ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

न्यू बिजनेश एज : निजीक्षेत्रको आवाज

२०७९ बैशाख, २३  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found

प्रजातान्त्रिक शासन पद्धतिको राम्रोसँग अभ्यास हुन नपाउँदै हिंसात्मक माओवादी आन्दोलन युद्ध शुरू भएपछि धेरैको चासो राजनीतिक एजेन्डामै थियो । त्यतिबेलासम्म एकातिर बहुदलीय राजनीतिक व्यवस्थाको अनुभूति आमनागरिकले गर्न पाएका थिएनन् भने अर्कोतिर सशस्त्र माओवादी आन्दोलन शुरू भएको थियो । धेरैको चासो राजनीति हुने भएपछि सञ्चारमाध्यमहरूका समाचार पनि त्यसैसँग केन्द्रित थिए ।

देश समृद्ध हुन महत्त्वपूर्ण भूमिका खेल्ने आर्थिक क्षेत्र र त्यसमा पनि निजीक्षेत्रका कुरा अधिकांश सञ्चारमाध्यममा कमै आउँथे । अझ भनौं, ९० को दशक नेपालका सञ्चारमाध्यमहरूको मूल एजेन्डा राजनीति नै थियो । अर्थतन्त्रका समाचार मूलधारका मिडियाले सामान्य रूपमा समेटे पनि प्राथमिकतामा राख्ने चलनको शुरुआत भएको थिएन ।

त्यही बेला मदन लम्साल र उनको टोलीलाई लाग्यो– सञ्चारमाध्यमले सधैं राजनीतिक मुद्दालाई मात्र प्राथमिकता दिने हो भने देशमा अर्थतन्त्र सुधारका लागि काम हुने छैन । नेपालजस्ता अर्थतन्त्र भएका मुलुकमा सञ्चारमाध्यमको भूमिका झनै बढी हुन्छ । एकातिर आमसर्वसाधारणलाई अर्थतन्त्रका सूचना, जानकारी पुर्‍याउनु थियो भने अर्कोतर्फ खुला बजार अर्थनीतिमा भर्खर प्रवेश गरेको देशको निजीक्षेत्रका अनुभव, गुनासा र सफलता साझा गर्न पर्ने थियो, जो सञ्चारमाध्यमले गर्न सक्छ । सोही सोचलाई कार्यान्वयन गर्न लम्सालको नेतृत्वमा सन् १९९८ मा आर्थिक पत्रकारिता केन्द्रित सञ्चारमाध्यमको शुरुआत गरियो र जसको नाम राखियो– बिजनेश एज । त्यही शुरुआत नेपालको आर्थिक पत्रकारिताको दुनियाँमा ‘इन्नोभेटीभ आइडिया’ सावित भयो ।

त्यो प्रयास अर्थतन्त्र सुधारका लागि कैयन् नीतिगत निर्णय गराएर परिवर्तनका खातिर सफल भएको छ । यसले सरकारी संयन्त्रका कुरा गर्दैन भन्ने होइन, अर्थतन्त्रको विकासका लागि निजीक्षेत्र अझ बढी महत्त्वपूर्ण पक्ष हुन्छ भन्ने मुख्य धारणा हो । सरकारी संस्कार, व्यवहार र जटिलतामा प्रश्न गर्ने र बाटो देखाउने पत्रकारिताको मूल धर्म त छँदै छ । २ दशकको अवधिमा यसले थुपै्र आरोहअवरोह पार गरेको छ ।

अहिले एनबीएले आफूलाई पत्रकारिताबाहेक अनुसन्धान तथा उद्यमशीलताको विकासमा पनि जोड्दै आएको छ । सन् २०१३ मा न्यूबिज बिजनेस कन्क्लेभ एन्ड अवार्डस् र बिजनेस स्कूल रेटिङ, र्‍यांकिङ एन्ड अवार्डस् शुरू भयो ।

