कार्यक्रम निकै प्रभावकारी छ
अमरदीप मण्डल
विज्ञापन तथा मार्केटिङ प्रमुख,
द ब्रिटिश कलेज, काठमाडौं
न्यू बिजनेश एजले यो अवार्ड दिएर हामीलाई राम्रो पहिचान दिएको छ । नेपालमा बिजनेश स्कुल र कलेजहरूको उन्नति र प्रगतिका लागि यस्ता खालका कार्यक्रमहरूले प्रेरणा दिन्छ अनि यस्ता कार्यक्रमहरू आयोजना भइरहनुपर्छ । यति भव्य कार्यक्रमको हिस्सा हुन पाउँदा र उपाधि पाउँदा म निकै सम्मानित महसूस गरिरहेको छु । यो कार्यक्रम निकै प्रभावकारी छ । विद्यालय तथा कलेजहरूलाई यस्तो खालको पहिचान आवश्यक छ । कार्यक्रमको सबैभन्दा राम्रो पक्ष मलाई तीन वक्ताहरूबीचको छलफल लाग्यो । नेपालका बिजनेश स्कुल, शिक्षा प्रणालीसम्बन्धी अनेकौं विषयमा चर्चा भयो । यो सुन्न जरुरी छ । यस अवार्डले पक्कै पनि हाम्रो कलेजका शिक्षक/कर्मचारीहरूलाई आगामी वर्षहरूमा झनै राम्रो काम गर्न प्रेरित गर्नेछ । हामीकहाँ फिनटेक प्रविधिमा बीएससी, साइबर सेक्युरिटी र डिजिटल फरेन्सिक एमएससी जस्ता नयाँ कोर्सहरू पनि छन् । यी कोर्सहरूमा विद्यार्थीहरूबाट हामीले राम्रो प्रतिक्रिया पाएका छौं । हामी विद्यार्थीहरूलाई नेपालमै अध्ययन गर्न प्रेरित गर्न अनि गृह देशमै गुणस्तरीय शिक्षा दिन चाहन्छौं ।
अवार्ड कार्यक्रम विशेष रह्यो
विष्णुराज अधिकारी
प्रबन्ध निर्देशक/प्रधानाध्यापक
काठमाडौं कलेज अफ म्यानेजमेन्ट
तपाईंले व्यावसायिक समुदायलाई जे दिनुभयो, त्यसको अर्थ अवार्डको भन्दा धेरै छ । मूल्यांकन सही तरीकाले गरियो र अवार्ड दिइयो । हामीहरूलाई यो अवसर दिएकोमा न्यू बिजनेश एजप्रति आभार व्यक्त गर्दछु । यस्ता अवार्डहरूले हामीलाई थप राम्रो गर्दै जाने उत्साह दिन्छ । साथै यसले हाम्रा विद्यार्थीहरूलाई समेत सुधारको मौका दिन्छ ।
आगामी दिनमा थप राम्रो गर्न प्रेरणा
नरबहादुर विष्ट
प्रधानाध्यापक/प्रबन्ध निर्देशक
युनिग्लोब कलेज
अवार्डले हाम्रो कलेजका प्रयासहरूलाई पुनरुत्थान गर्न सघाएको छ । यो उपलब्धिप्रति हामी निकै गौरवान्वित छौं र यसले आगामी दिनहरूमा थप राम्रो गर्न हामीहरूलाई प्रेरित पनि गरेको छ । युनिग्लोब कलेज यसको शैक्षिक, व्यावहारिक शिक्षा र अनुसन्धानका लागि परिचित छ । हामीहरूले कैंयौं गोल्ड मेडल पनि पाएका छौं । यी सबै गुणहरूले हामीलाई यो पहिचान हासिलमा मद्दत गरेको छ । यो सम्मानका लागि म न्यू बिजनेश एज र आर्थिक अभियानलाई धन्यवाद व्यक्त गर्दछु ।
हाम्रोमा विद्यार्थीको उच्च आकर्षण छ
प्रा.डा. केशवराज जोशी
क्याम्पस प्रमुख, शंकरदेव क्याम्पस
