केही सय वर्ष पहिलेसम्म आफ्ना नागरिकलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु तथा सेवाहरू आफ्नै देशमा उत्पादन गर्न सक्षम राज्यलाई आत्मनिर्भर अर्थतन्त्र भनिन्थ्यो । कुनै जमाना थियो, मानिसका आवश्यकता अत्यन्तै सीमित थिए, जुन उनीहरूले स्वयं उत्पादन गरी परिपूर्ति गर्दथे । आजको दिनमा सम्पूर्ण वस्तु तथा सेवाहरूको स्वयं उत्पादन गर्न सम्भव छैन । त्यसैले आत्मनिर्भर अर्थतन्त्रको परिभाषामा पनि परिवर्तन भएको छ । स्वनिर्भर अर्थतन्त्र हुनका लागि राज्य आफ्ना आवश्यकतानुसारका सामान र सेवा खरीद गर्न सक्षम हुनुपर्दछ ।
यो विश्वभर पुष्टि भइसकेको विषय हो कि बीमा औद्योगिकीकरणको जग हो, व्यापार व्यवसायको आत्मा हो, जोखिम व्यवस्थापनको मूल आधार हो, नवप्रवर्तन र उद्यमशीलताको मेरुदण्ड हो । बीमाविना न अन्तरराष्ट्रिय न राष्ट्रिय व्यवसाय नै सम्भव हुन्छ ।
विज्ञान प्रविधिका कारण विश्वको एक कुनामा उत्पादित मालसामान र सेवा अर्को कुनामा पुर्याउन सम्भव भयो, क्रयशक्ति भएको मानिसले विश्वको सबै स्थानमा रहेका वस्तु उपभोग गर्न सम्भव भयो । यसै क्रममा आयात निर्यातको प्रारम्भ पनि भयो । तर, कालान्तरमा केही देशहरूको आयात निर्यातको तुलनामा अत्यधिक मात्रामा बढी हुन थाल्यो । अर्थतन्त्र जोगाउन वैदेशिक ऋण र सहायताको आवश्यकता पर्न थाल्यो, जसको कारण अर्थतन्त्र परनिर्भर र पराधीन हुन थाल्यो । हाल नेपालको अर्थव्यवस्था यस्तै चुनौतीले घेरिएको अवस्थामा छ भन्दा अत्युक्ति नहोला । वास्तवमा स्वनिर्भर अर्थतन्त्र वा आत्मनिर्भर अर्थतन्त्रका सूचकहरू वैदेशिक व्यापार सन्तुलन हुनु, भुक्तानी सन्तुलन हुनु, नागरिकका न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न पर्याप्त मात्रामा विदेशी मुद्राको व्यवस्था हुनु हो ।
स्वनिर्भर अर्थतन्त्र निर्माण गर्ने सन्दर्भमा नेपालको चुनौती भनेको आयात प्रतिस्थापन गर्नु र वैदेशिक व्यापार असन्तुलन घटाउनु नै हो । नेपालले निर्यात गर्न सक्ने सबै सम्भावनाहरूको खोजी गर्नु जरुरी छ । न हामी विशाल जहाज उत्पादन गर्न सक्दछौं, न हातहतियार उत्पादन गरेर निर्यात नै गर्न सक्दछौं । निर्यात गर्न सक्ने सम्भावनायुक्त क्षेत्रहरू भनेका हस्तकला, पर्यटन, जडीबुटी, तरकारी, फलफूल, खाद्यन्न र नगदेबाली हुन् । जलस्रोतको धनी देश भएकाले विद्युत् निर्यात गर्न सक्दछौं । तर विद्युत् कच्चापदार्थ भएको कारण यसलाई देशभित्रै अधिकतम खपत गरी ग्यास, पेट्रोल, डिजेलको आयात घटाउँदै लैजानु नै उपयुक्त हुन्छ । खनिजहरू प्रशस्त मात्रामा भएको अनुमान गरिएको सन्दर्र्भमा यसबाट देशको आर्थिक अवस्थालाई नै कायापलट पनि गर्न सकिने सम्भावना पनि उत्तिकै छ ।