बिजनेश एजबाट न्यू बिजनेश एज
लम्साल र उनको टोलीले अंग्रेजी म्यागेजिन ‘बिजनेश एज’ को पहिलो संस्करण बजारमा ल्याउनुअघि तयारीमा लामै समय खर्च गरेको थियो । यो सबको शुरुआत सानो स्तरको स्थानीय पत्रिका ‘फाइनान्सियल टाइम्स’बाट भएको हो । लम्साल विदेशबाट होटेल म्यानेजमेन्टमा तालीम पूरा गरेर नेपाल फर्किएर रेस्टुराँ चलाउँदै थिए । आफू आबद्ध भइरहेको पेशालाई निरन्तरता दिने वा पत्रकारिताको चाहना पूरा गर्ने भन्ने दोधारबीच उनी ‘फाइनान्सियल टाइम्स’मा संवाददाता र शेयरधनीका रूपमा जोडिए ।

उक्त पत्रिका वासुदेव अमात्यले प्रकाशित गर्थे । पछि पत्रिकाको सम्पादकीय टोलीमा पत्रकारितामै अनुभव बटुलिसकेका केशव गौतम पनि आए । तर, यो साप्ताहिक पत्रिकाले राम्रो गर्न भने सकेन । अनि गौतम र लम्साल दुवैले यसलाई छाडे । त्यसपछि उनको टोली (हरि राईसमेत) ले सन् १९९८ मा बिजनेश एज शुरू गर्‍यो । तर, सन् २००१ मा बिजनेश एजमा पनि रहन नसक्ने अवस्था आएपछि सविता सुवेदी, गौतम र लम्सालको नयाँ यात्रा न्यू बिजनेश एज प्रालि (एनबीए) बाट शुरू भयो । र, म्यागेजिनको नाम राखियो– न्यू बिजनेश एज ।

चुनौतीसँगै अवसर
आर्थिक पत्रकारिताको त्यति अभ्यास भइनसकेको बेला चुनौती त हुने भइहाल्यो नै । कतिसम्म भने धेरैलाई आर्थिक एजेन्डालाई मात्र प्राथमिकता दिने सञ्चारमाध्यम आर्थिक रूपले टिक्न सक्छन् भन्नेमा शंका थियो । तर, परिस्थिति जेजस्तो भए पनि केही वर्ष दृढताका साथ काम गरेपछि आर्थिक पत्रकारिता अवसर बनेर आयो ।

अर्थतन्त्रको सुधारविना केही पनि गर्न सकिँदैन भन्नेमा सबै विश्वस्त हुँदै गए । यसले गर्दा पत्रकारिता क्षेत्रमा पनि अर्थतन्त्र चासो र प्राथमिकतामा पर्न थाल्यो । विस्तारै आर्थिक एजेन्डामा केन्द्रित हुने अन्य सञ्चारमाध्यम थपिँदै गए । यसले आर्थिक पत्रकारिता एउटा नयाँ ‘स्कोप’ को रूपमा देखा पर्‍यो । आर्थिक पत्रकारिताले उठाएका विषयवस्तु आमपाठकको रोजाइमा पर्न थाले । बजारले आर्थिक केन्द्रित सञ्चारमाध्यम खोज्न थाल्यो । यतिसम्म भयो कि आर्थिक एजेन्डालाई जोड दिएकै कारण न्यू बिजनेश एजका लागि नेपालका अधिकांश ‘बिजनेश हाउस’ सहयात्री जस्ता भए । सबैले सहयोग गरे ।

