बैशाख १६, काठमाडौं। मुक्तिनाथ विकास बैंकमा काम गरेको हिसाबले अभ्यासको कुरा गर्दा यो करीब १५/१६ वर्षपहिले गाउँमा स्थापना भएको बैंक हो । त्यो बेला हामीले महिलालाई नै केन्द्रमा राखेका थियौं । त्यो तथ्यांकले पनि प्रमाणित गर्छ । आजको दिनमा हामीसँग जुन ऋणीको संख्या छ, त्यसमा करीब ९० प्रतिशत महिलाको देखिन्छ । यहाँ इकोसिस्टमको कुरा आयो । हामीले महिला उद्यमशीलताको कुरा गर्दा तीनओटा कुरालाई ध्यान दिनुपर्छ– एक्सेस टु फाइनान्स, एक्सेस टु नलेज र एक्सेस टु मार्केट । यी तीनओटा विषय बढी महत्वपूर्ण छन् ।
उद्यमशीलता र व्यावसायिकताको सन्दर्भमा हामीले काम गरेको आधारमा भन्दै छु– पैसा मात्र दिएर, ऋण लगानी गरेर मात्र नपुग्दो रहेन । महिलालाई कसरी व्यावसायिक बनाउन सकिन्छ, उहाँहरूको व्यवसाय (उत्पादनमूलक वा सेवा) सम्बन्धित समस्या के छन्, आवश्यक कच्चापदार्थ कहाँबाट ल्याउनुपर्छ, उत्पादन तयार पार्न के कस्ता जोखिम हुन्छन् र तयार भएपछि कसरी त्यसलाई विक्री कसरी गर्न सकिन्छ भन्नेतर्फ पनि ध्यान दिनुपर्ने रहेछ ।
यस्तै क्यासमा विक्री गर्न सकिन्छ कि उधारोमा भन्ने ज्ञान दिन पनि उत्तिकै जरुरी छ । त्यो भइसकेपछि बजारीकरणको पनि ज्ञान दिनु पनि आवश्यक छ । यो कोभिड महामारीको कुरा गर्दा, नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन हेर्ने हो भने १८–२० प्रतिशतले कर्जाको विस्तार हुन्थ्यो भने महामारीको वर्ष १३ प्रतिशतले मात्र बढेकाले अलिकति शिथिलता आयो भनियो । यो एकदमै स्वाभाविक हो । यसले अलिकता फाइदा पनि दिएको छ ।
डिजिटलाइजेसनको कुरा आएको छ । अर्को सबभन्दा ठूलो कुरा जब मान्छे भीडमा बस्ने अवस्था रहँदैन, जब हामी एक्लै हुन्छौं, तब सृजनशील पनि हुन्छौं । केही गरौं, कसरी गरौं भन्ने सोच्छौं । त्यसले गर्दा महामारीले अवसर पनि लिएर आएको छ । एउटा उदाहरण, हामी पहिले होटल गएर खाना खान्थ्यौं । यो महामारीको समयमा हामीले फुड डेलिभरीको व्यवसाय बढेको देख्यौं । यो समयमा कतिपय महिलाले यसमा अवसर पाए । यस्ता व्यवसायमा पनि महिलाको सहभागिता उल्लेख्य रह्यो । त्यो हिसाबले हेर्दा अवसर पनि छ ।
यसैगरी सहुलियतपूर्ण कर्जाको विषयमा तथ्यांकीय आधारमा भन्नुपर्दा जुन विभिन्न ११ ओटा शीर्षकमा यस्तो कर्जा दिइएको छ । पछिल्लो सात महीनाको रिपोर्ट हेर्दा ७४ अर्ब रुपैयाँ महिला लक्षित लगानी भएको देखिन्छ । यसबाट करीब ७६ हजार महिला लाभान्वित हुनुभएको छ । त्यो तथ्यांकले बोल्ने कुरा हो । मलाई लाग्छ, यसमा अझै बढी पनि गर्न सकिन्छ । तर हाम्रा महिला दिदीबहिनीले लिने सानो सानो कर्जामा हामीले सामना गरिरहेको समस्या कस्तो छ भने उहाँहरूले त्यस परियोजनाको प्रतिवेदन, वित्तीय प्रतिवेदन बनाउन सकिरहनु भएको छैन । हामीले हाम्रो संघको तर्फबाट नेपाल राष्ट्र बैंकलाई सानो कर्जाको विषयमा जुन वित्तीय रिपोर्टको व्यवस्था छ, त्यसमा अलि लचिलो हुनुपर्छ कि भनेका छौं ।