भूमण्डलीकरणको कारण ठूलो परिमाणमा सामान उत्पादन भई सस्तो मूल्यमा प्राप्त हुने, भारत र नेपालबीचको खुला सिमानाको कारणले बेरोकतोक सामानहरू नेपाल भित्रिने हुँदा आत्मनिर्भर अर्थतन्त्र निर्माण त्यति सजिलो छैन ।
स्वनिर्भर वा परनिर्भर अर्थतन्त्र निर्माणको आधार भनेको राजनीति हो । देशको घरेलु नीति र वैदेशिक नीतिले पनि अर्थतन्त्रमा प्रभाव पारिरहेको हुन्छ । जबसम्म विदेशी सहायता र ऋणको भरमा देश चल्दछ, तबसम्म त्यो अर्थतन्त्र स्वतन्त्र र स्वनिर्भर हुन सक्दैन, परतन्त्री र परनिर्भर हुन पुग्छ । ५० वर्र्षअघि अति निर्धन अवस्थामा रहेका कतिपय मुलुक आज निकै धनी र आत्मनिर्भर भएका छन् भने विगतका स्वनिर्भर राज्यहरू आज कंगाल पनि भएका छन् । त्यसो हुनुमा मुख्य कारण बाह्य तथा गृहयुद्ध, प्राकृतिक प्रकोप, महामारी, गलत राजनीतिक नेतृत्व, कुशासन, खराब छिमेकी, स्रोत र साधनको चरम अभावमध्ये एक वा केही हुन सक्दछन् । कुशल नेतृत्वको हातमा पर्ने हो भने देश स्वनिर्भर हुन धेरै समय लाग्दैन ।
आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बीमाको योगदान
आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बीमाले विभिन्न तरीकाबाट योगदान गरिरहेको हुन्छ– १. वित्तीय रूपमा हुने क्षतिको व्यवस्थापन गरेर २. बीमा व्यवसायबाट विदेशी मुद्रा आर्जन गरेर ३. बीमाका सहायक उद्योगहरूको विकास गरेर र ४. बीमा उद्योगको व्यापक विकास गरी समग्र वित्तीय क्षेत्रलाई बलियो बनाएर ।
यो विश्वभर पुष्टि भइसकेको विषय हो कि बीमा औद्योगिकीकरणको जग हो, व्यापार व्यवसायको आत्मा हो, जोखिम व्यवस्थापनको मूल आधार हो, नवप्रवर्तन र उद्यमशीलताको मेरुदण्ड हो । बीमाविना न अन्तरराष्ट्रिय न राष्ट्रिय व्यवसाय नै सम्भव हुन्छ । यसबाट बीमाको आवश्यकता र महत्त्व सर्वोपरि रहेको पुष्टि हुन्छ । तर जुन बीमाको जगमा व्यवसाय उभिएको छ, त्यही बीमाको अवस्था कस्तो छ, यो कति स्वनिर्भर छ, कति परनिर्भर छ भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण छ । स्वाधीन अर्थतन्त्र निर्माणमा बीमाको योगदान कस्तो हुनुपर्दछ, नेपालमा यसको भूमिका कस्तो छ भन्ने विषयलाई हामीले गहिरिएर अध्ययन गर्नु जरुरी छ ।
अर्थतन्त्रका असंख्य पुर्जाहरूमध्ये बीमा एक महत्त्वपूर्ण पूर्जा हो । जोखिम व्यवस्थापनको ग्यारेन्टी बीमाले गर्ने हुँदा बीमाले अर्थतन्त्रलाई चलायमान बनाउँछ । वैदेशिक र स्वदेशी व्यापार, उद्योग र व्यवसायको आधारशिला नै बीमा हो । तर, बीमाको माग र आपूर्ति दुवै सुस्त हुँदा नेपालमा पर्याप्त मात्रामा जोखिम व्यवस्थापन हुन सकेको छैन ।
