ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘उद्यमशीलता विकासमा बिजनेश स्कूलको योगदान महत्त्वपूर्ण’

पाठ्यक्रम बनाउँदा उद्योगहरूको पनि पार्टनरशिप खोजिनुपर्ने

२०७९ भदौ, ८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मुलुकमा उद्यमशीलता विकास गर्न र त्यसखालको मुभमेन्ट नै सृजना गर्न ‘बिजनेश स्कूल’को महत्त्वपूर्ण योगदान रहने सरोकारवालाहरूले बताएका छन् । उद्यमशीलताको विकास र रोजगारी सृजनाका लागि पनि बिजनेश स्कूलहरूको भूमिका हुने भन्दै उनीहरूले उत्पादित विद्यार्थी र उद्योगहरूबीचको पहुँच बढाउन आवश्यक भएको बताएका हुन् ।

न्यू बिजनेश एज प्रालिको आयोजनामा काठमाडौंमा सम्पन्न भएको छैटौं संस्करणको न्यूबिज बी–स्कूल रेटिङस् र्‍याङ्किङ एन्ड अवार्डस्को प्यानल छलफलमा उनीहरूले यस्तो धारणा राखेका हुन् । उक्त अवसरमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको व्यवस्थापन संकायका डीन तथा प्रोफेसर डा. डिल्लीराज शर्माले राम्रो सञ्चार ज्ञान, नेतृत्व लिने क्षमताजस्ता कुरामा जोड दिनुपर्ने बताए । त्रिविको शिक्षा गुणस्तरीय रहेको र समयसापेक्ष परिमार्जन पनि गरिने उनले प्रतिबद्धता व्यक्त गरे । 

त्रिविबाट शिक्षा लिएकामध्ये हालसम्म विभिन्न फिल्डमा १००/२०० भन्दा बढी म्यानेजर रहेको भन्दै उनले स्नातक तहबाट नै अहिले उद्योगसँग सम्बद्ध केस स्टडी पनि शुरू गरिएको बताए । ‘पाठ्यक्रममा कुनै द्विविधा छैन,’ शर्माले भने, ‘समस्या भनेको ठूलो संख्यामा पढाउनुपर्छ, यसले गर्दा सबै पाटोमा विशेष ध्यान दिन सकिएको छैन ।’ उक्त अवसरमा उनले उद्यमशीलताभन्दा पनि सामाजिक उद्यमशीलतामा लाग्नु अब जरुरी भइसकेको बताए । नेपालको शिक्षा गुणस्तर नभएर विदेश गएको भन्ने धारणा शतप्रतिशत सही नभएको भन्दै उनले यो मुभमेन्ट विश्वभर नै रहेको बताए । 

उक्त अवसरमा उनले सहकारी क्षेत्रमा नेपालमा राम्रा म्यानेजर उत्पादन भएको भन्दै एमबीए कोअपरेटिभको नयाँ पाठ्यक्रम पनि छिट्टै सञ्चालन गरिने बताए । यसैगरी व्यवस्थापन शिक्षाविद् तथा प्रोफेसर डा. महेन्द्रप्रसाद श्रेष्ठले नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (नाथम) जस्तै अन्य संस्था पनि आवश्यक भएको बताए । अहिलेको अवस्थामा नाथमले मात्रै म्यानेजर उत्पादन गर्दै आएको भन्दै उनले कामदारमात्रै उत्पादन गर्ने संस्थाले उल्लेख्य योगदान नदिने बताए । 

‘काठमाडौंका पाँचतारे होटेलमा कति म्यानेजर छन् ?’ प्रश्न गर्दै उनले भने, ‘नाथम जस्तो पूर्वाधार भएको संस्थाले कस्तो पहल गरेको छ भन्ने विषय सबैका लागि अध्ययनको विषय हो ।’ शिक्षा सुधार र परिणाममुखी बनाउन विद्यार्थीले आफै अध्ययन अनुसन्धान गर्न सक्ने वातावरण बनाउनुका साथै शिक्षकले पनि उत्तिकै अनुसन्धान तथा अध्ययन गर्नुपर्नेमा उनको जोड छ ।

