बैशाख १६, काठमाडौं । बिजनेश वुमन समिट एन्ड अवार्डस न्यू बिजनेश एजले वार्षिक रूपमा आयोजना गर्दै आएको विशेष कार्यक्रम हो । महिला उद्यमशीलताको प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यसहित न्यू बिजनेश एजले सन् २०२१ देखि यो कार्यक्रम गर्दै आएको छ ।
संस्थाले यस कार्यक्रममार्फत विभिन्न विधामा महिला उद्यमीलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ । कार्यक्रमले महिला उद्यमशीलता सम्बन्धी नीति निर्माण र महिलालाई व्यावसायिक प्रोत्साहनमा समेत सघाउँदै आएको छ ।
सोही क्रममा संस्थाले समिट एन्ड अवार्ड्सको दोस्रो संस्करणको कार्यक्रम सम्पन्न गरेको छ । यसपटकको कार्यक्रममार्फत विभिन्न विधामा १४ जनालाई अवार्ड प्रदान गरिएको छ ।
वैशाख ९ गते ‘ग्रान्ड फिनाले’ गरेर उनीहरूलाई अवार्ड प्रदान गरिएको थियो । त्यसअघि विभिन्न प्रदेश राजधानीमा महिला उद्यमशीलता सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा कोरोनापछि महिला उद्यमशीलतामा देखिएको चुनौतीबारे प्यानल डिस्कसन पनि भएको थियो ।
न्यू बिजनेश एजले उद्यम, व्यवसायलाई प्रोत्साहन गर्न सन् २०१३ देखि विभिन्न अवार्ड कार्यक्रम गर्दै आएको छ । यसअघि कम्पनी अवार्ड, बिजनेश स्कुल अवार्ड र स्टार्टअप अवार्ड कार्यक्रम गरेको संस्थाले गतवर्षदेखि महिला उद्यमीलाई पनि सम्मान गर्ने कार्यक्रम शुरू गरेको हो ।
यसपटकको कार्यक्रमको मुख्य प्रायोजक स्ट्याण्डर्ड चार्टर्ड बैंक र सहप्रायोजक मुक्तिनाथ विकास बैंक थिए । यसैगरी मेडिकल पार्टनर स्टार हस्पिटल, नलेज पार्टनर सेन्टर फर लिडरशिप एन्ड आन्त्रप्रेनरशिप, एयरलाइन्स पार्टनर टर्किश एयरलाइन्स, ई–कमर्श पार्टनर दराज, इन्स्योरेन्स पार्टनर नेको इन्सुरेन्स र इन्टरनेट पार्टनर डिशहोम फाइबर नेट थिए । कार्यक्रमलाई कृषि विकास बैंक, सिप्रदी ट्रेडिङ, स्ट्रोम, रिलायबल लाइफ इन्स्योरेन्स, प्रोग्रेशिभ फाइनान्स लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स, महिला उद्यमी महासंघ नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल राष्ट्र बैंकले पनि सहयोग गरेका थिए ।