यस अवार्डले हामीहरूलाई भविष्यमा झनै राम्रो गर्न हौसला दिएको छ । सरकारी कलेज भएर पनि शंकरदेव बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा अत्यधिक संख्यामा विद्यार्थीहरूलाई अध्यापन गराउने नेपालको एक मात्र क्याम्पस हो । शंकरदेव क्याम्पस विद्यार्थीहरूको आकर्षणको केन्द्रको रूपमा रहँदै आएको छ । यहाँ कुनै सिट पनि खाली हुँदैन । तथ्य यही हो कि बीबीए अध्ययन गर्नका लागि शंकरदेव क्याम्पस विद्यार्थीहरूको पहिलो रोजाइ हो । करीब १ हजार ९०० सिट खाली छ, तर शिक्षाका लागि ३ हजार ५०० विद्यार्थीले भर्ना लिन्छन् । यस क्याम्पसमा एमबीएसमा पनि उत्तिकै आकर्षण छ । तर हामीसँग सीमित मात्रै ठाउँ भएकोले धेरै विद्यार्थीलाई लिन सक्दैनौं । हामीकहाँ पढाइ सस्तो छ ।
विद्यार्थीको इन्टर्नशिपतर्फ ध्यान दिएका छौं
राजेश उप्रेती
कार्यकारी निर्देशक, नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (नाथम)
नाथम ५० औं वार्षिकोत्सव मनाउने क्रममा छ । हस्पिटालिटी क्षेत्रमा करीब ६० हजारभन्दा बढी विद्यार्थीहरू उत्पादन भएका छन् । दु:खको कुरा के भने नेपालमा भएका पाँचतारे होटेलले इन्टर्न गर्दा प्रतिविद्यार्थी दैनिक ३०० रुपैयाँ पनि दिँदैनन् । यस्तो हुँदा बाध्य भएर विद्यार्थीहरू दुबई जस्ता देशहरूमा इन्टर्न गर्न जान्छन् । १ लाख ३० हजार रुपैयाँ तिरेर विद्यार्थीहरू दुबईमा जान्छन् । त्यहाँ मासिक ३० हजार रुपैयाँ र खाना तथा बसोवासको व्यवस्था पनि हुन्छ । इन्टर्न गर्ने विद्यार्थीलाई आउजाउ गर्न पनि होटेलहरूले रकम दिँदैनन् । यसले गर्दा बाध्य भएर होटेल म्यानेजमेन्ट पढेका विद्यार्थी विदेशमा इन्टर्न गर्न जानुपरेको छ ।
ठूलो लगानी गरेर विद्यार्थीले होटेल म्यानेजमेन्ट अध्ययन गरेको हुन्छ । तर, सोहीअनुसार नेपालका होटेलहरूले वास्ता गरेको देखिन्न । हामीले ११२ वर्ष पूरा गरेको फ्रान्सको होटेल म्यानेजमेन्ट संस्थासँग सहकार्य गर्दै छौं । यसबाट नेपालका शिक्षकहरू त्यहाँ गएर सिक्ने र त्यहाँका शिक्षकहरू पनि नेपाल आउनेछन् । विद्यार्थीहरू पनि यसमा सहभागी हुनेछन् । ३० देखि ४० प्रतिशत विद्यार्थीलाई इन्टर्न गर्न समझदारी भएको छ । उक्त संस्थाका होटेलहरू बहराइनलगायतका देशमा रहेको हुँदा नेपाली विद्यार्थीहरू ती देशका होटेलहरूमा गएर इन्टर्न गर्न पाउनेछन् ।
६० ओटै बीएचएम कलेजलाई हौसला मिलेको छ
समीर थापा
संस्थापक अध्यक्ष, सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्ट (एसएमएसएच)
न्यू बिजनेश एजले जुन किसिमको कामको शुरुआत गर्यो, जुन निकै सराहनीय छ । हाम्रो कलेज नेपालको निजीक्षेत्रको पहिलो होटेल म्यानेजमेन्ट कलेज हो । साथै अन्तरराष्ट्रिय होटेल म्यानेजमेन्ट (एचएम) कलेजको सम्बन्धन प्राप्त गर्ने पनि पहिलो कलेज हो भने विद्यार्थीलाई विदेशी डिग्री स्वदेशमै दिने कलेज पनि सिल्भर नै हो । न्यू बिजनेश एजले अहिले यो अभियान शुरू गरेको छ । यो सबै कलेजका लागि हौसलाको कुरा