केही महीनादेखि नेपालमा तरलताको अभाव रहेको उदाहरण दिँदै उनले यो समस्यालाई समाधान गर्न सक्ने सुझाव दिनेखालका म्यानेजर नेपालका बी–स्कूलहरूले उत्पादन गर्नुपर्नेमा जोड दिए । ‘अमेरिका गएका अधिकांश विद्यार्थी फर्किंदैनन्,’ उनले भने ‘उनीहरू किन नेपाल फर्किंदैनन् भन्ने प्रश्न प्रमुख हो, हामीसँग इन्टर्नशिप त छ तर उपलब्धि छैन । अहिलेको सोचाइ परिवर्तन गर्न जरुरी छ ।’ नेपालमा सफल भएका उद्योगहरूका विषयमा विश्वविद्यालयमा चर्चा गरिनुपर्नेमा पनि उनले जोड दिए ।

यस्तै सिल्भर माउन्टेन स्कूल अफ म्यानेजमेन्टकी सहसंस्थापक रचना थापाले अहिलेको शिक्षामा समयअनुसार परिवर्तन आएको बताइन् । ‘अहिलेका विद्यार्थीले प्रश्न सोध्छन्, शिक्षक र विद्यार्थीबीच छलफल पनि हुन्छ, अहिले प्रणालीगत रूपमा सुधार भएको छ,’ उनले भनिन्, ‘सानैदेखि विद्यार्थीलाई प्रश्न सोध्न सक्ने गरी विकास गरिनुपर्छ । ग्रेडमात्र होइन, अन्य पक्ष पनि हेरेर विद्यार्थीको मूल्यांकन गरिनुपर्छ ।’

पुरानो तरीकाको शिक्षामा ठूलो परिवर्तन भएको भन्दै प्रतिस्पर्धा भए पनि विद्यालयलाई एकआपसमा सिकाउन र सिक्नुपर्नेमा पनि उनले जोड दिइन् । अबका संकायहरू विकास गर्दा उद्योगका लागि पनि आधारित भएर गरिनुपर्नेमा उनले जोड दिइन् । सिकेका कुराहरू उद्योगमैत्री हुनुपर्ने भन्दै उनले अनुसन्धान र उद्योगहरूले पनि चासो दिएर र उपभोक्ताको मागअनुसारको पार्टनरशिप हुनुपर्ने बताइन् । पाठ्यक्रम बनाउँदा उद्योगहरूको पनि पार्टनरशिप हुनुपर्ने र म्यानेजर उत्पादन गर्न सघाउने गरी उत्पादकत्व बढाउन सकिने पनि उनको धारणा छ ।

यस्तै प्यानलका सहजकर्ता सविन जोशीले शिक्षामा विविधीकरण पनि जरुरी रहेको भन्दै हार्वर्ड, लन्डन स्कूल जस्तै नेपालका सफल कम्पनीहरूको केस अध्ययन किन नगर्ने भन्ने जस्ता विषयमा ध्यानाकर्षण गराए । विश्वविद्यालयको शिक्षामा उद्योगहरू शुरूदेखि नै सहभागी हुनुपर्ने र उद्योगसम्म पहुँच नहुनेसँग विस्तारै जोड्नुपर्ने पनि उनले बताए । कार्यक्रममा उपस्थित सहभागीले पाठ्यक्रम सुधार गरेर मात्रै नहुने भन्दै उनले राम्रो शिक्षक पनि उत्तिकै जरुरी रहेको बताए । विश्वविद्यालय र उद्योगबीचको पहुँच हुनुपर्नेमा जोड दिँदै उनले उनीहरूले नेपाल र नेपाली उद्योगसँगको पहुँच हुने गरी टाइअप नगर्दासम्म जनशक्ति र उद्योगको पहुँच पनि नहुने बताए ।

अवार्डका बारेमा जानकारी दिँदै निर्णायक मण्डलका अध्यक्ष किशोर थापाले नेपालको उच्च शिक्षामा व्यवस्थापनमा पढाइ हुन लागेको ६ दशक हुन लागेको बताए । उनका अनुसार न्यूज बिजनेश एजले गरेको अवार्डअन्तर्गत देशका २ हजार ३ सय शिक्षण संस्थाको विश्लेषणसँगै मूल्यांकन गर्नु आफैमा चुनौतीपूर्ण रहेको थियो । उनका अनुसार तीमध्ये सम्मानित हुने विद्यालयको छनोट गर्दा गुणस्तर प्रमाणपत्र, शैक्षिक पूर्वाधार, प्राज्ञिक क्रियाकलापको गुणस्तर, विद्यार्थीको अगुवाइमा हुने क्रियाकलाप, उद्यमशीलता प्रवर्द्धन कार्यक्रम, वास्तविक व्यावसायिक संस्थाहरूसगँको सम्बन्ध, रोजगारीमा जाने प्रक्रियाजस्ता विषयको मूल्यांकन गरिएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)