ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ का पर्यटकीय स्थल : नेपालकै होचो केचनाकवलदेखि विश्वकै अग्लो सगरमाथासम्म

२०७८ चैत, २४  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । विश्वकै अग्लो शिखर सगरमाथा र नेपालको सबैभन्दा होचो भूभाग केचनाकवल भएर पनि सगरमाथासम्म जाने सजिलो बाटोको प्रबन्ध हुन नसक्दा प्रदेश नम्बर १ पर्यटकीय क्षेत्रमा अलिपछि नै छ । 

भौतिक पूर्वाधारको विकासमा अग्रणी भनिए पनि यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरूका बारेमा धेरैलाई थाहा नहुन सक्छ ।  काठमाडौंबाट हवाइ यात्रापछि विराटनगरमा ओर्लिएर कहाँ जाने, कस्तो ठाउँ जाने जस्ता अनेक प्रश्नले जोकोहीलाई पनि अन्योलमा पार्ने गर्छ ।

पर्यटन उद्योगका लागि पूर्व ‘भर्जिन’ नै मानिन्छ । विराटनगरबाट पूर्वका पर्यटकीय स्थल पुग्न खासै गाह्रो छैन । यस क्षेत्रका व्यवसायी, प्रदेश सरकार र स्थानीय तहले पर्यटन विकासका लागि प्याकेज बनाएर जान सके यस प्रदेशले मुलुकमै सबैभन्दा बढी पर्यटक भित्र्याउन सक्छ । इलाम, धनकुटालगायतका पहाडी जिल्लाहरू कृषि पर्यटनका लागि अगाडि छन्भने ताप्लेजुङ, सुनसरी, खोटाङलगायतका जिल्लाहरू धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण मानिन्छन् । तेह्रथुम, संखुवासभा, मोरङलगायतका जिल्ला जैविक विविधताका लागि अग्रपंक्तिमा छन् ।

पूर्वका केही प्रमुख पर्यटकीय गन्तव्यहरू
विराट राजाको दरबार
विराटनगर–२० बुधनगर भेडियारीमा महाभारतकालीन विराट राजाको दरबार रहेको छ । यस क्षेत्रमा जानका लागि निजी सवारी साधन प्रयोग गर्नुपर्छ वा पैदल जानुपर्ने हुन्छ ।

विराटराजाको दरबार करिब अढाई किलोमीटरको क्षेत्रमा फैलिएर रहेको छ । हाल यस दरबार क्षेत्रको संरक्षणका लागि तार घेराबेरा गरी पाँच कठ्ठा क्षेत्र संरक्षित रूपमा राखिएको छ । त्यहाँ भेटिएका पुरातात्त्विक वस्तुहरू हाल स्थानीय कमलकिशोर यादवको घरमा राखिएको छ ।

राजारानी धिमाल पोखरी
विराटनगरदेखि करिब ५० किमी उत्तरपूर्वमा पर्ने राजारानी क्षेत्र पुग्न पूर्व–पश्चिम राजमार्गमा पर्ने बेलबारी बजारदेखि करीब ९ किमी उत्तर लेटाङ गाविसको बुधवारे हुँदै चिसाङ खोला किनारबाट करीब एक घण्टाको उकालो चढ्नुपर्छ । ठाडो उकालो पार गर्दा धोबीडाँडा गाउँ पुगिन्छ । यसको पश्चिम राजारानी धिमाल पोखरी छ । वरिपरि डाँडैडाँडाले छेकिएको उपत्यका झैँ देखिने राजारानी क्षेत्रमा तीनवटा पोखरी र धिमाल तथा मगर समुदायले पूजा गर्ने गरेका दुई मन्दिर छन् ।

पूर्व नेपालको झापा र मोरङका आदिवासी धिमालहरूले अढाइ महिनासम्म मान्ने ढङढङे (असारे) मेला हरेक वर्षको वैशाख २ गते पोखरीस्थित धिमाल ग्रामथानमा पूजा गरेपछि शुरू हुन्छ । किम्बदन्तीअनुसार यस क्षेत्रमा कुनै बेला सत्य राजा र सत्य रानीले राज्य गरेका थिए ।

यहाँका राजाले विराट राजासँग लडाइँ गर्न जाँदा सेतो र कालो परेवा लिएर गएका थिए । सेतो परेवा फर्केर आएमा जित र कालो परेवा आएमा हार हुन्छ भनेर राजा लडाइँमा गए । परेवा बोकेको सिपाहीले बाटोमा चारो खुवाउन लाग्दा कालो परेवा उडेर आएपछि रानीले हार भएको ठानिन् । विलाप गरी जलेर मर्न लागिन् । उनी जल्दाजल्दै राजा फर्किएर आए तर रानी बाँच्न नसकेकाले राजाले पनि त्यही स्थानमा देहत्याग गरे । त्यसैले राजारानीको नाम सत्यराजा सत्यरानी रहेको भन्ने विश्वास धिमाल समुदायमा पाइन्छ ।

