको खास आकर्षण रहेको छ । किसानलाई प्राविधिक परामर्श दिनुका साथै गड्यौला मल र बीउ आदिको पनि राम्रो विक्री भइरहेको स्टलका प्रतिनिधि राजेश मेहताले बताए । 

त्यसैगरी सेञ्चुरी फुड एण्ड प्याकेजिङ दुहबीका कमलेश शर्माले आफ्नो स्टलमा महिलाहरू बढी आएको र चामल, दाल आदि किनेको बताए । पाँच किलोभन्दा बढी चामल खरीदमा विभिन्न उपहार राखिएको उनको भनाइ छ ।

त्यसैगरी, सेञ्चुरी मसलाले पनि आफ्नो स्टलमा १० प्रतिशत छूट दिएको छ । ५० रुपैयाँको कुनै पनि सामान खरीद गर्दा लक्की ड्रमार्फत तत्कालै हात खाली नजाने उपहारसमेत दिने गरेको छ । कोशी एरियाका सेल्स इन्चार्ज फरेश पौडेलले गृहिणीको विशेष रोजाइमा स्टल परिरहेको बताए । 

त्यस्तै, रमपम चाउचाउको स्टलमा पनि उपहार राखिएकाले बालबालिका र युवाहरूको भीड त्यहाँ पनि लागेको छ । पाँच प्याकेटको फेमिली प्याक टु पिएम हर्ट एण्ड स्पाइसी चाउचाउको खरीदमा एउटा चाउचाउ र चपस्टिक उपहार अथवा एउटा मेलामाइनको कचौरा उपहारमा राखिएको छ । त्यस्तै, रमपम फेमिली प्याकको खरीदमा एउटा स्टिलको कचौरा उपहार दिइएको एरिया सेल्स मेनेजर जीवन पराजुलीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)