निर्जीवन बीमाको माग अर्थतन्त्रको आयतनभन्दा निकै कम रहको छ । पर्याप्त मात्रामा बीमा नहुनुमा धेरै कारण छन् । बीमासम्बन्धी ज्ञानको कमी एउटा कारण हुन सक्छ । तर बीमाको पर्याप्त ज्ञान भएकाहरूबाट पनि कम रकमको बीमा गर्ने अभ्यास देखिन्छ । यसो हुनुमा नियमनकारी निकायहरूको नियमन कसिलो नभएर पनि हो । बीमा कम्पनीहरूले जे जति व्यवसाय आउँछ, लिइहालौं, पछि समस्या परेछ भने हेरौंला भन्ने प्रवृत्ति पनि अर्को कारण हुुन सक्छ । बीमाको प्रिमियम तिर्ने बेलामा थोरै तिर्दा खुशी हुने, तर क्षतिपूर्ति कम पाउँदा दु:खी हुने प्रवृत्तिले बीमालाई गलत ढंगबाट व्याख्या गरेको पाइन्छ । पर्याप्त मात्रामा जोखिम व्यवस्थापन नहुँदा निजी र सार्वजनिक सम्पत्तिको नोक्सान भइरहेको छ । नेपालको बीमा उद्योगले लाखौं व्यक्तिलाई स्वरोजगारीको व्यवस्था गरेको छ ।
गत आवमा मात्रै बीमा कम्पनीहरूले रू. १७ अर्बभन्दा बढी कमिशन अभिकर्तालाई भुक्तानी गरेका थिए । बीमा क्षेत्रमा दशौं हजार मानिसले रोजगारीका अवसर पाएका छन् भने ५०० भन्दा बढी सर्भेयर तथा उनीहरूको सहायकमा थप सयौं मानिस स्वरोजगार हुने अवसर प्राप्त गरेका छन् । बीमा कम्पनीहरू कर्पोरेट कर र सेवाशुल्कको नाममा अर्बौं रुपैयाँ राज्यकोषमा योगदान गर्न सफल भएका छन् । बीमाक्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान गरेको छ भन्ने तथ्य झन्डै ४ प्रतिशतको हाराहारीमा पुगेको पेनिट्रेशन रेशियोले समेत पुष्टि गर्दछ ।
बीमा उद्योगमा बीमितले आफ्नो जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्दछ भने बीमा कम्पनीले पनि आफ्नो जोखिमको केही वा अधिक अंश पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्दछन् । नेपालका अधिकांश बीमा कम्पनीहरूले केही जोखिम स्वदेशी पुनर्बीमा कम्पनीलाई र केही अंश विदेशी पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्दै आइरहेका छन् । शतप्रतिशत जोखिम नेपाली पुनर्बीमालाई नै हस्तान्तरण गर्नुपर्ने कानूनी बाध्यता नभएको हुँदा स्वदेशी बीमा कम्पनीको जोखिमको केही अंश विदेशी पुनर्बीमा कम्पनीमा हुँदै आएको छ । त्यसैगरी विदेशी बीमा कम्पनीहरूले आफ्नो जोखिमको सानो अंश नेपाली पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्दै आएका छन् । जसरी विभिन्न देशको समग्र अर्थतन्त्र एक अर्कामा अन्तरनिर्भर हुन्छ, त्यसरी नै बीमा बजार पनि एक देशको जोखिम अर्को देशमा हस्तान्तरण गरेर अन्तरनिर्भर छ ।
नेपालको सन्दर्भमा विदेशी बीमा वा पुनर्बीमा कम्पनीहरूबाट नेपाल भित्र आउने बीमा शुल्कभन्दा नेपाली बीमा वा पुनर्बीमा कम्पनीहरूबाट बाहिर जाने बीमा शुल्कको रकम धेरै छ । एक दुई वर्षको हिसाब किताबबाट हेर्दा यस्तो अवस्था देखिन्छ । तर दशौं वा बीसौं वर्षको इनवार्ड र आउटवार्ड प्रिमियम र क्षतिको भुक्तानी रकमबाट मात्रै भन्न सकिन्छ कि नेपालको बीमा बजारले बाहिरबाट कति कमायो वा कति गुमायो ।