कोशीटप्पु 
कोशीटप्पु विराटनगरबाट ५० किलोमीटर पश्चिममा पर्छ । कोशीटप्पुलाई चराको स्वर्ग पनि भनिन्छ । कोशीटप्पुमा ५ सय २७ प्रजातिका चरा पाइन्छन् । नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये आधाभन्दा बढी कोशीटप्पुमा पाइन्छन् । विश्वमै दुर्लभ मानिने चराहरूको वासस्थान पनि कोशीटप्पु हो । 

कोशीटप्पुलाई अर्नाको राजधानी पनि भनिन्छ । यहाँ विश्वमै दुर्लभ मानिने बबुलिस जातको अर्ना पाइन्छ । अहिले कोशीटप्पुमा चार सय ४१ वटा अर्ना रहेका छन् । यहाँ होमस्टे, रिसोर्ट र होटलहरू बस्नका लागि उपलब्ध छन् । 

वराह क्षेत्र
कोका नदी र कोशी नदीको संगम स्थल सुनसरी जिल्लाको वराह क्षेत्र गाविसमा पर्ने यो धार्मिक स्थल पूर्वकै सबैभन्दा पुरानो मानिन्छ । यहाँ इन्द्र, वराह, कोकाह, सूर्य, बद्री, मुक्तेश्वर, लगायतका १० वटा मन्दिर छन् । 

हिन्दूहरूका देवता पहाड, गुफा, रुख तथा नदी किनार जस्ता असजिला स्थानमा बस्छन् भन्ने भनाइ अनुसार नै यहाँ यी देवता बसेको विश्वास गरिन्छ । यहाँ मुख्य रूपमा विष्णुको वराह अवतारको पूजा हुने गर्छ ।

विराटनगरबाट इटहरी, झुम्का हुँदै वराह क्षेत्र पुग्न करीब ५० किमी लामो यात्रा गर्नुपर्छ । वराह क्षेत्रबाट २६ किलोमीटर दक्षिणमा पर्ने सुनसरीकै साविक सिंघिया गाविसमा रामधुनी छ । यो पनि प्रसिद्व धार्मिक स्थल हो ।

विजयपुर
धरान नगरपालिकामा पर्ने विजयपुर क्षेत्र धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । यहाँ बुढा सुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या लगायतका मन्दिरहरू रहेका छन् । यातायातको राम्रो पहुँच भएको र बजार क्षेत्र आसपासमा भएकाले यहाँ जान सजिलो छ ।

विजयपुरमा अवस्थित बुढा सुब्बा मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास लिइन्छ । यहाँ युवायुवतीहरूले सफल प्रेमका लागि कामना गर्ने गरेको पाइन्छ । यसैगरी यहाँ दन्तकाली मन्दिर प्रसिद्ध छ । शिवजीले सतीदेवीलाई बोकेर हिँड्दा यो स्थानमा दाँत पतन भएको मानिन्छ । 

यसैगरी यहीँ रहेको पिण्डेश्वर मन्दिर पनि प्रख्यात छ । यहाँ शिवजीको पूजा हुन्छ । साउन महिनाको सोमवारका दिनहरूमा बोलबम यात्रा लाग्ने गर्छ । सेन राजाहरूले विजयपुरमा राज्य गरेको इतिहास पाइन्छ ।

भेडेटार
समुद्री सतहबाट १ हजार ४ सय २० मिटर उचाइमा रहेको भेडेटार बजार धरानबाट १६ किलोमीटर उत्तरमा अवस्थित छ । 

भेडेटारप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दो छ । अरुण उपत्यकाको प्रवेशद्वार धनकुटा जिल्लामा पर्ने भेडेटारमा जो पुग्छ उसले भेडेटारलाई स्वर्गको एक टुक्राको संज्ञा दिन्छ । बेलायती युवराज चाल्र्सलाई नेपालको कुनै ठाउँको सम्झना छ भने त्यो भेडेटार नै हुनु पर्दछ । उनी चढेपछि त्यसको नाम चाल्र्स प्वाइन्ट रह्यो । यहाँ अहिले तीनतले भ्यूटावर छ । त्यहाँबाट तराईका सम्म फाँटका साथै हिमालका शृंखलाहरूलाई समेत एकैपटक देख्न सकिन्छ । 

छिन्ताङ
छिन्ताङ धार्मिक दृष्टिकोणले जति महत्त्वपूर्ण छ राजनीतिक रूपमा पनि उत्तिकै छ । धनकुटा सदरमुकामबाट १३ किलोमीटर उत्तरमा पर्ने रमणीय हिले बजारबाट उत्तरपानी हुँदै आँखीसल्लाबाट छिन्ताङ पुग्नका लागि यातायातका साधन उपलब्ध छन्।

कुनै आपत् पर्दा वा राम्रो कुरा पाउनका लागि छिन्ताङदेवीको नाममा भाकल गर्नेहरू दर्शन गर्न त्यहाँ जान्छन् । दिउँसो चार बजेपछि मात्र मन्दिरको ढोका खुल्छ । रुखको फेदमा रहेको देवीथानलाई नै मन्दिरको मुख्य स्थान मानिन्छ । यहाँ राँगा, बोका, कुखुरा, परेवा, हाँसको वलि चढाउने गरिन्छ ।