हो । यसमा जित र हारको कुरा छैन । आज हामी सम्मानित भएका छौं, भोलि नहुन पनि सक्छौं । अरू कलेजहरू पनि आउन सक्छन् । त्यसले यो एउटा प्रोत्साहन र पहिचानको कुरा हो । निजीक्षेत्रबाट एचएम शुरू भएको २०/२१ वर्ष भएको छ । त्यसबेला २ ओटा कलेज थियौं । अहिले आएर ६० ओटा बीएचएम कलेजहरू छन् । यस्तो खालको रेटिङ र्याङ्किङ एन्ड अवार्ड कार्यक्रमले उत्साहित बनाएको छ । यो उद्योगका लागि नै बुस्ट गरेको छ । मेरो अनुरोध के छ भने रेटिङ, र्याङ्किङको विधा तथा दायरालाई तथ्यांक र वेबसाइटमा मात्रै आधारित नभएर त्यस कलेजको अनुसन्धान कस्तो छ, अन्तरराष्ट्रिय सम्बन्ध, एक्स्पोजर र हस्पिटालिटी उद्योगले हाम्रा उत्पादन कसरी लिएको छ भन्ने विषयलाई अब समेट्नुपर्छ । हस्पिटालिटी उद्योग नभए हाम्रो उत्पादन नै कमजोर बन्न पुग्छ ।
जिम्मेवारी थपिएको महसूस भएको छ
देवेन्द्र आचार्य
हेड स्टुडेन्ट अफेयर डिपार्टमेन्ट, ग्लोबल
एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी
एजुकेशन (गेट कलेज)
अवार्ड पाउनु निकै उत्साहजनक विषय हो । यसले शैक्षिक कार्यक्षेत्रमा थप जिम्मेवार बन्नुपर्ने महसूस गराएको छ । साथै जिम्मेवारी पनि थपिएको छ । हामीले बीएचएमतर्फ गुणस्तरीय शिक्षा उपलब्ध गराउन र दक्ष जनशक्ति उत्पादन गर्न सक्रिय रूपमा लागेका छौं । अहिले पाएको अवार्डले थप गुणस्तरीय शिक्षा दिन प्रेरणा दिएको छ । नेपालको पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढ्दो क्रममा छ । अन्तरराष्ट्रिय चेन ब्राण्डहरू पनि नेपालमा आएका छन् । यस हिसाबले दक्ष जनशक्ति उत्पादन पनि उत्तिकै आवश्यक छ । यो क्षेत्रमा शीप सिकाइने हुँदा भविष्य पनि राम्रो छ ।
शीपमा आधारित अध्ययन भएकाले विद्यार्थीको आकर्षण पनि बढ्दो क्रममा नै छ । यद्यपि कतिपय अवस्थामा अहिले पनि होटेल म्यानेजमेन्टभन्दा अलि खल्लो मान्ने जमात पनि छ । त्यसका लागि विद्यार्थी, अभिभावकलाई सचेतना र यो क्षेत्रको अवसरका विषयमा जानकारी गराउनुपर्नेछ । नेपालमा इन्टर्नशिप दिने विषयलाई सबै होटेलहरूले प्राथमिकता दिनुपर्छ । अहिले पनि केही होटेलहरूले यातायात, खाजा, टेलिकम्युनिकेशन सुविधा दिएका छन् । सबै होटेलहरूले इन्टर्नशिपलाई पनि महत्त्व दिए विद्यार्थी बाहिर जाने अवस्था आउँदैन ।
कार्यक्रमले प्रभावकारी शिक्षण सिकाइमा टेवा पुग्नेछ
रामचन्द्र अधिकारी
सहायक प्राध्यापक, दमक बहुमुखी क्याम्पस
अवार्ड पाउँदा अवश्य पनि उत्साहित छौं । यो कार्यक्रम अवार्डका लागि मात्र होइन, बिजनेश स्कूलका विभिन्न विषयमा अनुभव आदानप्रदान गर्ने माध्यम समेत बनेको छ । यसले हामीलाई भोलिको दिनमा प्रभावकारी शिक्षण सिकाइमा मद्दत पुर्याउनेछ । शिक्षाक्षेत्रले उद्योगहरू र बी–स्कुलहरू जोड्न सकेन भन्ने छ । यसलाई जोड्न जरुरत छ । हामीले उत्पादन गरेका विद्यार्थीले त्यस्ता उद्योगहरूमा रोजगारी पाउने गरी आगामी दिनमा ठोस कदम चाल्नेछौं ।