राजनीतिमा स्थिरता नआए पनि अर्थतन्त्र सबैको प्राथमिकतामा पर्न थाल्यो । नेपाली भाषामा पनि आर्थिक पत्रिका चाहियो भन्ने बजारबाट सुझाव आउन थाल्यो र न्यू बिजनेश एज म्यागेजिन अब टिक्छ भन्ने लागेपछि लम्साल र गौतमले नेपाली भाषामा पनि पत्रिका शुरू गर्नुपर्छ भन्ने ठाने । सोही सोचअनुसार सन् २००६ मा आजको अभियान साप्ताहिक पत्रिका शुरू भयो, जो अहिले आर्थिक अभियानको रूपमा चिनिने गर्छ । र, सन् २०१० देखि आर्थिक अभियान दैनिक प्रकाशित हुँदै आएको छ । म्यागेजिन र अखबारबाहेक नेपाली र अंग्रेजी भाषामा दुई अनलाइन संस्करण पनि सञ्चालनमा आए ।

दैनिक अखबार प्रकाशित हुँदै गएपछि बजार पनि विस्तार हुँदै गयो । अन्य सञ्चारमाध्यमले आर्थिक क्षेत्रलाई महत्त्वपूर्ण बिटका रूपमा राख्न थाले । आर्थिक पत्रकारिताविना समग्र पत्रकारिता अपुरो हुन्छ भन्ने सोचको विकास भयो, जुन आजपर्यन्त कायमै छ । यद्यपि आर्थिक पत्रकारिता गर्न सजिलो भने छैन । झन् यस अवधिमा शक्तिशाली भूकम्प, अघोषित नाकाबन्दी, कोरोना महामारीलगायत समस्याले झनै बढी संघर्ष गर्नुपर्‍यो ।

कोरोना महामारी चरम अवस्थामा पुगेको बेला अन्य कतिपय अखबारको प्रकाशन बन्द हुँदा पनि आर्थिक अभियानले आफ्नो कार्य रोकेन । एनबीएमा काम गर्ने सबै सहकर्मीले सामान्य पारिश्रमिक कटौती गरेर भए पनि प्रकाशन निरन्तर गर्ने प्रतिबद्धता गरे र नियमित काम भयो, जसले गर्दा एनबीए आम पाठकका दृष्टिमा थप बलियो भएर गयो ।

अहिले एनबीएले आफूलाई पत्रकारिताबाहेक अनुसन्धान तथा उद्यमशीलताको विकासमा पनि जोड्दै आएको छ । सन् २०१३ मा न्यूबिज बिजनेस कन्क्लेभ एन्ड अवार्डस् र बिजनेस स्कूल रेटिङ, र्‍यांकिङ एन्ड अवार्डस् शुरू भयो । २०२१ देखि बिजनेश विमिन समिट एन्ड अवार्डस् र स्टार्ट अप समिट एन्ड अवार्डस् पनि थालियो ।

यस्ता कार्यक्रममा सम्बद्ध क्षेत्रका विज्ञहरू भएको स्वतन्त्र निर्णायक मण्डलले विविध विधामा कैयौं कम्पनी/उद्यमीहरूलाई पुरस्कृतसमेत गर्दै आएको छ । यस कार्यले नेपालमा उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहित गर्ने परम्पराको थालनी भएको छ । हरेक वर्ष हुने बिजनेश कन्क्लेभ तथा अवार्डमा व्यावसायिक नेतृत्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड पनि दिने गरिएको छ । यसले उद्यमी तथा व्यवसायीहरूको मनोबल बढाउने र भर्खरै व्यवसाय शुरू गरेकाहरूलाई प्रेरणा दिने काम गरेको छ । अन्य देशमा व्यवसायीहरूलाई ‘क्यापिटेशन फी’ लिएर सम्मानित गर्ने चलन हुन्छ । एनबीएले भने व्यवसायीहरूलाई ‘क्यापिटेशन फी’ नलिईकनै सम्मानित गरिरहेको छ । एनबीएले नेपालको व्यावसायिक समुदायलाई बलियो बनाउन हरसम्भव सबै प्रयास गरिरहेको छ ।

देश समृद्ध हुन महत्त्वपूर्ण भूमिका खेल्ने आर्थिक क्षेत्र र त्यसमा पनि निजीक्षेत्रका कुरा अधिकांश सञ्चारमाध्यममा कमै आउँथे । अझ भनौं, ९० को दशक नेपालका सञ्चारमाध्यमहरूको मूल एजेन्डा राजनीति नै थियो ।