स्वनिर्भर अर्थतन्त्र निर्माण गर्ने सन्दर्भमा नेपालको चुनौती भनेको आयात प्रतिस्थापन गर्नु र वैदेशिक व्यापार असन्तुलन घटाउनु नै हो ।
हामी बीमा बजारको प्रवर्द्धन र विकासका कुरा गर्दछौं । तर सानोभन्दा सानो काम गर्नुपर्दा विदेशीको मुख ताक्नुपर्ने बाध्यता छ । आज, ७५ वर्षको बीमा उद्योगमा धेरै कुराको अभाव खट्किएको छ । यस सन्दर्भमा भन्नुपर्दा हामी आत्मनिर्भर छैनौं । उदाहरणका लागि बीमा कम्पनीहरूकोे बीमा कोष र जोखिमको मूल्यांकन गर्ने, बीमा कम्पनीको समग्र जोखिम व्यवस्थापनको बारेमा अडिट गर्ने दक्ष जनशक्ति अर्थात् एक्चुरीको उत्पादन नेपालले गर्न सकेको छैन । आजसम्म पनि विदेशी एक्चुरीबाटै सहयोग लिइरहेका छौं भने एक्चुरी उत्पादन गर्नेतर्फ राज्य स्तरबाट कुनै पहल भएको पाइँदैन । न विश्वविद्यालयहरू नै यसतर्फ जागरुक छन् । अझै कति दशकसम्म विदेशीको नै मुख ताक्नुपर्ने हो, यसको जवाफ कसैसँग पनि छैन । त्यतिमात्र होइन, एक दक्ष अण्डरराइटर, पुनर्बीमा विश्लेषक, दाबी फर्छ्योट विज्ञ, बजार विज्ञ, बीमा कम्पनीको रणनीतिकार, जोखिम व्यवस्थापन विज्ञ जस्ता अनगिन्ती व्यावसायिक पदका लागि योग्य जनशक्ति उत्पादन गर्ने बीमा कलेज नेपालमा स्थापना हुन सकेको छैन ।
निचोड
नेपालको अर्थ व्यवस्थालाई स्वाधीन अर्थतन्त्रमा रूपान्तरण गर्न निकै चुनौतीपूर्ण छ । अर्थतन्त्रको परनिर्भरताको जड राजनीतिक व्यवस्था नै हो । जबसम्म हामी राजनीतिक रूपमा स्वाधीन र आत्मनिर्भर अर्थव्यवस्थाका लागि पहल गर्दैनौं, तबसम्म आर्थिक अवस्थामा परिवर्तन आउँदैन । कृषिमा अडेको दुई तिहाइ जनसंख्यालाई घटाएर दश प्रतिशतमा झार्न र बाँकी युवालाई औद्योगिकीकरणमा लैजान आवश्यक छ । साना, मझौला र ठुला सबै खालका उद्योगहरूको स्थापना हुनु जरुरी छ । कृषि, उद्योग र सेवा क्षेत्र सबैलाई सन्तुलन मिलाएर जानु आवश्यक छ ।
नेपाल जस्तो देशलाई चाहिने आवश्यक वस्तु तथा सेवाहरू के के हुन्, तिनको आपूर्तिका लागि हामीले कस्तो विकल्प दिने हो, के उत्पादन गर्न सक्दछौं भन्ने पहिचान गर्नु आवश्यक छ भने तुलनात्मक लाभका क्षेत्रहरू के के हुन् र प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरू के के हुन्, सोको निक्र्योल हुनु पर्दछ । बीमा स्वाभाविक रूपमा अन्तरराष्ट्रिय चरित्रको व्यवसाय भएको हुनाले अन्य व्यवसायभन्दा यस विषयमा कम स्वनिर्भरता हुन्छ । किनकि जोखिम व्यवस्थापन कुनै एक देशको सरोकारको विषय नभई भौगोलिक रूपमा अस्तित्वमा आएका धेरै देशको सहभागितामा मात्र सम्भव हुन्छ । तथापि, बीमाको अन्तरराष्ट्रिय मागलाई बढाएर स्वदेशी बीमाको धारण क्षमतालाई बढाउँदै लैजानु नै बीमामा स्वाधीन हुने मुख्य उपाय हो ।
(डा. घिमिरे नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष हुन् ।)