गुणस्तरीय शिक्षाप्रतिको दायित्व झनै बढाएको छ
दीपक शाक्य
अध्यक्ष, वीरगञ्ज पब्लिक कलेज
वीरगञ्ज पब्लिक कलेजले यस वर्षको मधेश प्रदेशबाट बेष्ट बी–स्कूल अवार्ड पाएको छ । यसले हामीलाई खुशी तुल्याएको छ । हाम्रो दायित्व धेरै नै छ । अबका दिनमा थप जिम्मेवार भएर अघि बढ्न यस अवार्डले प्रेरित समेत गरेको छ । निर्णायक मण्डलबाट जुन मूल्यांकन भयो, शिक्षाक्षेत्रमा हामीले चालेका कदम सही थियो भन्ने पुष्टि भएको छ । आगामी दिनमा अझै मेहनत गरेर यो कलेजलाई माथि उठाउनेछौं ।
अवार्ड पाउँदा गौरवान्वित छौं
डा. ताराप्रसाद उपाध्याय
क्याम्पस प्रमुख, लुम्बिनी वाणिज्य क्याम्पस
न्यू बिजनेश एजले निकै शानदार कार्यक्रमको आयोजना गरेको छ । म निर्णायक मण्डलका सबै सदस्यहरू साथै सहभागीहरूलाई समेत धन्यवाद ज्ञापन गर्दछु । व्यावसायिक विद्यालय र कलेजहरूमाथि केन्द्रित भएर विशेष कार्यक्रमको आयोजना गरेर न्यू बिजनेश एजले सराहनीय काम गरेको छ । यस्तो अद्भूत कार्यक्रमको हिस्सा हुन पाउनु साँच्चै नै गर्वको कुरा हो । यस कार्यक्रमले नेपालभरका बिजनेश स्कुल र कलेजहरूलाई पक्कै पनि प्रेरित गरेको हुनुपर्छ । यो श्रेणीमा हामीले अवार्ड हात पारेको यो पहिलोपटक हो । यसबाट हामी निकै गौरवान्वित भएका छौं । हामीहरूले शिक्षा मन्त्रालयबाट ‘लुम्बिनीमा उत्कृष्ट सामुदायिक क्याम्पस’को उपाधि पाएका छौं । शैक्षिक क्षेत्रका अन्य कैयौं उपाधिहरू पनि हामीले पाएका छौं । न्यू बिजनेश एजबाट पाएको यो अवार्डले लुम्बिनी वाणिज्य क्याम्पसमा काम गर्ने हाम्रा सबै कर्मचारीहरूमा उपलब्धिको भावना सञ्चार भएको छ ।
मेहनतको सम्बोधन महसूस भएको छ
शम्भु क्षेत्री
प्राचार्य, प्रेजिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेस
राज्यबाट हुन नसकेको कामलाई न्यू बिजनेश एजले गरेको छ । त्यसका लागि पहिला त यो संस्थालाई धन्यवाद व्यक्त गर्दछु । न्यू बिजनेश एजले प्रेजिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्स कलेजलाई सम्मान गर्दा एकदमै गौरव महसूस भएको छ । कलेजलाई उत्कृष्ट बनाउन जुन दु:ख गरिन्छ, अवार्डले त्यसको सम्बोधन भएको ठानेका छौं ।
अवार्डले गुणस्तरीय शिक्षा प्रवाहमा ऊर्जा दिएको छ
धर्मराज उपाध्याय
क्याम्पस व्यवस्थापन समिति सदस्य, कैलाली बहुमुखी क्याम्पस
प्रदेशस्तरीय बेस्ट बी–स्कुल अवार्ड सुदूरपश्चिममा कैलाली बहुमुखी क्याम्पसले पाएको छ । यसबाट एकदमै खुशी लागेको छ । यसअघि पनि हाम्रो क्याम्पस उत्कृष्ट कलेज अन्तर्गत परेको थियो । अहिले पनि पर्दा थप उत्साह मिलेको छ । न्यू बिजनेश एजले गरेको सम्मानबाट हाम्रो शैक्षिक यात्रालाई अझै उत्कृष्ट बनाउन ऊर्जा समेत पाएका छौं ।