एनबीएले उठाएका मुद्दा
आर्थिक पत्रकारिताको दौरानमा एनबीएले महत्त्वपूर्ण मुद्दाहरू उठाउँदै आएको छ । एउटै आलेखमा ती सबैको बेलिविस्तार साध्य छैन ।

तीमध्ये नेपालमा आर्थिक पत्रकारिता सम्भव छ भन्ने मुद्दा नै महत्त्वपूर्ण हो, जुन स्थापित भइसकेको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले त्रैमासिक रिपोर्ट प्रकाशन गर्न आवश्यक हुन्छ भन्ने मुद्दादेखि शेयरबजारलाई व्यवस्थित गर्न आस्बा प्रणाली चाहिन्छ भन्नेसम्म छन् ।

उपलब्धि
नेपालको पत्रकारिता जगत्लाई चाहिने आर्थिक पत्रकारहरूको उत्पादन एनबीएले सन्तुष्टि लिने अर्को उपलब्धि हो । आर्थिक क्षेत्रलाई मूलधारका मिडियाले प्राथमिकतामा राख्न नसकेका बेला एनबीएले तयार पारेका आर्थिक पत्रकारहरू यतिखेर देशका अधिंकाश सञ्चार गृहमा पुगेका छन् । विद्युत् प्राधिकरणबाट छुट्टै विद्युत् प्रसारण ग्रीड कम्पनीको स्थापना गर्नुपर्ने, शेयर कारोबारमा आस्बा प्रणाली लागू गर्नुपर्ने, कमोडिटिज एक्सचेन्जलाई व्यवस्थित गर्नुपर्ने, बैंक तथा वित्तीय संस्था स्टक एक्सचेन्जमा सूचीकृत हुनुपर्छ भन्ने सम्पादकीय र समाचारको निरन्तर लेखाइका कारण त्यस्ता व्यवस्था हुँदै जानु एनबीएका थप उपलब्धि हुन् । भारतसँग विद्युत् बैंकिङको प्रणाली विकास गर्नुपर्ने, कृषिमा करको व्यवस्था गर्ने, कृषिमा विदेशी लगानी आवश्यक छ भन्ने, नेपालीले विदेशमा लगानी गर्न पाउनुपर्छ भन्ने जस्ता मुद्दा पनि एनबीएले निरन्तर उठाइरहेको छ ।

माइन्ड्स नेपालको शुरुआत
धेरैलाई थाहा छ, नेपालमा कामभन्दा कुरा धेरै गरिन्छ । नीति, निर्माताले समेत गर्ने कुरा कुनै अध्ययन, अनुसन्धानविना हुँदा वर्षौंदेखि उपलब्धिविहीन नतिजा हात लागिरहेको छ । सोही यथार्थतालाई दृष्टिगत गर्दै एनबीएले भगिनी संस्थाका रूपमा माइन्ड्स नेपाल स्थापना गरेको छ । यसको मुख्य विषय भनेको समाजमा अल्पकालीन र दीर्घकालीन रूपमा प्रभाव पार्ने मुद्दामा अध्ययन, अनुसन्धान गर्नु हो । यसबाहेक विभिन्न विषयमा अनुसन्धान र मार्केटिङ तथा सञ्चार परामर्श दिने काम पनि भइरहेको छ । यसमार्फत न्यू बिजनेश एजले अनुसन्धनात्मक गतिविधि सञ्चालन गरेको छ । साथै कन्क्लेभ, अवार्डस्, विभिन्न समारोह पनि माइन्डस् नेपालको सहयोगमा हुँदै आएको छ । यस्तो पहिलो कार्यक्रम सन् २०११ को ‘मनी एक्स्पो’ थियो, जसको समुद्घाटन तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले गर्नुभएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)