ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड विशेष : व्यवसायमा नाटकीय परिवर्तन ल्याउन मर्जर (अन्तरवार्ता)

२०७९ सावन, १  
अन्तरवार्ता अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई एकआपसमा गाभ्ने सन्दर्भमा हिमालयन जनरलका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले अग्रणी भूमिका खेले । सोचेभन्दा निकै सहज ढंगबाट काम सम्पन्न गराएर उनले बीमा क्षेत्रको पहिलो मर्जर सफल बनाएका छन् । यी दुई कम्पनी मिलेर बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आजबाट एकीकृत कारोबार शुरू गरेको छ । तर, मुलुकमा बीमा कम्पनीहरू खुलेको लामो समयपछि मर्जरको आवश्यकता किन देखियो, बीमा क्षेत्रमा मर्जरको अभ्यास गर्दा कस्ता चुनौती सामना गर्नुपर्‍यो, यसका फाइदा के के हुन् लगायत विषयमा केन्द्रित रहेर हिमालयन एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठसँग आर्थिक अभियानले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको नेतृत्वमा नेपालको बीमा क्षेत्रमा पहिलो मर्जर सम्पन्न भएको छ । एकीकरणपछिको नेतृत्व पनि तपाईंले नै गर्दै हुनुहुन्छ । यो अवसरलाई कसरी लिनुभएको छ ? 

म बीमा क्षेत्रमा आबद्ध भएको ३० वर्ष भयो । हिमालयन जनरल इन्स्योरेन्समा म स्थापनाकालदेखि नै आबद्ध छु । हिमालयन जनरलमा मैले प्रबन्ध निर्देशक (एमडी) र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा १५ वर्ष काम गरेँ । बीचमा केही समय बाहिर बसेर पछिल्लो समय अध्यक्षको रूपमा कम्पनीको नेतृत्व गरिरहेको थिएँ । त्यही दौरानमा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सलाई एकआपसमा मर्ज गरेर बीमा क्षेत्रकै पहिलो मर्जर कम्पनी खडा गर्ने अवसर पनि पाएँ, साँच्चै खुशी लागेको छ ।

एभरेष्ट इन्स्योरेन्स र हामीले बीमा समितिबाट सँगसँगै लाइसेन्स पाएका थियौं । दुवै कम्पनीले १९९३ को डिसेम्बरदेखि औपचारिक रूपमा बीमा व्यवसाय शुरू गरेका थिए । हामी दुवै नेपालको दोस्रो पुस्ताका कम्पनी हौं । मुलुकको पहिलो बीमा कम्पनी नेपाल माल चलानी तथा बीमा कम्पनी (हालको नेपाल इन्स्योरेन्स) २००४ सालमै स्थापना भएको थियो । निजीक्षेत्रबाट स्थापना भएको पहिलो कम्पनी भने एनएलजी इन्स्योरेन्स हो । त्यसपछि हामी नै बजारमा आएका हौं । अहिले आएर हामी नै मर्ज भएर एकीकृत कारोबार गर्दै छौं, यो आफैमा खुशीको विषय हो । 

मर्जर गर्नुपर्छ भन्ने भावना कसरी आयो ? 

वास्तवमा हिमालयनले बीमा समितिबाट चुक्तापूँजी बढाउने निर्देशन जारी हुनुभन्दा पहिलेनै मर्जरको लागि आन्तरिक योजना बनाएको थियो । त्यही बेला बीमा समितिबाट चुक्तापूँजी बढाउने निर्देशन जारी भयो । त्यसले हामीलाई मर्जरमा थप अगाडि बढ्न हौसला मिलेको हो । आजको दिनमा पूँजी बढाउने कुरा एक ठाउँमा छ । त्यो आफैमा राम्रो पक्ष पनि हो । तर, पूँजी बढाएर मात्र व्यवसाय बढाउन सक्ने अवस्था थिएन । मर्जर नै उपयुक्त विकल्प थियो, त्यही भएर हामी मर्जरमा गएका हौं । 

हिजोसम्म हिमालयन जनरल इन्स्योरेन्सको ३८ र एभरेष्टको ४० शाखा थियो । मर्जपछि दुवै कम्पनीका शाखा जोडेर केहीलाई मर्ज गर्दा शाखा संख्या ७५ हुनेछ । पहिला कुनै ठाउँमा एभरेष्टको र कुनै ठाउँमा हिमालयनको शाखा थिएन । त्यो अवस्थामा हामीलाई व्यवसाय विस्तार गर्न चुनौती थियो । मर्जपछि हाम्रो दायरा बढेको छ । व्यवसाय बढाउन शाखा बढाउनु आवश्यक थियो । तर, हिमालयन र एभरेष्ट दुवैले एक्लाएक्लै तत्कालै धेरै शाखा विस्तार गर्न सम्भव थिएन । मर्जपछि हाम्रो दायरा फराकिलो भयो । मर्जरको फाइदा यो पनि हो । यस्तै हिमालयनले पहिलादेखि नै कर्पाेरेट क्षेत्रमा केन्द्रित भएर बीमा व्यवसाय गर्दै आएको थियो । एभरेष्टले रिटेल क्षेत्रमा राम्रो व्यवसाय गर्दै आएको छ । अब दुई कम्पनी मर्ज हुँदा त्यहाँबाट हुने व्यवसाय त छँदै छ, नयाँ क्षेत्रको नयाँ व्यवसाय आउने सम्भावना पनि उत्तिकै छ । यस्तै सम्भावनाका कारण पनि हामी मर्जरमा गएका हौं । 

