मर्जरमा जाने कम्पनीलाई बीमा समितिले सहजीकरण गरिदिन्छ
अहिले बीमा कम्पनीहरूले जुन आकारको व्यवसाय गरिरहेका छन्, त्यसको जोखिमलाई धान्नेगरी पर्याप्त मात्रामा पूँजी छैन । साथै, कम्पनीको संख्या आवश्यकताभन्दा बढी भयो भन्ने गुनासो पनि कम्पनीहरूबाटै आइरहेको थियो । फलस्वरूप अस्वस्थ प्रतिस्पर्धा पनि बढेको थियो । यी र यस्ता विषयलाई दृष्टिगत गर्दै बीमा समितिले चुक्तापूँजी बढाउने निर्णय गरेको हो । र, आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीलाई रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई रू. २ अर्ब ५० करोड चुक्तापुँजी पुर्याउन निर्देशन दिएका हौं । तर, बीमा कम्पनीहरूको लाभांशदर औसतमा ५–६ प्रतिशत मात्र छ । त्यो अवस्थामा लगानीकर्ताले थप पैसा हालेर पूँजीवृद्धि गर्नु त्यति उपयुक्त देखिएन ।
यसैगरी पछिल्लो समय देखिएको तरलता अभाव, आर्थिक संकट लगायत कारण लगानीकर्तालाई थप पूँजी लगानी गर्न पनि गाह्रो हुने देखियो । यी सबै पक्षलाई हेर्दा मर्जर नै उपयुक्त विकल्प देखिएपछि हामीहरूले मर्जरमा जान प्रोत्साहन गरिरहेका थियौं । हाम्रो नीतिअनुसार बीमा कम्पनीहरू उत्साहजनक ढंगले मर्जरमा सहभागी हुनुभएको छ । यो राम्रो पक्ष हो ।
नेपाली बीमा बजारलाई कति बीमा कम्पनी आवश्यक हो भनेर यकिन अध्ययन त भएको छैन । तर, बजारलाई जति बीमा कम्पनी आवश्यक हो, मर्जरमार्फत त्योअनुसार नै कम्पनीको संख्या कायम गर्ने लक्ष्य लिएका छौं । त्यसपछि बीमा बजारमा भएको अस्वस्थ प्रतिस्पर्धा घट्ने विश्वास गरेका छौं । साथै, बीमाक्षेत्र थप व्यवस्थित भएर अगाडि बढ्ने अपेक्षा पनि छ ।
समग्रमा मर्जरले बीमाक्षेत्रमा एकदमै राम्रो प्रभाव पार्ने देखेको छु । मर्जरमा सहभागी भएका सबै कम्पनी बधाई तथा सफलताको शुभकामना छ । मर्जरमा जाने मामलामा बीमा समितिले सक्दो सहयोग गर्न तयार छ ।
नयाँ बीमा कम्पनी ल्याउनुहुँदैन
वास्तवमा नेपाली बीमा क्षेत्रमा मर्जरको अभ्यास हुनुपर्ने थियो । किनकि, यहाँ बजारको आवश्यकताभन्दा बढी बीमा कम्पनी छन् । त्यो अवस्थामा नियामक निकाय बीमा समितिले पूँजी बढाउने निर्देशनसहित मर्जरको नीति ल्याउनु सकारात्मक छ । किनकि, कम्पनीहरूको व्यवसाय र जोखिम वहन गर्ने क्षमता बढाउन पूँजीवृद्धि गर्नैपर्ने थियो । तर, थप लगानी गरेर नै पुँजी वृद्धि गर्नु त्यति उपयुक्त थिएन । किनकि, बीमा क्षेत्रको रेट अफ रिटर्न नै थोरै छ । त्यो अवस्थामा पूँजी बढाउन मर्जर नै उपयुक्त विकल्प थियो ।
समितिको नीतिअनुसार पछिल्लो समय बीमा कम्पनीहरू धमाधम मर्जर प्रक्रियामा सहभागी भएका छन् । यो स्वागतयोग्य छ । अब बीमा कम्पनीको संख्या घट्छ र स्वस्थ प्रतिस्पर्धाको विकास हुन्छ भन्ने विश्वास छ । साथै, पूँजीका आधारमा बीमा कम्पनीहरू पनि थप बलियो हुन्छन् । त्यो भएपछि बीमा कम्पनीहरूले दिने सेवा सुविधा पनि पहिलेको भन्दा राम्रो हुन्छ ।
हालसम्म मर्जरको मामलामा जे जति गतिविधि भएका छन्, त्यो राम्रो छ । कम्पनीको संख्या उच्च मात्रामा घट्ने संकेत देखिएको छ । तर, मर्जरमा जाने कम्पनीहरूलाई समय भने दिनुपर्छ । हतारमा मर्जर गर्नुस् भनेर दबाब दिनु हुँदैन । डीडीए लगायतका प्रक्रिया पूरा गर्दा धेरै समय लाग्छ । त्यो अवस्थामा समितिले तोकेको अवधिमै चुक्तापूँजी नपुग्न सक्छ । त्यसैले, यसमा मामलामा समितिले समय सीमा धेरै दिनुपर्छ । साथै, सञ्चालनमा भइरहेका कम्पनीलाई मर्ज गराएर नयाँ कम्पनीलाई लाइसेन्स दिने गल्ती पनि बीमा समितिले गर्नु हुँदैन, त्यो भएमा अर्थतन्त्र प्रभावित हुन सक्छ ।
अब ढुक्क भएर ठूलो जोखिमको बीमा गर्न सकिन्छ
