ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक अभियान १७ औं वार्षिकोत्सव विशेष : आत्मनिर्भर अर्थतन्त्र, पूँजी बजारमा लगानी रणनीति 

२०७९ भदौ, १७  
लगानी अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

 शेयर बजारलाई राजनीतिदेखि नीतिगत कुराले प्रभाव पारेको हुन्छ । यस्तो अवस्थामा आफूले गरेको लगानी नाफा अथवा घाटा हुने गर्दछ । त्यसको जिम्मेवारी स्वयंले लिनुपर्छ । 

हिजो आज सबै क्षेत्रका मानिसहरूमा धितोपत्रमा लगानी गर्ने उत्साह बढेको देखिन्छ । कारोबार अवधिमा सरकारी कर्मचारीदेखि साधारण मानिसहरूमा समेत धितोपत्र कारोबारप्रतिको चासो उच्च रहेको देखिन्छ । उनीहरूको अतिरिक्त समय शेयर बजारको उतारचढाव नियाल्नमा बितेको हुन्छ । कोरोना महामारीको बेला लगाइएको लकडाउन अवधिमा शेयर बजार सर्वाधिक ३२ सय विन्दु पार गरेको थियो । पछिल्लो समय नेप्से परिसूचक २ हजारको हाराहारीमा छ । 

शेयर बजारमा पछिल्लो समय युवा, गृहिणी र विद्यार्थीको सहभागिता उल्लेख्य पाइन्छ  । शुरूका अवधिमा शेयर बजारमा पाको उमेर अर्थात् जागिरबाट रिटायर्ड भएकाहरूको मात्र चासो हुने गरेको अग्रज लगानीकर्ताहरू बताउँछन् । पछिल्लो समय प्रविधिले गर्दा धेरै सहज भएकाले सबै समूह तथा क्षेत्रका मानिसहरूको आकर्षण बढेको बुझाइ उनीहरूको छ । पढेलेखेका र जागिरे महिलामात्र नभएर सर्वसाधारण गृहिणीसमेत दोस्रो बजारमा आउन थालेका छन् । अनलाइनमार्फत घरबाटै शेयर बजारमा कारोबार गर्न सकिने सुविधाले पनि यस क्षेत्रमा आउने महिलाहरू बढेका हुन् । यस क्षेत्रमा विद्यार्थीहरूको संख्यासमेत बढ्दो देखिन्छ । प्राथमिक बजारमा लगानी गरेको शेयरबाट छोटो समयमा राम्रो प्रतिफल प्राप्त हुन थालेपछि शेयर बजारमा विद्यार्थीको आकर्षण बढेको हो । 

शेयर बजारबाट सफल बन्ने लगानी रणनीति 
पछिल्लो समय शेयर बजारबाट सजिलै पैसा कमाउन सकिन्छ भन्ने धेरैलाई लाग्न थालेको छ । तर शेयर बजारबाट पैसा कमाउन त्यति सजिलो छैन । शेयर बजार भनेको यस्तो ठाउँ हो जहाँ एक व्यक्तिले कमाएको हुन्छ भने अर्कोले गुमाएको हुन्छ । यस्तो अवस्थामा सफल लगानीकर्ता कसरी बन्ने त ? 

सबैभन्दा पहिले आफ्नो लगानीको जिम्मेवारी कसरी बहन गर्ने भन्ने यकिन गर्नुपर्दछ  । शेयर बजारलाई राजनीतिदेखि नीतिगत कुराले प्रभाव पारेको हुन्छ । यसको सकारात्मक तथा नकारात्मक प्रभाव पार्ने गर्दछ । यस्तो अवस्थामा आफूले गरेको लगानी नाफा अथवा घाटा हुने गर्दछ । त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिन सक्नु पर्छ  । 

शेयर बजारमा सफल लगानीकर्ता बन्नका लागि आफूले नै नियम बनाउने गर्नु पर्दछ । जस्तो कि मैले लगानी गरेको कम्पनीबाट वार्षिक कति प्रतिफल प्राप्त लिने, अल्पकालीन लगानी गर्ने कि दीर्घकालीन लगानी गर्ने भन्ने यकिन गर्नुपर्छ  । आफूले कस्तो खालको लगानी गर्ने भन्ने यकिन भएपछि बजार घटेमा वा बढेमा जोखिम, प्रतिफल र स्टपलसबारे स्पष्ट हुनु जरुरी छ । कसैको हल्ला, लहैलहैमा लागेर शेयरबजारमा लगानी गर्नुहँुदैन । आफूले बनाएको योजनालाई अनुशासित रूपमा कार्यान्वयन गरेमा घट्दा होस् या बढ्दा, बजारबाट कमाउन सकिन्छ । 