पाँच वर्षयता हामी डिजिटाइजेशनमा पनि केन्द्रित छौं । व्यवसाय पनि साँच्चै नै राम्रो थियो । आर्थिक वर्ष २०७८/७९ मै हामीले २०० करोड बराबरको बीमा शुल्क संकलन गरेका छौं । तर, त्यत्तिमै चित्त बुझाएर बस्ने अवस्था थिएन । अझ राम्रो व्यवसाय गर्न वा व्यवसायमा नाटकीय परिवर्तन ल्याउन आवश्यक थियो । त्यसको लागि मर्जर नै राम्रो वा उपयुक्त विकल्प देखियो । 

मर्जपछि पनि कम्पनीको चुक्तापूँजी बीमा समितिले तोकेबमोजिम नहुने देखियो नि ?

बीमा समितिले तोकेअनुसार हामीले आगामी चैत मसान्तभित्र २ अर्ब ५० करोड रूपैयाँको न्यूनतम चुक्तापूँजी पुर्‍याउनुपर्छ । मर्जपछि हाम्रो चुक्तापूँजी २ अर्ब २३ करोडमात्र हुन्छ । बाँकी चुक्तापूँजी आर्थिक वर्ष २०७८/७९ को नाफाबाट बोनस शेयर जारी गरेर पूरा गर्छाैं । यसमा कुनै समस्या हुँदैन ।

मर्जर सफल बनाउन सहज, असहज के भयो ? 

नेपालमा बैंक तथा वित्तीय संस्थाहरू मर्ज भएको देखिरहेकै थियौं । बीमामा यो अभ्यास भएको थिएन । यसमा हामी नै पहिलो हौं । यो क्रममा केही चुनौती र अप्ठ्यारो परिस्थिति आउँछ कि भन्ने पनि थियो । तर, हाम्रो हकमा कुनै पनि अप्ठ्यारो परिस्थिति आएन । हामीले धेरै सहज वातावरणमा मर्जर सफल बनायौं । किनकि, हाम्रो धेरै पक्ष मिल्थ्यो ।

समस्या आउने भनेको स्वाप रेसियोका विषयमा हो । तर, त्यसमा पनि केही अप्ठ्यारो आएन । बीमा समितिबाट मर्जरको सैद्धान्तिक तथा अन्तिम स्वीकृति दिने क्रममा राम्रो सहयोग भयो । यसको लागि बीमा समितिलाई धन्यवाद दिन चाहन्छौं । एकीकृत कारोबार शुरू गरेपछि भने समस्या आउन सक्छ । किनकि हामी दुई फरकफरक व्यावसायिक संस्कृति र शैली भएका कम्पनी एकै ठाउँमा आएर काम गर्दैछौं । हाम्रो काम गर्ने शैली र संस्कृतिलाई समायोजन गर्न केही चुनौती हुन सक्छ । तैपनि त्यसलाई समाधान गर्छाैं । यसमा हामीलाई अवसर पनि छ । किनकि अब हामीले दुई कम्पनीमा भएको राम्रा अभ्यासलाई छनोट गरेर काम गर्न सक्छौं र त्यसको नतीजा पनि राम्रै हुन्छ । 

अब चुनौती के के हुन सक्छन् ?

अबको पहिलो चुनौती दुई कम्पनीको सिस्टमलाई एक अर्कामा इन्टिग्रेट गर्ने पनि हो । त्यसमाथि दुई कम्पनीको अन्डरराइटिङ प्रक्रिया फरकफरक छ । हिजोसम्म त हामी अलगअलग कम्पनी थियौं । आजबाट एउटै भएर काम गर्दा पक्कै पनि केही न केही प्राविधिक चुनौती तथा अप्ठ्यारा आउँछन् । एकैचोटि सहज बनाउन सकिँदैन । ३ महीनामा सहज वातावरण बनाउँछौं । व्यवसाय विस्तार गर्न पनि केही चुनौती हुन सक्छ । एकीकृत भएपछि नयाँनयाँ व्यवसाय ल्याउन आवश्यक छ । तर, सबै चुनौती सामना गर्न हामी तयार छौं । 

मर्जरपछि कर्मचारी समायोजन पनि ठूलो चुनौतीको रूपमा आउने गर्छ । तपाईंहरूले त केही शाखासमेत मर्ज गर्दै हुनुहुन्छ । त्यो अवस्थामा कर्मचारीको व्यवस्थापन कसरी हुन्छ ? 

यसमा अहिले खास केही निर्णय भएको छैन । स्वैच्छिक अवकाश योजना त ल्याउनैपर्छ होला । तर, त्यसबाट के कति कर्मचारी निस्कन्छन्, त्यो टुंगो छैन । कम्पनीलाई अझै विस्तार गर्ने उद्देश्य पनि लिएका छौं । एकीकृत कारोबार गरेको पहिलो वर्ष ४ अर्ब २५ करोडको व्यवसाय गर्ने लक्ष्य लिएका छौं । त्यो अवस्थामा थप कर्मचारी आवश्यक हुन सक्छ । आगामी दिनमा कस्तो अवस्था आउँछ, त्यहीअनुसार हुन्छ । तर, यो मर्जर कर्मचारी, ग्राहक, लगानीकर्ता सबैको हितमा हुने गरी गरिएको हो । त्यसैले, कोही पनि आत्तिनुपर्ने अवस्था छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)