यो मर्जरबाट हामी एकदमै आशावादी छौं । यसले पक्कै पनि ग्राहक, कर्मचारी, लगानीकर्ता लगायत सबै पक्षलाई फाइदा पुग्छ । साथै, समग्र बीमा बजारमा पनि सकारात्मक प्रभाव पार्छ भन्ने विश्वास छ ।
विशेषगरी हामीले अर्थतन्त्र र बीमा बजारको वर्तमान परिस्थितिलाई समेत दृष्टिगत गरेर मर्जरमा जाने निर्णय गरेका थियौं, जुन सफल भइसकेको छ । हामीले जुन उद्देश्यले मर्जर गर्ने निर्णय गरेका थियौं, त्यो पुरा हुनेमा पनि विश्वस्त छौं ।
मर्जरसँगै अहिले हाम्रो चुक्तापूँजी लगायत वित्तीय सूचकको आकार बढेको छ । हामीसँग अनुभवी कर्मचारी पनि थपिएका छन् । फलस्वरूप अब हाम्रो व्यवसाय गर्ने तथा जोखिम वहन गर्ने क्षमता पनि बढेको छ । अब हामी ठूला जोखिमको पनि ढुक्क भएर बीमा गर्न सक्छौं । अब हामीप्रति ग्राहकको आकर्षण समेत बढ्छ । फलस्वरूप हाम्रो व्यवसाय थप बढ्नेछ । त्यसको सकारात्मक प्रभावले हाम्रो लाभांश दरमा सुधार आउने विश्वास छ । ठूलो पूँजीको कम्पनी भएसँगै अब हामीलाई विदेशी पुनर्बीमा कम्पनीले हेर्न दृष्टिकोण पनि फरक हुन्छ । अब हामी नेपालमा गर्ने व्यवसायको सहज रूपमा पुनर्बीमा गर्न सक्छौं ।
मर्जरले अस्वस्थ प्रतिस्पर्धा घटाउन सहयोग पुग्छ
बीमा समितिको निर्देशनअनुसार आगामी चैत मसान्तभित्र निर्जीवन बीमा कम्पनीले न्यूनतम रू. २ अर्ब ५० करोड चुक्तापूँजी पुर्याउर्नैपर्ने छ । तर, समग्र बीमा क्षेत्रको रेट अफ रिटर्न (लाभांश दर) राम्रो नभएको बेला थप पूँजी लगानी गरेर चुक्तापूँजी वृद्धि गर्दा त्यति राम्रो हुने देखिएन । त्यसमाथि बीमा कम्पनीको संख्या पनि बढी छ । त्यही कारण बीमा बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि बढी छ । यी र यस्ता विषयलाई दृष्टिगत गरेर हामी मर्जरमा जाने निर्णय गरेका हौं, जुन सफल भइसकेको छ ।
हामीले मर्जर सहमति गरेपछि अन्य बीमा कम्पनीहरू पनि मर्जरमा जान थालेका छन् । योसँगै अब बीमा कम्पनीहरूको संख्या घट्ने देखिएको छ । त्यो अवस्थामा अस्वस्थ प्रतिस्पर्धा केही कम हुन्छ । साथै, पूँजीको आकार बढ्दा व्यावसायिक क्षमता पनि बढ्छ । त्योअनुसार व्यवसाय बढाउन सकियो भने लाभांश दर पनि बढ्ने विश्वास छ । यस्ता विषयलाई दृष्टिगत गर्दै हामी मर्जरमा सहभागी भएका हौं । यसले राम्रो प्रतिफल दिन्छ भन्ने अपेक्षा छ ।
ग्राहकहरू उत्साहित छन्
नियामक निकायले पूँजीवृद्धि गर्ने नीति ल्याएको अवस्थामा बीमा कम्पनीहरू मर्जरमा नगई सुखै थिएन । किनकि, अहिले बीमा कम्पनीहरूले प्रतिफल (लाभांश) क्षमता औसतमा ५–६ प्रतिशत मात्र छ । त्यो अवस्थामा लगानीकर्ता आफूले पूँजी थप गरेर कम्पनीको पूँजी बढाउँदा त्यति उपयुक्त हुने थिएन । त्यसैले हामी मर्जरमा गएका हौं । यसलाई एकदमै सकारात्मक रूपमा लिएका छौं ।
मर्ज भएपछि कम्पनी चुक्तापूँजी लगायत सूचकका आधारमा बलियो भएको छ । कम्पनीमा अनुभवी कर्मचारीको संख्या बढेको छ । दुवै कम्पनीको व्यावसायिक फोर्टफोलियो मिलेको छ । हिमालयन जनरलको ठूलो आकारमा बीमा गर्ने ग्राहक छन् । एभरेष्टले सानो सानो आकारको व्यवसाय गरिरहेको छ । यो अवस्थामा हामीले मर्जर भएर संयुक्त रूपमा कारोबार गर्दा पक्कै पनि राम्रो नतीजा आउँछ ।
मर्जमा जाने निर्णय गरेसँगै ग्राहक पनि खुशी भएका छन् । हाम्रो पूँजीसँगै व्यावसायिक क्षमता पनि बढेको छ । त्यो अवस्थामा हामीले दिने सेवा सुविधा पनि स्वाभाविक रूपमा पहिलेको भन्दा राम्रो हुन्छ । त्यसकारण ग्राहकहरू उत्साहित छन् । साथै, कम्पनीले दिने लाभांश पनि पहिलेको भन्दा राम्रो हुन्छ । समग्रमा कम्पनीको भविष्य राम्रो छ । किनकि, हामी ठूलो आकारको कम्पनी भइसक्यौं । पहिला १ अर्बको व्यवसाय गर्दथ्यौं भने अब ४ अर्बको गर्छौं । यसले समग्र बीमाक्षेत्रलाई नै सकारात्मक प्रभाव पार्छ ।