पछिल्लो दुई वर्षको अवधिमा नयाँ बीमा कम्पनी, जलविद्युत् कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)  र नेपाल पुनर्बीमा कम्पनीले आईपीओ निष्कासन गरे । शेयर बजारमा महिलाको सहभागिता बढाउन यी कम्पनीको आईपीओ पनि सहयोगी बन्यो । लगानीकर्तालाई निफ्रा र नेपाल पुनर्बीमा कम्पनीको शेयर ५० देखि ६० कित्तासम्म परेको थियो । प्रतिकित्ता रू. १ सयमा किनेको शेयर २ हजारमा पुग्दा मनग्य नाफा भयो । पोखराकी विनीता पौडेल भन्छिन्, ‘मैले पहिलो पटक निफ्राको आईपीओ भरें, त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको आईपीओ भरें दुवै कम्पनीको आईपीओ ५० /५० कित्ता परेको थियो । म गृहिणी हुँ । केही चिज चाहिएमा मैले मेरो श्रीमान्सँग पैसा माग्नु पथ्र्यो । जब शेयर बजार सम्बन्धी सामान्य कुरा बुझेर आईपीओमा लगानी गर्न थालें ससाना कामका लागि श्रीमान्सँग पैसा माग्नु परेको छैन ।’

चाहे अभिभावकले दिएको पैसा होस वा खर्च कटौती गरेर होस विद्यार्थीहरू समेत आईपीओ भर्न नछुटाउँने गरेको बताउँछन् । प्राथमिक बजारमा गरेको रू. १ हजारको लगानीबाट दोस्रो बजारमा रू. ५० हजार भन्दा बढी सम्म मूल्य पुगेको अवस्थाबाट पनि लगानीकर्ता धितोपत्र कारोबारमा आकर्षित हुदैं गएको पाईन्छ । यी अवस्थालाई हेर्दा पनि थोरै नी व्यवस्थापन गर्दै धितोपत्र बजारका लगानीकर्ताहरू आत्मनिर्भर बन्दै गएको देखिन्छ ।

धितोपत्र बजारबाट आत्मनिर्भर बन्दै आएका लगानीकर्ताहरू स्वविवेकले सही व्यवस्थापनमा लगानी गर्न सके धितोपत्र बजारबाट आत्मनिर्भर बन्न सकिने प्रतिक्रिया दिन्छन् । युवा लगानीकर्ता रोहन कार्की विगत ९ वर्षदेखि धितोपत्र बजारमै सक्रिय रहेका छन् । उनि शेयर बजारमा लगानी गर्नु समयका आधारमा पनि उपयुक्त भएको बताउँछन् । आफु पूर्ण रुपमा शेयर बजारमै सक्रिय रहेका कार्कीले अन्य पेशा ब्यवसायमा रहेकाहरुको लागि पनि यो क्षेत्र उपयुक्त रहेको बताउँछन् । शेयर बजारमा थोरै रकमबाट लगानी शुरू गर्न सकिने हुँदा सबै खालका मानिसको पहुँच पुग्ने उनको भनाइ छ । यो क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरूले साना लगानीबाट ठूलै आम्दानी गरेको तथ्याङ्क रहेको समेत उनले बताए । पहिला अध्ययन, अनुसन्धान र योजना बनाएर मात्र लगानी गर्नु तवमात्र शेयर बजारबाट सफल लगानीकर्ता बन्न सकिने तर्क उनको छ ।

शेयर बजारका लगानीकर्ता तथा बजार विश्लेषक नवराज दाहालले शेयर बजारमा सबैभन्दा पहिला लगानीकर्ताको मनोबल सकारात्मक हुनु जरुरी रहेको बताउँछन् । कसैको हल्लाका भरमा भन्दा पनि पहिला आफुले लगानी गर्ने कम्पनीको बारेमा अध्ययन गर्नुपर्ने सुझाब उनको छ । पछिल्लो समय बजार सुधारका लागि सकारात्मक कामहरू भैरहेपनि बजारले भने सकारात्मक गति लिन नसकेकोमा उनले चिन्ता व्यक्त गरेका छन् । यस्तो अवस्थामा लगानीकर्ताले बजारको ट्रेण्ड र आकर्षक लाभांश दिन सक्ने क्षमता भएका कम्पनीमा लगानी गर्न उचित हुने सुझाब समेत उनको छ । लगानीको रणनीति बनाउँदा सबै सेक्टरका कम्पनीहरुको शेयर खरीद गरी पोर्टफोलियो ब्यवस्थापन गरेमा लगानीको जोखिम कम हुने विश्वास पनि उनको छ । पूँजीबजारबाट व्यक्तिले मात्र आम्दानी गर्ने नभई पूँजी संकलनको लागि समेत निकै प्रभावकारी हुने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)