२०३६ साल कात्तिक २७ देखि २९ गतेसम्म तत्कालीन शासकहरूले धनकुटा जिल्लाका  साविक खोकु छिन्ताङ र आँखीसल्ला गाविसमा नरसंहार मच्चाए र १५ जना गाउँलेहरूको ज्यान लिए । छिन्ताङ काण्डका नाममा यो ठाउँ चर्चित छ । 

गुफापोखरी
धनकुटाबाट करीब ५० किलोमीटरको कालोपत्रे सडक छिचोलेपछि तेह्रथुमको वसन्तपुर बजार पुगिन्छ । त्यहाँबाट उत्तर देउरालीसम्म ५ किमी कच्ची सडकको यात्रा गरेपछि झण्डै ५ घण्टा गुराँसे वनको अवलोकन गर्दै पैदल यात्रा तय गरेर गुफापोखरी पुगिन्छ । मूलतः यहाँ विभिन्न प्रजातिका गुराँस तथा जैविक विविधतालाई अवलोकन गर्न जानेहरूको संख्या बढी पाइन्छ । संखुवासभाको नुनढाकी–९ मा अवस्थित यो गुफापोखरी समुद्री सतहबाट २ हजार ८ सय ९० मिटर उचाइमा रहेको छ ।

अधिक हिमपात हुने गुफापोखरीमा पुस र माघ महिना हिउँ खेल्न उपयुक्त मानिन्छ । गुफापोखरी जोड्ने मोटरबाटो निर्माण द्रुतगतिमा भइरहेकाले १–२ वर्षमा गाडी चढेर यहाँ पुग्न सकिनेछ ।

तीनजुरे मिल्के जलजले
विराटनगरबाट उत्तरतर्फ धरान हुँदै १३० किलोमीटरको बस यात्रापछि तेह्रथुमको वसन्तपुर बजार पुगिन्छ । बजारको शिरमा अवस्थित तीनजुरे मिल्के जलजल क्षेत्रको भ्रमणका लागि पैदल यात्रा तय गर्नुपर्छ ।

तीनजुरे, पाँचपोखरी, चौकी, मंगलवारे, गुफाबजार, मिल्के डाँडासम्मको पैदल यात्रा गर्नु साँच्चै रमाइलो हुन्छ । यहाँ आएका पर्यटकहरूका लागि वसन्तपुर, टुटेदेउराली, पाँचपोखरी, चौकी, मंगलवारे र गुफाबजारमा वास बस्न र खाना खानाका लागि राम्रो व्यवस्था रहेको छ । वसन्तपुर, चौकी र गुफा बजारमा प्रहरी चौकी रहेकाले सुरक्षाको समेत राम्रो व्यवस्था छ । यो क्षेत्र ताप्लेजुङ, तेह्रथुम र संखुवासभामा फैलिएको छ । समुद्री सतहबाट १७ सयदेखि ५ हजार मीटरसम्मको उचाइमा रहेको यो करीब ५ सय ५८ वर्ग किलोमीटरमा फैलिएको छ ।

जैविक विविधताको खानी यो क्षेत्रको उत्तर पूर्वमा कञ्चनजंघा संरक्षण क्षेत्र र उत्तर पश्चिमतर्फ मकालु वरुण राष्ट्रिय निकुञ्ज तथा सगरमाथा राष्ट्रिय निकुञ्ज पर्दछन् । गुराँसका २८ भन्दा बढी प्रजाति पाइने भएकाले गुराँसको राजधानीको रूपमा यो क्षेत्र परिचित छ ।

ह्यातुङ झरना 
तेह्रथुमका साविक सम्दु र इसिवु गाविसका बीचमा रहेको यो झरना एसियाकै सबैभन्दा अग्लो झरना मानिन्छ । यो झरनासम्म पुग्न धरानबाट वसन्तपुर हँुदै तेह्रथुमको सदरमुकाम म्याङलुङ पुग्नुपर्छ र त्यहाँबाट एक दिन पैदल हिँड्नु पर्छ । यो झरनाको माथिबाट पानी खस्दा सप्तरङ्गी इन्दे्रणीको रमणीय दृश्य देखिन्छ ।

हलेसी महादेव
पूर्वकै प्रसिद्व धार्मिक स्थलका रूपमा चिनिएको हलेसी महादेवको मन्दिर खोटाङ जिल्लामा अवस्थित छ । हिन्दू, बौद्ध तथा किरातहरूको आस्थाको केन्द्रका रूपमा यो ठाउँ रहेको छ । बालाचतुर्दशी, रामनवमी र शिवरात्रि गरी वर्षमा तीनपटक मेला लाग्छ । जिल्ला सदरमुकाम दिक्तेलदेखि ४० किलोमीटर पश्चिममा रहेको यो मन्दिर पुग्न सवारी साधन उपलब्ध छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)