शैक्षिक यात्रालाई थप उचाइमा पुर्याउँछौं
विश्व आचार्य
अध्यक्ष तथा सीईओ
नोवेल एकेडेमी
न्यू बिजनेश एजले बिजनेश स्कुल र कलेजहरूलाई प्रोत्साहित गर्न ठूलो पहल गरेको छ । यस्तो महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा म न्यू बिजनेश एजका प्रमुख र सबै सदस्यहरूलाई धन्यवाद व्यक्त गर्दछु । ‘गण्डकी प्रदेशको उत्कृष्ट बी–स्कूल’को उपाधि थाप्न पाउँदा म अति नै खुशी छु । यो अवार्डले हामीलाई ठूलो आशा दिएको छ । साथै आफैमाथि विश्वास पनि बढाएको छ । हामी आफ्नै विद्यार्थीलाई राम्रोसँग तयार पार्नेछौं । कर्पोरेट क्षेत्र हाम्रा भावी एमबीए ग्य्राजुएटहरूका लागि विकसित हुन्छ भन्ने सकारात्मक आशा राखेका छौं । यहाँको शिक्षालाई उकास्न सबै क्याम्पस र विश्वविद्यालयले मिलेर काम गर्ने हो अनि शिक्षाको स्तरमा सुधार ल्याउने हो भने नेपालको शिक्षा प्रणाली सबैको लागि पक्कै पनि उदाहरण बन्नेछ । हामीलाई थप राम्रो शिक्षणका लागि प्रेरित गरेकोमा न्यू बिजनेश एजप्रति नोवेल एकेडेमी निकै कृतज्ञ छ । थप जिम्मेवारी बहन गरेर समयानुकूल स्तरीय शिक्षा प्रदान गरेर आगामी दिनमा दक्ष जनशक्ति तयार पार्ने हाम्रो यात्रालाई निरन्तरता दिनेमा हामी प्रतिबद्ध छौं ।
अवार्डस् कार्यक्रम निकै सफल रह्यो
केशरबहादुर रोकाया
अध्यक्ष, सहारा क्याम्पस
‘न्यूबिज बी–स्कूल रेटिङस् र्याङ्किङ एन्ड अवार्डस् कार्यक्रम निकै सफल रह्यो । यसको आयोजना निकै व्यवस्थित तरीकाले गरिएको थियो । यस अवार्डले हाम्रा शिक्षक, कर्मचारीहरू र समग्र क्याम्पसको निकै सराहना गरेको छ । सुधारतर्फको पाइला एक एक गरेर चाल्नुपर्छ । सफलता पनि त्यस्तै हो, जुन एकैपटक पाइन्न । ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’को उपाधि जितेको यो हामीले दोस्रोपटक हो । सहारा क्याम्पसको अध्यक्षमा नियुक्त भएपछि मैले प्राप्त गरेको चाहिँ यो पहिलो अवार्ड हो ।
आजको कार्यक्रममा सहारा क्याम्पसको प्रतिनिधित्व गर्न पाउँदा म निकै खुसी छुँ । नेपालको शिक्षा प्रणालीबारे आ–आफ्नो धारणा राख्नु भएकोमा म प्यानलका वक्ताहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । हाम्रो समूहले सधैं कठिन मेहनत गरिरहेको छ । भविष्यमा पनि यसलाई निरन्तरता दिनेछ । हाम्रो भिजन सहारा क्याम्पसको मूल्य बढाउने हो । यस्तो खालको कार्यक्रमहरूको आयोजना गरेर न्यू बिजनेश एजले निकै राम्रो काम गरेको छ । यो हाम्रा लागि निकै प्रेरणादायी छ । यो अवार्ड थाप्न पाउँदा म निकै खुशी छु । भविष्यमा पनि यस्ता खालका थप कार्यक्रमहरू आयोजना हुन्छ भन्ने मेरो आशा छ ।